+
+

पीस लिली : वायु शुद्ध गर्ने इन्डोर प्लान्ट

विकेश कर्माचार्य विकेश कर्माचार्य
२०७९ फागुन २३ गते १७:४१

शान्ति लिली अर्थात् स्पाथिफिलम घरभित्र रोप्न मिल्ने फूल हो । त्यसो त घरबाहिर पनि यो राम्ररी सप्रिन्छ । भनिन्छ, शान्ति लिली फूलले वायु शुद्धीकरण पनि गर्छ ।

हेर्दा आकर्षक, छरितो र सधैं हरियो रहने भएकाले पनि यो फूललाई घरभित्र सजाउन उपयुक्त मानिन्छ ।

कहिले रोप्ने ?

जाडो महिनाबाहेक अरु जुनसुकै बेलामा रोप्न सकिन्छ यो फूल । तर एकदम उपयुक्त समय भनेको वसन्त ऋतु नै हो । यो बिरुवाको वृद्धि छिटो हुने भएकाले त्यसलाई लगभग एक वर्षपछि अर्को गमलामा सार्नुपर्ने हुन्छ । सम्भव भएसम्म गमला ठूलो हुनुपर्छ । किनभने यो झाँगिएर जान्छ । जाडोयाममा भने यो फूल सार्नु उपयुक्त हुँदैन ।

कस्तो माटोमा चाहिन्छ ?

यसको लागि कोकोपिट, माटो र कम्पोस्ट मल मिसाएर त्यसमा रोप्नुपर्छ । सामान्य माटोमा रोप्दा यो बिरुवा सप्रिन सक्दैन ।

यो इन्डोर बिरुवा हो, जसलाई घाममा राख्नुपर्दैन । घाममा राखेको खण्डमा पातहरु डढेर जाने गर्छ । यसको लागि लाइट मात्र भए पुग्छ । उज्यालो कोठामा राख्दा राम्रो हुन्छ ।

कसरी स्याहार्ने ?

यसलाई पानी धेरै दिनु पर्दैन । गर्मी मौसममा ३-४ दिनमा एकपटक पानी दिए पुग्छ भने जाडो महिनामा १०-१२ दिनमा एकपटक सिंचाई गरे हुन्छ ।

बोटलाई हरियो बनाइराख्न नाइट्रोजन, पोटासियम र फस्फोरस (एनपीके)को मिश्रण जरामा छर्कनुपर्छ । हप्तामा वा १५ दिनको एकचोटि एनपीके हालिदिनुपर्छ । साथै यसमा भएका सुकेका पातहरु निकालिनुपर्छ ।

कुन बेला फुल्छ फूल ?

यसको यति नै समयमा फूल फुल्छ भन्ने समयावधि हुँदैन । यसको स्याहार गर्ने विधिमा भरपर्छ । समान्यतया वर्षमा दुईदेखि तीन पटक फुल्ने गर्छ यो फूल । यो फूल एउटा पात जस्तो सेतो प्रकारको फूल हो ।

यसका ठूल्ठूला पातहरू हुन्छन् । पात १२ देखि ६५ सेन्टिमिटर लामो र ३-२५ सेन्टिमिटर चौडा भएका हुन्छन् । फूलहरू १० देखि ३० सेन्टिमिटर लामो, सेतो, पहेंलो वा हरियो रंगले घेरिएको हुन्छ ।

यसमा विषादी हुन्छ ?

यसमा अरु बिरुवाको तुलनामा विषादी बढी हुन्छ । त्यही भएर यसलाई छोएपछि हात धोएर मात्र खानुपर्छ भन्ने गरिन्छ । नभए एलर्जी वा अरु कुनै असर गर्न सक्छ । साथै यसलाई घरपालुवा जनावरबाट पनि टाढा राख्दा राम्रो हुन्छ ।

मूल्य कति ?

यो फूलको बजार मूल्य नर्सरी अनुसार फरक पर्छ । सामान्यत २०० रुपैयाँबाट यसको मूल्य सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?