+
+

इन्टरनेट, केबल टिभी र दूरसञ्चारका तार व्यवस्थापन नगरे प्राधिकरण आफैंले हटाइदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १४:३२
फाइल तस्वीर

२३ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । यसको पालना नभए प्राधिकरण आफैंले तार हटाइदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले यसअघि १५ कात्तिक र १८ पुस २०७९ मा यस्तै अनुरोध गरेको थियो ।

सो निर्देशनको पालना नभएको भन्दै प्राधिकरणले मंगलबार यस्तो चेतावनी दिएको हो । पछिल्लो समय अव्यवस्थित तार हटाउन स्थानीय तह समेत अग्रसर भएका छन् । यस्ता तार हटाएर शहरी सुन्दरता कायम राख्न, आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गर्दै भरपर्दो विद्युत सेवा उपलब्ध गराउन समेत प्राधिकरणले सरोकारवालालाई अनुरोध गरेको छ ।

प्राधिकरणले अप्टिकल फाइबर केवल र विद्युत लाइन तथा भू–सतहको न्यूनतम भर्टिकल क्लियरनेस कायम गर्नेबारे मापदण्ड समेत तोकेको छ । जसमा ४०० भोल्ट लाइन (नाङ्गो तार)मा ८० सेमी, ४०० भोल्ट लाइन (इन्सुलेटेड तार)मा ३० सेमी, ११ केभी–३३ केभीमा २ मिटर र अन्य ४०० भोल्टका उपकरणमा ७५ सेमीको दूरी राख्ने गरी तोकिएको छ । अप्टिकर फाइबर र जमिन सतहबीचको न्यूनतम दूरी भने प्रदल मार्गमा २.४ मिटर र सडक मार्गमा ५.५ मिटर कायम गर्नु पर्ने भएको छ ।

राउटर, रिपेटर, अप्टिकल फाइबर डिष्ट्रिब्युसन बक्स र जोइन्ट क्लोजरजस्ता उपकरणहरु पोलको एउटै मात्र साइडमा मिलाएर नझर्ने, नहल्लिने गरी राख्न र सफासँग क्लिप, ब्याण्ड प्रयोग गरी वायरिङ गर्न समेत प्राकिधकरणले सचेत गराएको छ । प्रयोगमा नरहेका सबै तार र उपकरण तत्काल हटाउनु पर्ने भएको छ । प्राधिकरणको पोलमा क्वाइल/लूप बनाएर राखिएका केवल तारहरु तत्काल हटाउन र नयाँ केवल तान्दा अतिरिक्त लम्बाइको केबललाई क्वाइल/लुप बनाएर झुण्डाउने काम नगर्न समेत प्राधिकरणले भनेको छ ।

सेवा प्रदायकले निजको केवल सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्ने भएको छ । पोलमा जडित उपकरणमा समेत मार्किङ गर्न प्राधिकरणले सचेत गराएको छ । सम्भव भएसम्म धेरै कोरा भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?