+
+

के हुन्छ फेसन शोमा ?

मीरा महर्जन मीरा महर्जन
२०७९ फागुन २८ गते १३:५५

विश्वभर नै फेसन शोको खास आकर्षण छ । कुनैपनि डिजाइनरले रचनात्मक ढंगले तयार गरेको पहिरनलाई ग्राहक वा दर्शकसमक्ष पुर्‍याउने एउटा माध्यमको रुपमा फेसन शो आयोजना गरिन्छ ।

यसमा डिजाइनरको विभिन्न उद्देश्य हुन्छ । अब कस्तो फेसन चल्न सक्छ भन्ने देखाउन पनि फेसन शो गरिन्छ । फेसन ट्रेण्ड के छ र भविष्यमा यसको परिवर्तन कसरी हुँदैछ भनेर देखाइन्छ । आगमी वर्षमा यस किसिमको पहिरन शैलीले बजार लिन सक्छ भनेर नयाँ नयाँ डिजाइन प्रस्तुत गरिन्छ ।

फेसन शोमा व्यवसायी, उद्यमी आदि दर्शकका रुपमा हुन्छन् । उनीहरुले कुनै डिजाइन मन पराएको अवस्थामा त्यस्ता डिजाइन खरिद गर्छन् । अनि बजारमा उक्त डिजाइनका पहिरन ल्याउने गर्छन् ।

त्यसैले धेरैजसो फेसन शो डिजाइनर र कपडा व्यवसायी मिलेर नै आयोजना गर्छन् । आजभोलि फेसन शो कपडाको मात्र नभई मेकअप आर्टिस, डिजाइनर र मोडलको पनि सँगसँगै प्रदर्शन भएको हुन्छ ।

फेसन शोका प्रकार

सामान्यतया ६ प्रकारका फेसन शो हुन्छन् । फर्मल, मास प्रोडक्सन, सूचनामूलक, डिजाइनर, च्यारिटी र प्रायोजित फेसन शो । नेपालमा भने सामान्यतया तीन प्रकारका फेसन शो गरिन्छ, जसमा मास प्रोडक्सन, कमर्सियल बढी भएको देखिन्छ । रचनात्मक (डिजाइनर) फेसन शो भने एकदम कम देखिन्छ, जुन महत्वपूर्ण र फाइदाजनक शो हो ।

मौसमी फेसन शो

सर्वसाधारणलाई लक्षित गरेर ‘मास प्रोडक्सन’ फेसन शो गरिन्छ । आम सर्वसाधारणका लागि कस्तो पहिरन शैली सुहाउँदो र उपयोगी हुन्छ भनेर सोही बमोजिमको डिजाइन यसमा प्रदर्शन गरिएको हुन्छ ।

मास प्रोडक्सन कुनै कम्पनीले आफ्नो कम्पनीको कपडा बिक्री गर्न गरिने मौसमी फेसन शो हो । कमर्सियल शोमा सीमित डिजाइनका लुगा प्रदर्शन गरिन्छ । यो मास प्रोडक्सन भन्दा महंगो पर्छ । यसमा बुटिक, डिजाइनरका लुगा हुन्छन्, जुन बजारमा पाउने लुगाभन्दा पृथक खालका हुन्छन् ।

फेसन शो कसले हेर्छन् ?

फेसन शोमा व्यापारी, कपडा कारखानाका सञ्चालक र डिजाइनरहरुको सहभागिता हुनुपर्छ । किनभने फेसन शोमार्फत ती डिजाइन हेरेर उनीहरुको कारखानामा भएका कपडाबाट त्यो डिजाइन बनाउन सकिन्छ कि सकिंदैन वा आफ्नो भएको कपडाबाट कस्तो डिजाइन बनाउन सकिन्छ भनेर आँकलन गर्न सक्छन् । उनीहरुलाई मन परेको खण्डमा त्यो डिजाइनरलाई हायर (कन्ट्रक) गरेर लुगा बनाइन्छ ।

डिजाइन होइन मोडल हेर्नेको जमात

नेपालको विडम्बना फेसन शो रमाइलोभन्दा पनि मोडल हेर्न आउने गर्छन् । लुगाको नभई मोडलको शो भएको देखिन्छ । मोडललाई हेर्न आउने दर्शकहरु बढी भेटिन्छन् । किनभने आयोजकले उनीहरुको फाइदाका लागि फेसन शोका केही ज्ञान नै नभएका व्यक्तिलाई पनि टिकट बेचेका हुन्छन् । एकदम कम मात्रामा मात्र लक्षित व्यक्तिको सहभागिता देखिन्छ । यसकारण फेसन डिजाइनरले राम्रो दर्शक नपाउँदा बजार पनि पाउन सकेका छैनन् ।

फेसन शोको डिजाइन बजारमा कसरी आइपुग्छ ?

धेरै प्रकारका फेसन शोमध्ये प्रत्यक्ष रुपमा सर्वसाधारणमाझ पुग्ने भनेको कपडा वा कारखानाले गरेका फेसन शो हो । तिनीहरुले आफ्नो कपडा बिक्री गर्न डिजाइनरमार्फत थरीथरी डिजाइन गरेर फेसन शो गर्छन् । ती कपडा प्रत्यक्ष बजारमा जान्छ । अर्को कमर्सियल फेसन शोमा जति सहभागी भएका दर्शक हुन्छन्, तिनीहरुले मन पराएर पनि किन्ने गर्छन् । यो बुटिक वा डिजाइनरमार्फत बिक्री हुन्छ ।

नेपालमा फेसन शोको स्तर

पछिल्लो १०-१५ वर्षयता हेर्ने हो भने नेपालमा पनि फेसन शोको ट्रेण्ड निकै बढेको छ । शोमा मोडल, डिजाइनर र मेकअप आर्टिस्टले आ–आफ्ना प्रस्तुति र सिर्जनाको प्रदर्शन गर्छन् । तर पनि नेपालमा अन्तर्राष्ट्रिस्तरको फेसन शो भने आयोजना हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रिय फेसन शोमा मोडल अदृश्य नमुनाको रुपमा प्रस्तुत गरिएको देखिन्छ । लुगालाई नै मुख्य केन्द्रित गरिएको हुन्छ । त्यही भएर विदेशमा जीउडाल अनुसार पहिरन शैली मिल्दो मोडल प्रस्तुत गरिन्छ । नेपालमा भने पहिरन शैलीभन्दा पनि मोडल चिटिक्क परेको खोज्ने गरिन्छ । त्यसैले हामीकहाँ व्यावसायिक प्रयोजनले भन्दा पनि देखासिकीले अन्धाधुन्ध फेसन शो गर्ने लहड छ ।

(महर्जन नोभा फेसन हाउसकी सञ्चालक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?