+
+
लिग टू क्रिकेट :

पीएनजीमाथि नेपालको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १९:३७

२५ फागुन, काठमाडौं । आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट भयो ।

पीएनजीलाई अलआउट गर्न नेपालका स्पीनहरु सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिलेर विकेट लिए । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिएका थिए ।

तर पीएनजीको इनिङ्स भने नेपाली स्पीनले ध्वस्त बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रले ९.१ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पूरै १० ओभर बलिङ गरेका कुशल मल्लले ६० रन खर्चेर १ विकेट लिए । कप्तान रोहितले समेत ९ ओभर बलिङ गर्दै ३१ रन मात्र खर्चे ।

पीएनजीका लागि आठौं नम्बरमा ब्याटिङ गरेका नोर्मन भानुले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाए ।

जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग टू मा पाँचौ स्थानमा छ । नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालको लागि उक्च स्कोर २९७ रन बनाउने क्रममा ओपनर आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । भीम सार्कीले ४४ रन जोडे । दुबई टुरमा चोटका कारण युएई विरुद्ध अन्तिम खेल गुमाएका कुशल भुर्तेलसँग ओपनिङ गरेका आसिफले पहिलो विकेटका लागि ११० रनकै साझेदारी गरेका थिए । ओडीआईमा नेपालको पहिलो विकेटका लागि यो दोस्रो शतकीय साझेदारी हो ।

यसअघि लिग टू अन्तर्गत गत वर्ष अमेरिकामा यो जोडीले ओमान विरुद्ध पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेको थियो ।

आसिफले यसै खेलबाट ओडीआईमा एक हजार रन पनि पूरा गरे । उनी कप्तान रोहितकुमार पौडेलपछि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने । २०२१ सेप्टेम्बरमा ओमानमा भएको ओडीआई शृंखलामा पीएनजी विरुद्ध नै डेब्यु गरेका आसिफले ३२ खेल खेल्दै १ शतक र ७ अर्धशतक मद्दतमा एक हजार २० रन बनाएका छन् ।

उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउनेमा पनि दोस्रो स्थानमा छन् । कप्तान रोहितले ४१ खेल खेल्दै नेपालका लागि सर्वाधिक १ हजार २०९ रन बनाएका छन् । उनले पनि १ शतक र ७ अर्धशतक नै प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?