+
+

‘उपराष्ट्रपति पदको कामै छैन’

७ वर्ष ३ महिना उपराष्ट्रपति भएका परमानन्द झा भन्छन्, ‘कार्यकर्ता सेटल गर्न यो बेकामे पद संविधानमा राखिछाडे ।’

सागर चन्द सागर चन्द
२०७९ फागुन २६ गते २०:३२

‘खुब मजा छ अचेल । ईश्वरले दिएको आयु आनन्दपूर्वक बिताइरहेछु’– उनकै शब्दमा रिटायर्ड जीवनको आनन्द भोग गरिरहेका छन् पूर्व उपराष्ट्रपति परमानन्द झा । जीवनको उत्तरार्द्धमा पुगिसकेका झा कहिले काठमाडौं त कहिले सप्तरी ओहोरदोहोर गरेर समय बिताउँछन् ।

‘उमेर पुगिसक्यो, यसो परिवार, आफन्तसँग भेटघाट गर्ने, यता–उता घुम्ने यही त हो आनन्द’ झा बुढेसकालको आनन्द सुनाउँछन् । काठमाडौंको गौरीघाटस्थित घरमा भेटिएका झा मुलुकको पहिलो उपराष्ट्रपति हुन् । तर, विशिष्ट व्यक्तिले पाउने सुरक्षा सुविधा लिएका छैनन् उनले ।

२०७२ कात्तिकमा उपराष्ट्रपति पदबाट बिदा भएका झाको सुरक्षाका खातिर केही समय पहिलेसम्म सरकारले पाँच जना सुरक्षाकर्मी खटाएको थियो । एउटा पछुवा गाडी पनि थियो । तर, झाले सुरक्षाकर्मी र पछुवा गाडी दुवै फिर्ता गरिदिए ।

‘किन ?’

‘सुरक्षाका नाममा सरकारले हामीलाई दोहन गरेको छ’ झा बेलिविस्तार लगाउँछन्, ‘उनीहरूलाई बस्ने ठाउँ दिनुपर्‍यो । उनीहरूको बिजुली, पानी खर्च सबै मैले व्यहोर्नु पर्‍यो । उनीहरूलाई कोठा पनि दिनुपर्‍यो । यी सबै सुविधा त म दिन सक्दिनँ नि !’ सरकारले सुरक्षाकर्मीलाई रासन सुविधा दिए पनि उनीहरूको बस्ने व्यवस्था भने सुरक्षा लिनेकै जिम्मेवारी जस्तो बनाइएको छ ।

सुरक्षाकर्मीको बस्ने व्यवस्था, पानी, बिजुली खर्चले आफूमाथि आर्थिक भार परेपछि उनले सुरक्षाकर्मीलाई भने, ‘अब तपाईहरू जानुहोस् । मलाई सुरक्षा चाहिंदैन ।’
‘सुरक्षाका नाममा मेरो माथा (टाउको) मा आर्थिक भार पर्‍यो । त्यो भार व्यहोर्न त मलाई सरकारले खर्च दिएको छैन’ अघिसम्म आनन्दित सुनिएका झा विस्तारै आक्रोशित सुनिन थाले, ‘म बिना सुरक्षा नै बस्न सक्छु । मलाई केको डर छ र !’

जन्मघर सप्तरीतिरै बस्न बढ्ता रुचाउँछन झा । सुरक्षाकर्मीका कारण आउजाउ गर्न, गाउँमा भेटघाट गर्न पनि असजिलो भयो उनलाई । ‘म गाउँमा कहिले कसको मोटरसाइकलमा बसेर हिंड्छु कहिले कता हिंड्छु’ झा बेफिक्री सुनिन्छन्, ‘अनि ती सुरक्षाकर्मीलाई अगाडि–पछाडि लगाएर कसरी हिंड्नु !’

सार्वजनिक जीवनबाट टाढै रहन्छन् न्यायाधीश । न्यायाधीश पदबाट अवकाश पाएपछि उपराष्ट्रपति हुन गएका झाले उपराष्ट्रपति पदबाट अवकाश पाएको पनि ७ वर्ष बितिसक्यो । यी दुई पदमा रहँदा साह्रै औपचारिक जीवन व्यतित गरेका झा जीवनमा स्वतन्त्रता भोग गरिरहेका छन् ।

उपराष्ट्रपति पदबाट निस्केपछि बुढेसकाल नै सही उनी फुक्काफाल भएर हिंड्न चाहन्थे । अलिकता आर्थिक कारण त अलिकता स्वतन्त्रताको मोहले लोभ्याएपछि उनले सुरक्षाकर्मीलाई बिदाइ गरिदिए ।

पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको सेवा–सुविधाका विषयमा बारम्बार माथापच्ची भइरहँदा झा भने यो बहसमा सामेल हुन चाहँदैनन् । ‘दिने सरकारले हो, दिन्छ भने लिउँला दिन्न भने म माग्न जाँदिनँ’, झा भन्छन् ।

पूर्व न्यायाधीश र उपराष्ट्रपतिमध्ये उनलाई उपराष्ट्रपतिको परिचयसँग खास मोह छैन । कतिसम्म भने उनले उपराष्ट्रपतिको सेवा सुविधा होइन, पूर्व न्यायाधीशको पेन्सन लिइरहेका छन् । ‘न्यायाधीश चैं उपराष्ट्रपति भन्दा कमको पद हो र ?’ झा न्यायाधीशलाई ठूलो पद ठान्छन् ।

पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको सेवा–सुविधाका विषयमा बारम्बार माथापच्ची भइरहँदा झा भने यो बहसमा सामेल हुन चाहँदैनन् । ‘दिने सरकारले हो, दिन्छ भने लिउँला दिन्न भने म माग्न जाँदिनँ’, झा भन्छन् ।

तर, पूर्व उपराष्ट्रपतिको सेवा–सुविधा नपाएको गुनासो भने उनको मनमा खिल झैं गढेको छ । झा मात्र होइन उनका सहयोगी तथा सवारी चालक पनि आफूले तलब नपाएकोमा चिन्तित छन् । अनलाइनखबर टिमलाई ढोकाबाट डोर्‍याउँदै घरभित्र पुर्‍याएका झाका सवारी चालक जमनारायण ठाकुरले सरकारी तलब नपाएको गुनासो गरे ।

‘झा सरले आफ्नो पेन्सनबाट दिनुहुन्छ’ उनले गुनासो गरे, ‘उपराष्ट्रपति हुँदा मेरो पनि तलब आउँथ्यो, अहिले आउँदैन ।’ झा उपराष्ट्रपति पदबाट बाहिरिएदेखि आफूले सरकारी तलब नपाएको उनको गुनासो छ ।

धोती र सर्टमा सजिएर बसेका पूर्व उपराष्ट्रपति परमानन्द झाले फोटो खिच्नकै लागि प्यान्ट लगाए । कानमा श्रवण यन्त्र नलगाउँदा झा अरूले बोलेको राम्रोसँग सुन्न सक्दैनन्् । ‘अब कति सुन्नु, अरूका कुरा धेरै सुनिसकें’ कानमा लगाएको श्रवणयन्त्र देखाउँदै झा भन्छन्, ‘तैपनि यसो बातचित गर्न सजिलो हुन्छ भनेर यो लगाएको ।’ ८० वर्ष पुग्न लागिसकेका झा आफूलाई तन्दुरुस्त नै ठान्छन् । ‘साथीहरू कति जना परलोक सिधारिसके, म त कमसेकम हिंडडुल गर्न सकेकै छु’, झा सुनाउँछन् ।

गएका सात वर्षदेखि सार्वजनिक वृत्तबाट टाढै रहेका झा लेखपढमा पनि सक्रिय छैनन् । ‘के किताब पढ्नु, मलाई थोडी कुनै जाँच दिनु छ र’ झा सुनाउँछन्, ‘मनमा जे इच्छा लाग्यो, जतिखेर आफूलाई प्रशन्नता हुने काम हुन्छ त्यही गर्छु ।’

‘पहाडियालाई नपचेको हिन्दी भाषाको शपथ’

हिन्दी भाषामा उपराष्ट्रपति पदको शपथ लिएसँगै झा विवादमा तानिएका थिए । झाको विरोधमा सडकमा आन्दोलन पनि भयो । उनको पुत्ला जलाइयो । विवाद कतिसम्म चर्कियो भने झाको घर वरिपरि बम विस्फोट समेत गराइए ।

८ साउन २०६५ मा हिन्दी भाषामा शपथ लिएकै साँझ उनको घर नजिकैको चौरमा बम विस्फोट भयो । ११ साउनमा उनको घरको झ्यालमै बम विस्फोट भयो । ‘संयोगवश म बाहिर बरन्डामा थिएँ । मेरो कोठाको झ्यालका सिसाहरू चकनाचूर भए’ झा सम्झिन्छन्, ‘पर्खालमा पनि क्षति भयो ।’ घरमा बम विस्फोट भएको केही दिनपछि फेरि उनको घर नजिकै चौरमा अर्को बम विस्फोट भएको थियो ।

राजनीतिक रूपमा समेत विवाद साम्य नहुने भएपछि यो विवादको छिनोफानो गर्ने जिम्मा सर्वोच्च अदालतले पायो । त्यही अदालतको न्यायाधीश पद छाडेर उपराष्ट्रपति हुन गएका झाको हिन्दी शपथ बदर गर्दै नेपाली भषामा शपथ लिन सर्वोच्चले निर्देशन दियो ।

तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको इजलासको आदेशले झाको उपराष्ट्रपति पद निष्क्रिय हुँदा उनी उपराष्ट्रपति भएको करिब एक वर्ष भइसकेको थियो । एक वर्षपछि उनले फेरि शपथ लिनुपर्ने बाध्यता आइलाग्यो ।

झा पनि के कम– शपथ बदर गर्ने आफ्नै पूर्व सहकर्मी न्यायाधीशमाथि फायर खोले । हिन्दी भाषाको शपथ बदर गर्ने रायमाझी र केसीले पूर्वाग्रही भएर फैसला गरेको भन्दै सर्वोच्चमाथि खनिए ।

१४ साउन २०६६ मा झाले पत्रकार सम्मेलन मार्फत भने, ‘फैसला विवेक र न्यायपूर्ण भए स्वीकार्थें, तर न्यायको आत्मा मार्ने दुर्नियतले प्रेरित फैसला स्वीकार्न मेरो आत्माले दिएन । नेपाली नबोल्नेहरू नेपाली हुन नआउने यो कस्तो न्याय हो ?’ नेपाली भाषामा शपथ लिन इन्कार गर्दै झाले निष्क्रिय बस्ने घोषणा गर्दिए ।

यसपछि विवाद झन् बल्झियो । निष्क्रिय बस्ने घोषणा गरेपछि सरकारले उनको सुरक्षा खोस्यो । घरमा राखिएको नेपाली झण्डा हटाउन लगायो । एउटा मुद्दाबाट पार नपाउँदै उनी विरुद्ध फेरि अर्को मुद्दा पर्‍यो– अदालतको अवहेलना । जुन अदालतमा उनले सेवा गरे त्यही अदालतको अवहेलनाको मुद्दा खेपे ।

तत्कालीन मधेशी जनअधिकार फोरम (जसले उनलाई उपराष्ट्रपति बनाएको थियो) का नेता उपेन्द्र यादवले झालाई कि पदबाट राजीनामा दिनुहोस् कि नेपाली भाषामा शपथ लिनुहोस् भन्दै दबाव दिन सुरु गरे । ‘तर, मैले मानिनँ । अर्को उपराष्ट्रपति नबनाउने हो भने मात्र म राजीनामा दिन्छु’, झाले शर्त राखे ।

उपराष्ट्रपतिका रूपमा बिताएका ७ वर्ष व्यर्थ गएजस्तो पनि लाग्छ उनलाई । ‘त्यो पदमा बसेर ७ वर्ष बेकार भयो मेरा लागि’ झा सुनाउँछन्, ‘राजनीतिक दलहरूले विना कुनै काम त्यो एउटा उपराष्ट्रपति रहिरहोस् भन्ने सोचेर बनाएको पद हो । त्यसको कामै छैन । ’

राजनीतिक दबाव, सडक आन्दोलन र अदालतको आदेश समेत सहेर बसे झा । झाकै जबर्जस्तीले त हो २०६३ को अन्तरिम संविधान संशोधन भएको । अन्तरिम संविधान संशोधन गरेर मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था गरियो ।

अनि ६ महिनासम्म निष्क्रिय रहेको झाको उपराष्ट्रपति पद २४ माघ २०६६ मा मैथली भाषामा शपथ लिएपछि फेरि सक्रिय भयो । ‘सर्वोच्च अदालत र राजनीतिक दलहरूले आग्रह गरेपछि मैले मैथलीसँगै नेपाली भाषामा पनि शपथ लिएँ’, झा सम्झिन्छन् ।

आफ्नो त्यो विद्रोही अडानका कारण अन्तरिम संविधान मात्र होइन २०७२ को संविधानमा पनि मातृभाषा सम्बन्धी अधिकार समेटिएको झाको बुझाइ छ । आफूले हिन्दी भाषामा शपथ लिएको ‘पहाडियाहरूलाई नपचेको’ बताउँछन् झा ।

उनी भन्छन्, ‘मैले हिन्दीमा शपथ लिएको कुरा पहाडियाहरूलाई नपचेको हो । त्यतिखेर राष्ट्रपति, उपराष्ट्रपति दुवैजना मधेशका भयौं । अनि उनीहरूलाई मन नपरेपछि राजनीतिक दलहरूले बबण्डर गरेका हुन् ।’ शपथका विषयमा अडान नलिएको भए आफू असल उपराष्ट्रपति हुने थिइनँ भन्ने उनको बुझाइ छ ।

‘त्यतिखेर मान्छेले मलाई गाली गरे । राजीनामा दे भने, पुत्ला जलाए’ झा प्रसन्न सुनिन्छन्, ‘आज मातृभाषाले अधिकार पायो । र, मैले गरेको सही थियो भन्ने सावित भयो ।’
मधेशी दलका नेताहरूले आफ्नो पक्षमा माहोल बनाउँदै प्रतिवाद गरेको भए त्यति ठूलो हंगामा हुने थिएन कि भन्ने लाग्छ उनलाई । ‘हाम्रा मधेशी नेताहरूले बलियोसँग प्रतिवाद गर्न सकेनन्’ झा सुनाउँछन्, ‘उनीहरूलाई आफ्नो पद खुस्केला कि भन्ने डर थियो । यही कारणले त मधेश पछाडि परेको हो ।’

सरकारी भात पचाउने उपराष्ट्रपति पद

अदालती र राजनीतिक माथापच्ची पछि झाले उपराष्ट्रपति पद जोगाए । तर, उनलाई उपराष्ट्रपति पद भने कैदखाना जस्तो भयो । उपराष्ट्रपतिका रूपमा बिताएका ७ वर्ष व्यर्थ गएजस्तो पनि लाग्छ उनलाई । ‘त्यो पदमा बसेर ७ वर्ष बेकार भयो मेरा लागि’ झा सुनाउँछन्, ‘राजनीतिक दलहरूले विना कुनै काम त्यो एउटा उपराष्ट्रपति रहिरहोस् भन्ने सोचेर बनाएको पद हो । त्यसको कामै छैन । ’

मुलुकको उच्च पद भए पनि त्यसले झालाई खुसी भने बनाउन सकेन, ‘त्यो सबै समय खेर गयो । त्यसले मनमा एउटा उद्विग्नता जन्मायो ।’उनी उपराष्ट्रपति हुँदा संविधान निर्माणको प्रक्रिया चलेको थियो । तर, उनले भने त्यो प्रक्रियामा कतै पनि सहभागी हुन पाएनन् । ‘त्यस्तो महत्वपूर्ण समय थियो । संविधान निर्माणमा धेरै थोक गरौंला भन्ने थियो तर, गर्न पाइएन’, झाले मनको धोको सुनाए ।

‘के गर्न मन थियो ?’

‘भयो छाड्नुहोस्, अब ती कुरा के गर्नु ! केही काम नै नहुने पदको पनि के बात गर्नु’ झा हाँस्छन् । उन्मुक्त हाँसो हाँसेका झा एकछिन मौन रहे । अनि, ‘मलाई आनन्द छ अचेल । जेल जीवनबाट मुक्त भएजस्तो भएको छ मलाई । उपराष्ट्रपति हुँदा त मलाई जेलमा छु जस्तो लाग्थ्यो ।’

उपराष्ट्रपति भएकै कारण आफ्नो न्यायाधीश सर्कल गुमेको पीर छ उनलाई । ‘यो उपराष्ट्रपति भएपछि न्यायाधीशतिरको मेरो सबै दोस्ती टुट्यो’ झा चिन्ता मान्छन्, ‘न न्यायाधीशतिर रहें म न राजनीतितिर भएँ ।’

मुलुकको पहिलो उपराष्ट्रपति हुने सौभाग्य पाएका उनलाई आफ्नो यो ऐतिहासिक पद प्राप्तिमा कुनै गर्व छैन । त्यो पदप्रति उनलाई कुनै लगाव पनि छैन, ‘म सर्वोच्च अदालतको न्यायाधीश त छँदैथिएँ नि ! उपराष्ट्रपति भन्दा त सर्वोच्च अदालतको न्यायाधीश परिपक्व हुन्छ । उपराष्ट्रपति भएर मैले के के न पाएँ भन्ने लागेको छैन ।’

७ वर्ष ३ महिना उपराष्ट्रपतिका रूपमा आफूले सरकारी भात मात्र पचाएँ भन्दै ठट्टा गर्छन् झा । २०७२ सालमा संविधान बन्दा, ‘यो सरकारी भात पचाउने पद नराखौं भनेको थिएँ’ झा हाँस्छन्, ‘कार्यकर्ता सेटल गर्न यो बेकामे पद राखिछाडे ।’

आफूले ७ वर्ष बिताएर आएको पदका बारेमा धेरै कुरा गर्न पनि उनलाई रहर छैन । उपराष्ट्रपति भएकै कारण आफ्नो न्यायाधीश सर्कल गुमेको पीर छ उनलाई । ‘यो उपराष्ट्रपति भएपछि न्यायाधीशतिरको मेरो सबै दोस्ती टुट्यो’ झा चिन्ता मान्छन्, ‘न न्यायाधीशतिर रहें म न राजनीतितिर भएँ ।’

पदबाट बाहिरिएपछि पारिवारिक जीवनमा सीमित भएका उनले पदविहीन व्यक्तिको औचित्य समाप्त हुने बुझेका छन् । स्वीकारोक्तिको भावमा उनी भन्छन्, ‘पदमा रहुञ्जेल साथीभाइ, दोस्ती अनेक मान्छे हुन्छन् । त्यतिखेर लिनुदिनु हुन्छ । चाकडी गर्न वरिपरि मान्छे आउँछन् । अब मबाट पाउनु केही छैन अनि नपाउने भएपछि भेट्न पनि कोही आउँदैनन् ।’

उनलाई उपराष्ट्रपति बनाएको मधेशी जनअधिकार फोरम आज छैन । त्यसका नेताहरू तितरवितर भएर अनेक भँगालोमा बाँडिइसके । उनलाई उपराष्ट्रपति बनाउने मधेशकेन्द्रित नेताहरूले पनि उनको उपयोगिता समाप्त भएको ठानिसकेका छन् । ‘उनीहरू आफैं बाठा छन्, आफैं विज्ञ छन् । सबै कुराको जानकार छन् । जान्नेहरू म बुढोसँग सल्लाहका लागि किन आउँथे र ?’ झा व्यंग्य कस्छन् ।

चरेश प्रकरणमा कुख्याती कमाएका झा

जिल्ला अदालत काठमाडौं र तत्कालीन पुनरावेदन अदालतले थुनामा पठाउने आदेश गरेका चरेस कारोबारी दिलबहादुर गुरुङलाई परमानन्द झाले तारेखमा छाड्ने आदेश गरे । ९ साउन २०६२ मा झाले चरेस कारोबारी गुरुङलाई ९ लाख रुपैयाँ धरौटी लिई तारेखमा छाड्ने आदेश गरेका थिए ।

उनको यो आदेशको चर्को आलोचना भयो । यो आदेश कतिसम्म विवादित भयो भने यसमाथि छानबिन गर्न न्यायाधीश अनुपराज शर्मा नेतृत्वमा रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मी सदस्य रहने गरी छानबिन समिति बन्यो । समितिले उनलाई राजीनामा दिन सुझायो । तर, झाले राजीनामा दिएनन् । बरु उनी तत्कालीन पुनरावेदन अदालत विराटनगर फर्किए । तर, चरेस प्रकरणलाई उनी आफूलाई बदनाम गर्न रचिएको प्रपञ्च भन्छन् ।

‘यदि त्यो (आफूले गरेको फैसला) गुनाह (अपराध) हो भने यो (लामिछाने र शाह छाड्ने फैसला) पनि गुनाह हो । अदालतले मान्छे छाड्ने काम गुनाह भने त सबै छाड्ने काम गुनाह हुन्छन् ।’

‘त्यो मलाई डिफेम गर्न बनाइएको षडयन्त्र थियो’ झा यो प्रसंग धेरै कोट्याउन चाहँदैनन् ।‘त्यसमा मैले धेरै भनिरहनु पर्दैन । अदालतले अहिले पनि मान्छे छाड्छ । सन्दीप लामिछाने, पल शाहलाई छाड्यो । यी फैसलाले न्याय गरे त ?’ झा प्रतिप्रश्न गर्छन्, ‘यदि त्यो (आफूले गरेको फैसला) गुनाह (अपराध) हो भने यो (लामिछाने र शाह छाड्ने फैसला) पनि गुनाह हो । अदालतले मान्छे छाड्ने काम गुनाह भने त सबै छाड्ने काम गुनाह हुन्छन् ।’

यत्तिकैमा चिया लिएर उनको परिवारका सदस्य आइपुगे । चिया टेबलमा राखी नसक्दै झाले उपराष्ट्रपति पदको सेवा–सुविधा नपाएको गुनासोतर्फ कुरा मोडे । ‘यो चिया आयो अब चियासँग तपाईंलाई बिस्कुट पनि दिन पाएको भए’ झाको गुनासो जारी रह्यो, ‘कस्तो कञ्जुस रै’छ भन्नुहोला तर, मेरो बाध्यता त मलाई थाहा छ नि !’

यतिले नपुगेर उनी उदाहरणसहित बुझाउन थाले, ‘सडकमै बस्ने मान्छेले पनि पेट पाल्न अनेक गुजारा गरिरहेको हुन्छ । मेरो पनि येनकेन चलिरा’छ, ईश्वरको कृपाले चलिरा’छ । कुनै नेतासँग माग्न गएको छैन, कसैको चोरी गर्न गएको छैन ।’

गुनासो गरिरहेका झा सम्हालिए । अनि आफूले सुविधा किन मागेको भन्ने तर्क दिए, ‘यहाँ भएका सबैले चाहिंदो नचाहिंदो सुविधा भोग गर्छन् । सबै सुविधा खोज्छन् । मेरो पनि मनै त हो कहिलेकाहीं सुविधा खोज्छ । यो परिवेशमा सबै सन्त भएको भए म पनि सन्त हुन्थें । कि कसो ?’ उनले सम्मति खोजे ।

सबै बिन्दास छ, आनन्द छ भन्दै कुराकानी सुरु गरेका पूर्व उपराष्ट्रपति झाले जाँदाजाँदै फेरि भने, ‘हेर्नुहोस्, देशको पहिलो उपराष्ट्रपति भए पनि मैले पटक्कै केही पाएको छैन ।’

तस्वीहरु : विकास श्रेष्ठ/अनलाइनखबर 

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?