+
+

राष्ट्रपतिमा भोट हाल्दै आएको राप्रपा यसपटक किन तटस्थ ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन २४ गते १९:२२

२४ फागुन, काठमाडौं । सात वर्षअघि विद्या भण्डारीलाई राप्रपाले राष्ट्रपतिमा भोट हाल्दै गर्दा त्यसका अध्यक्ष कमल थापा थिए । नयाँ संविधान जारी भएसँगै राप्रपाले २०७२ सालको राष्ट्रपति चुनावमा भोटमात्रै हालेन, उम्मेदवारी मनोनयन क्रममा उनै थापा समर्थक बस्न पुगेका थिए ।

२०७४ सालको चुनावपछि पुनः विद्या भण्डारी नै राष्ट्रपतिको उम्मेदवार बन्दा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, प्रदेशसभा सदस्यहरु रिता माझी, इन्दिरा राई र शोसिला शाहीले भण्डारीलाई नै मत दिएका थिए । यतिबेला थापा राप्रपामा छैनन्, लिङ्देन अध्यक्ष छन् । उनी नेतृत्वको पार्टीले भोलि बिहीबारको राष्ट्रपति चुनावमा भोट हाल्ने छैन ।

अध्यक्ष लिङ्देनले यसअघिका दुई राष्ट्रपतिको कार्यकाल दल निरपेक्ष हुन नसकेको तर्क दिएका छन् । ‘अहिलेका उम्मेदवारबाट पनि त्यही कुराको निरन्तता प्राप्त गर्ने र फेरि पनि यो संस्था निष्पक्ष बन्न नसक्ने सम्भावना छ’, उनले कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग भने, ‘त्यसैले हामी तटस्थ बस्ने निर्णयमा पुग्यौं ।’

चरम विरोधाभास र अनिर्णयका कारण राप्रपा पछि हटेको ठानिए पनि पार्टी नेतृत्वले यसलाई ‘कोर्स करेक्सन’ भनी अथ्र्याउन चाहेको छ ।

‘हामी त राजा मान्ने पार्टी, नैतिक रुपमै राष्ट्रपति चुनावमा भोट हाल्न मिलेन’, बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसैले कुनै पनि प्रदेशसभा सांसदलाई काठमाडौं बोलाएका थिएनौं ।’

उनले यत्ति कारणको भरमा सहजै स्पष्टीकरण दिए पनि आज बैठक त्यति सहज ढंगले चलेन । नत्र त राप्रपाले यत्ति निर्णय लिनका लागि साढे चार घण्टा लामो बैठक गर्नै पर्दैनथ्यो ।

उसो त अध्यक्ष लिङ्देनले राष्ट्रपति पदको उम्मेदवारी हालेका रामचन्द्र पौडेल र सुवास नेम्बाङ दुवै सक्रिय राजनीतिमा रहेकाले निष्पक्ष राज्य सञ्चालनको परिकल्पना गर्न नसकेको प्रष्टीकरण दिए ।

पार्टीका केही नेताहरुका अनुसार राष्ट्रपति चुनावमा भोट हाल्न हुँदैन भन्ने पक्षमा पहिलेदेखि नै रहेका रवीन्द्र मिश्र, ज्ञानेन्द्रबहादुर शाहीलगायत नेताहरु हाबी हुँदै गएका कारण लिङ्देन रक्षात्मक बन्न पुगेको चर्चाहरु पनि भए ।

प्रवक्ता श्रेष्ठ चाहिँ त्यो स्वीकार गर्दैनन् । ‘पार्टी अध्यक्षले सम्भावित विकल्पहरु बुँदाबुँदामै सुनाएर कुन विकल्पमा जाने भनेर खुल्ला प्रस्ताव राख्नुभएको थियो, जसमा सबैको धारणा खुलेर आयो’, उनले भने, ‘त्यसपछि निर्णय भएको हो, यसभन्दा कुनै तलमाथि छैन । आजको निर्णय सर्वसम्मत ।’

बैठकमा नेताहरुले भोट हाल्दाभन्दा नहाल्दा फाइदा हुने तर्क दिएका थिए । ती नेताहरुका अनुसार कांग्रेसका उम्मेदवार पौडेल पहिल्यै सुविधाजनक मतभारमा रहेकाले राप्रपाको भोटले उनलाई खासै फाइदा हुँदैन । अनि एमाले उम्मेदवार नेम्वाङलाई जति मतभार खन्याए पनि जित्नका लागि पुग्दै पुग्दैन ।

‘यस्तो बेलामा किन बेकारमा बिच्क्याउने ? अलि बुझेर रणनीतिक चाल चाल्नुपर्ने हुन्छ । पछि सरकारमा जानुपर्ने स्थितिहरु पनि आउला’, एक नेताले भने ।

तटस्थ बस्ने राप्रपा निर्णयले उसलाई भविष्यमा राजनीतिक रुपमा फाइदा होला कि घाटा, अहिले विश्लेषण गर्नु हतारो हुन सक्ला । तर केही साताअघि राष्ट्रपति निवास पुगेर उपप्रधानमन्त्री र मन्त्री पदमा शपथ खाएका राप्रपा अध्यक्ष र नेताहरुले त्यही संस्थाको चुनावबारे लिएको तटस्थ निर्णयबारे सार्वजनिक रुपमा प्रश्न भने उठिरहने छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?