+
+

घोराही–तुलसीपुर चार लेन सडक : ठेकेदार फेरिइरहे, सडक उस्तै

चार वर्षमा १० प्रतिशत काम, ठेक्का तोड्ने प्रक्रिया सुरु

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ फागुन २४ गते १२:३२

२४ फागुन, दाङ । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तार चार वर्षदेखि अलपत्र छ । यो चार वर्षमा पटक–पटक ठेकेदार फेरिए पनि सडक निर्माणको प्रगति भने १० प्रतिशत मात्र छ ।

पटक–पटकको म्याद थप र ताकेताबाट पनि काममा प्रगति नभएपछि चार लेन सडक आयोजना कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

घोराहीको बबई खोलादेखि तुलसीपुरको हात्तीखौवासम्मको २८ किलोमिटर सडक निर्माण अलपत्र अवस्थामा छोडिएपछि धरापमा परिणत भएको छ । सडकका दुवै भाग खनेर छोड्दा सडक साँघुरो बनेको छ । सडकमा मुश्किलले दुईवटा गाडी पास हुन्छ । सडकको बीच–बीचमा ठूला–ठूला खाल्डा बनेका छन् । यो सडक खण्डमा हालसम्म ५९ वटा सवारी दुर्घटना हुँदा २५ जनाको ज्यान गइसकेको छ भने ७८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

आठ ठेकेदार फेरिए, चार पटक म्याद थप

घोराही–तुलसीपुर सडकलाई चार लेनमा विस्तार गर्ने काम ३० महिनाभित्र काम सक्ने गरी २०७५ माघदेखि सुरु भएको थियो । अहिलेसम्म आठ जना पेटी ठेकेदार फेरिइसकेका छन् । चौथो पटक म्याद थप भइसकेको छ । सडकको दुर्गतीबाट स्थानीयले सास्ती पाएका छन् । सडकमा उड्ने धुलोले सडक किनारका बासिन्दा र यात्रुहरु हैरान छन् ।

वर्षाैंसम्म सडक नबनेर अलपत्र छोडिएपछि नागरिक स्तरबाट चर्काे आवाज समेत उठिरहेको छ । दबाव स्वरुप हरेक दिनजसो नागरिकहरु सडकमा आएर चक्काजाम गर्ने गरेका छन् । सचेत नगारिक दाङका संयोजक विशाल अधिकारीले सडक निर्माण पुरा नहुँदा धरापमा परिणत भएको बताए । ‘सडक खनेर विचैमा छोडेको वर्षाै भयो । सडक नबन्दा नागरिकले दुःख पाइरहेका छन्’ संयोजक अधिकारी भन्छन्, ‘यो धरापमा परेर कहिलेसम्म नागरिकले ज्यान गुमाइरहने ?’

चार लेन सडक नबनेकै विषयलाई लिएर यहाँबाट निर्वाचित सांसद नेता र जनप्रतिनिधिले समेत आलोचना खेप्नु परिरहेको छ । यही दबावका बीच दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित एवम् सरकारकी प्रवक्ता रेखा शर्माले ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने पहल थालेकी थिइन् ।

घोराही–तुलसीपुर चार लेन सडक निर्माण भारत सरकारको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको सहयोगमा सुरु भएको परियोजना हो । १ करोड २१ लाख ८२ हजार अमेरिकी डलर लागतको सडक निर्माणको जिम्मा भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो ।

यो चार लेन सडकको ठेक्काको कथा रोचक छ । मुख्य निर्माण कम्पनी तथ्यले आफैंले काम नगरी सुरुमा सडकको जिम्मा नेपाली ठेकेदार सुवास श्रेष्ठ र त्यसपछि अनुप पाण्डेलाई जिम्मा दिएको थियो । तर दुई वर्षमा सात प्रतिशत पनि काम गर्न सकेन ।

त्यसपछि काम सक्नुपर्ने बेला तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले आफैंले निर्माण गर्ने भन्दै ०७८ साल मंसिर १० गते सडक निर्माणको जिम्मा लियो । त्यो बेला कम्पनीका प्रमुख प्रविन ब्रह्मदेव पाण्डेयले सडक निर्माणको काम स्वंयले गर्ने प्रतिबद्धता गरे ।

त्यसपछि पनि तथ्यले आफैं काम नगरी सडकको जिम्मा नेपाली कम्पनीलाई नै दिइरह्यो । हालसम्म सडक निर्माणको जिम्मा सुवास श्रेष्ठ, अनुप पाण्डे, जनक डाँगी, फेरि अनुप पाण्डे, एकेन्द्र खड्का, विजय पाठक र श्रेष्ठ कन्स्ट्रक्सनका रोशन श्रेष्ठले पाए । श्रेष्ठ कन्स्ट्रक्सनले पनि काम अघि बढाउन नसकेपछि अहिले सुशीलजंग रायमाझीले सडक निर्माणको जिम्मा लिए । यसबीच आठ नेपाली निर्माण कम्पनी फेरिए । चार वर्षको अवधिमा चार पटक म्याद थपिंदासमेत काम अघि बढेको छैन ।

०७५ माघ १५ मा भएको ठेक्का सम्झौता अनुसार ०७८ असार साउन २७ गतेसम्म सडक निर्माण भइसक्नुपर्ने थियो । त्यसपछि २०७८ पुस १९ गतेसम्म म्याद थप भयो । २०७९ वैशाख २९ सम्म फेरि म्याद थपियो । अहिले फेरि ०८० असार ३१ गतेसम्म म्याद थप गरिएको छ ।

ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

यसरी पटक–पटक म्याद थप र ठेकेदार फेरिँदा पनि सडक निर्माणले गति लिन सकेको छैन । फोरलेन सडक आयोजना कार्यालयका इन्जिनियर ईश्वरीप्रसाद अमगाईंले चार वर्षमा सडक निर्माणको १० प्रतशितमात्रै काम भएको बताए । पटक–पटक म्याद थपे पनि काम अघि बढ्न नसकेको स्वीकार गर्दै उनले भने, ‘जो आए पनि काम गर्दैनन्, केही दिन काम गरेजस्तो गर्छन् । सडक बीचैमा खनेर छोडेर हिँड्छन् ।’

उनले मुख्य निर्माण कम्पनी तथ्यलाई काम सुरु गर्न भन्दै ताकेता गरिरहेको बताए । ‘काम छिटो काम नगरे कालो सूचिमा राख्छौँ भनेर पटक–पटक पत्राचार गरिरहेका छौं,’ उनले भने, ‘तर ठेकेदारले वास्ता गरेको छैन ।’

भारतीय निर्माण कम्पनीले काम गर्ने संकेत नदेखेपछि ठेक्का तोड्ने निष्कर्षमा पुगेको सडक आयोजनाका प्रमुख आशिष थापा बताउँछन् । ‘सडक बनाउन भनेर पटक–पटक ताकेता गर्दा पनि भौतिक प्रगति देखिएन,’ उनले भने, ‘सडक अलपत्र छोडेको पाँच महिना भइसक्यो । यसरी सडक बन्ने सम्भावना नदेखेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छौं ।’

उनले सुरुमा सडक आयोजनाले निर्माण कम्पनीले समयमा काम नगरेको र अहिले सडक निर्माणको काम रोकिएको भन्दै १४ दिनभित्र ठेक्का सम्झौता रद्ध नगर्नुपर्ने कारण सहितको सूचना प्रकाशित गरेको छ । अब पनि काम नगरे एकदेखि दुई महिनाभित्रै ठेक्का तोडेर नयाँ विकल्प खोज्ने सडक आयोजना प्रमुख थापाले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?