+
+

किन बेपत्ता भैरहेका छन् चिनियाँ अर्बपतिहरू ?

एजेन्सी एजेन्सी
२०७९ फागुन २७ गते १३:२१
चिनियाँ अर्बपति बाओ फान ।

चिनियाँ प्रविधि उद्योगका सम्झौताकर्ता मानिने बाओ फान गत महिना एकाएक हराएसँगै चीनमा अर्बपतिहरू बेपत्ता हुने सिलसिलाका बारेमा पुनः एकफटक चासो बढेको छ ।

चाइना रेनेसा होल्डिंग्स कम्पनीका संस्थापक रहेका फानलाई चिनियाँ प्रविधि उद्योगका टाइकुन मानिन्छ र उनका कम्पनीको ग्राहकको रुपमा इन्टरनेट जाएन्ट टेनसेन्टदेखि अलिबाबा र बाइदुलगायतका छन् ।

बाओको बेपत्ताको घटनाको सन्दर्भ पनि यसअघिका घटनाहरुजस्तै थियो । सम्बन्धित चिनियाँ अधिकारीहरुले गरिरहेको अनुसन्धानमा सघाइरहेको भन्दै उनको कम्पनीले घोषणा गरेको केही दिनअघि देखि उनी हराइरहेका थिए ।

र, यसअघि जस्तै यो पटक पनि उनको कम्पनीमाथि कुन सरकारी निकायले अनुसन्धान गरिरहेको हो खुलाइएको छैन । साथै बाओ कहाँ छन् भन्ने बारेमा समेत हालसम्म केही जानकारी सार्वजनिक भएको छैन ।

अलिबाबाका प्रमुख ज्याकमालगायत पछिल्ला वर्षहरुमा एकपछि अर्को गर्दै चिनियाँ अर्बपतिहरु एकाएक हराउने शृङ्खलाको पछिल्लो कडीका रुपमा बाओ फानको बेपत्ता प्रकरणलाई पनि रहस्यमय मानिएको छ ।

यद्यपि नाम चलेका अर्बपतिहरू हराउँदा धेरै चर्चा हुने गरे पनि चीनमा सरकार विरोधी प्रदर्शन र मानव अधिकारवादी अभियान सहभागी भएका साधारण चिनियाँ नागरिकहरु पनि बेपत्ता हुने गरेका छन् जसको कम चर्चा हुने गर्दछ ।

बाओलगायतका अर्बपतिको बेपत्ता प्रकरणलाई चिनिया राष्ट्रपति सि जिनपिङले चिनिया अर्थतन्त्रमाथि नियन्त्रण कायम गर्न चालेको कदमको रुपमा पनि हेरिएको छ ।

चिनियाँ पिपुल्स कंग्रसको वार्षिक सत्रको पूर्वसन्ध्यामा यो घटना भएको छ । जनकंग्रेसले चिनियाँ वित्तीय नियमन प्रणाली वर्षौंयताको सबैभन्दा ठूलो परिवर्तन योजनाको घोषणा गरेको थियो । जसअनुसार मुलुकको समग्र वित्तीय क्षेत्र हेर्नका लागि एक नियामक वाचडग निकायको स्थापना गरिनेछ ।

चीनको ट्रिलियन डलरको वित्तीय सेवा उद्योगमाथि हाल विभिन्न निकायबाट हुने अनुमगनका क्रममा रहनसक्ने छिद्र बन्द गर्नका लागि उक्त नियामक निकायले काम गर्ने बताइएको छ ।

अर्बपतिहरुको बेपत्ताका बारेमा रहेको रहस्य तथा उद्योग व्यवसायमाथि चीन सरकारको रबैयाका विषयमा देखिएको व्यापक चासोले ठूलो प्रभाव पार्न सक्दछ

चीनमा सन् २०१५ मा मात्रै उद्योग क्षेत्रका कम्तिमा पाँच जना कार्यकारीहरू हराएका थिए । त्यसमध्ये चिनियाँ कम्पनी फुसान इन्टरनेसनलका अध्यक्ष गुओ गुआंगचांग पनि एक थिए । उनी इंगलिस प्रिमियर लिग क्लब उल्भरह्याम्प्टनका मालिक समेत हुन् ।

गुओ सन् २०१५ को डिसेम्बरमा बेपत्ता भए । तर केही समयपछि जब उनी सार्वजनिक रुपमा देखिए तब उनको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भन्यो- गुओले अनुसन्धानमा सघाइरहेका थिए ।

त्यसको २ वर्षपछि चिनिया-क्यानेडाली व्यवसायी जियाओ जियानहुवालाई हंगकंगस्थित एक लक्जरी होटलबाट गिरफ्तार गरियो । उनी चीनका सर्वाधिक धनी व्यक्तिमध्ये एक थिए र उनलाई भ्रष्टाचारको आरोपमा गतवर्ष जेल हालियो ।

सन् २०२० को मार्चमा अर्बपति रियलस्टेट टाइकुन रेन जिकियाङ बेपत्ता भए । कोरोना महामारी व्यवस्थापनको सन्दर्भमा चिनिया राष्ट्रपतिलाई जोकरको संज्ञा दिएपछि उनी बेपत्ता बनाइएका थिए । पछि उनलाई एक दिनको अदालती सुनुवाइपछि भ्रष्टाचारको आरोपमा १८ वर्षे जेल सजाय सुनाइयो ।

अलिबाबाका संस्थापक ज्याक मा बेपत्ता भएको घटना चाहिँ चीनमा अर्बपतिहरू बेपत्ता हुने सबैभन्दा हाइ प्रोफाइल घटना हो । चीनका तत्कालीन सर्वाधिक धनाढ्य व्यक्ति रहेका ज्याक माले मुलुकका वित्तिय नियामकहरुको आलोचना गरेसँगै सन् २०२० को अन्त्यतिरबाट बेपत्ता भए ।

त्यसपछि मा को वित्तीय प्रविधि कम्पनी एन्ट ग्रुपले ल्याउने भनेको सबैभन्दा ठूलो सेयर सूचिकरण पनि रोकियो । Common Prosperity Fund  लाई करिब १० अर्ब डलर दान गरेतापनि दुई वर्षभन्दा धेरै समयदेखि चीनमा देखिएका छैनन् । यद्यपि उनीमाथि कुनै पनि मुद्दा लगाइएको भने छैन ।

ज्याक मा कहाँ छन् भन्ने प्रष्ट भएको छैन तथापि उनी हालैका महिनाहरुमा जापान, अष्ट्रेलिया तथा थाइल्याण्डमा देखिएको भन्ने समाचार पनि नआएका हैनन् ।

उता चीन सरकारले भने देशका केतिपय सर्वाधिक धनी व्यक्तिहरुविरुद्ध चालिएको कदम विशुद्ध कानुनी प्रकृतिको रहेको भन्दै देशमा भ्रष्टाचारलाई समूल अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । तर हाल विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको चीनले चालिरहेका यी कदमहरु उसले दशकौंदेखि अँगाल्दै आएको उदारीकरणको विपरित देखिन्छन् ।

उदारीकरणको नीतिले नै चीनमा धेरै अर्बपतिहरु जन्मायो जसले आफ्नो विशाल सम्पत्तिका कारण उल्लेख्य शक्ति आर्जन गर्ने हैसियत राख्दछन् ।

विश्लेषकहरुका अनुसार सी नेतृत्वको कम्युनिष्ट पार्टीले त्यस्तो शक्ति आफैले खिच्न चाहन्छ र त्यसका लागि अर्बपतिहरु बेपत्ता गराउने जस्ता रहस्यमय काम भैरहेका छन् ।

सी का पूर्ववर्ती जियांग जेमिन र हु जिन्ताओको शासनकालमा ठूला व्यवसाय, खासगरी प्रविधि उद्योगले शक्ति आर्जन गर्‍यो ।

त्यसअघि बेइजिङको ध्यान सेना, ठूला उद्योग तथा स्थानीय सरकार जस्ता शक्तिका परम्परागत केन्द्रहरुमा केन्द्रित थियो ।

ती क्षेत्रहरुमाथिको कडा पकडलाई कायम राख्दै सी ले मुलुकको अझै धेरै अर्थतन्त्र हाम्रो नियन्त्रणमा राख्नमा ध्यान केन्द्रित गरेका छन् । उनको साझा सम्वृद्धिको नीतिले अर्थतन्त्रका धेरै हिस्साहरुमा धावा बोलेको छ र त्यसबाट प्रविधि उद्योगले सबैभन्दा धेरै सरकारी नियन्त्रण व्यहोर्नु परेको छ ।

ग्लोबल एडभाइजरी र्फम अल्ब्राइड स्टोनब्रिज ग्रुुपको चीन तथा प्रविधि नीति विषयका प्रमुख पाउल टिरोलो भन्छन्- बेइजिङको चाहना विपरित जानेगरी तथा लगाम लगाउन गाह्रो हुनेगरी कुनैप्नि ठूला प्रविधि कम्पनीहरुले आफ्नो ब्राण्ड तथा प्रभाव विकास नगरुन् भन्ने कुरामा बेइजिङ चनाखो देखिन्छ ।

राष्ट्रपति सी जिनपिङको Common Prosperity नीतिको चुरो भनेकै कानूनको शासन हो र त्यो कानून धनी र गरीबलाई समान रुपमा लागू हुनुपर्दछ ।

बेइजिङको तर्क के छ भने उसको नीति मुलुकमा नारिकहरुको सम्पत्तिको बढ्दो अन्तरलाई कम गर्नु हो । यदि यसलाई सम्बोधन गर्न सकिएन भने त्यसले कम्युनिष्ट पार्टीको नीतिमै दखल पूराउने कुरामा सरकार सचेत छ ।

देशमा असमानता बढ्दै गएको छ र यस विषयमा सी ले पार्टीका चरम वामपन्थीहरुको दबाब खेप्नु परिरहेको छ ।

अर्बपतिहरुको बेपत्ताका बारेमा रहेको रहस्य तथा उद्योग व्यवसायमाथि चीन सरकारको रबैयाका विषयमा देखिएको व्यापक चासोले ठूलो प्रभाव पार्न सक्दछ ।

कतिपयले चाहिं चीनले नयाँ व्यवसायिक प्रतिभाहरुलाई तर्साएर जोखिम मोलेको बताउँछन् । विश्लेषकहरुका अनुसार अहिले चिनियाँ प्रविधि उद्योगका व्यवसायीहरुमा अर्को ज्याक मा पो बनिने हो कि भन्ने त्रास छ ।

तथापि राष्ट्रपति सी उद्योग व्यवसाय क्षेत्रको भावनामाथि चोट पुर्‍याउँदाको जोखिमबारे सचेत छन् । हालै राष्ट्रिय जनकंग्रेसलाई सम्बोधन गर्ने क्रममा उनले चीनका लागि निजी क्षेत्र निकै महत्वपूर्ण रहेकोमा जोड दिए । तर उनले निजी कम्पनी तथा व्यवसायीहरुलाई आह्वान गर्दै भनेका छन्- धनी हुनुस् र जिम्मेवार हुनुस्, धनी हुनुस् र सही हुनुस् अनि धनी हुनुस् र प्रिय हुनुस् ।

गतहप्ता वित्तिय नियामक निकाय स्थापनाको घोषणासँगै बैंकहरुलाई पश्चिमा सुखवादी समकक्षीहरुको सिको नगर्न चेतावनी दिइएको थियो ।

यसले अब चीन सरकारको ध्यान प्रविधि क्षेत्रपछि त्यहाँको वित्तिय क्षेत्रतर्फ रहेको संकेत गरेको छ ।

यद्यपि अर्बपतिहरुमाथिको हस्तक्षेपले सी जिनपिङलाई आफ्नो शक्तिमाथिको पकडलाई अझै कसिलो बनाउन सहयोग गर्छ कि गर्दैन त्यो हेर्न बाँकी नै छ । तर यसले चिनिया वित्तीय बजार, व्यवसाय तथा समग्रमा मुलुकको अर्थतन्त्रको आत्मविश्वासमा भने खतरा पैदा गरेको छ ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?