
२८ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको पाँचौं प्रदेशसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।
‘अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था छैन । बैंकलाई पनि असजिलो छ । व्यवसायीलाई झन् धेरै असजिलो छ । सरकारको पनि राजस्व उठेको छैन । त्यसैले सबैलाई समस्या परेको छ । सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन ।”
उनले महासंघ भित्र पनि एकता भयो भने मात्र यो समस्याको समाधान सहज हुने हुनाले आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नुपर्ने बताए । उनले सरकार, व्यवसायी, उपभोक्ता सबै पक्ष मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए ।
‘अहिले कुनै व्यक्तिको जित हारको अस्वस्था छैन । समग्र अर्थतन्त्रको जित हारको अवस्था हो । हामी सबै मिलेर अर्थतन्त्रलाई जिताउन पर्नेछ । यसलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेछ । त्यसैले हामी सबै एक हुनुको विकल्प छैन । सबै मिलेर एकसाथ अगाडि बढ्नुको विकल्प छैन । एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोप लगाएर मात्र समस्याको समाधान हुन सक्दैन’ उनले भने ।
उनले सरकार तथा राजनैतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा नराखेको गुनासो समेत गरे । ‘अहिले सरकारले पनि पूर्णता पाइसकेको अवस्था छैन । नयाँ संविधान आइसकेपछि हामीलाई लागेको थियो, अब सायद राजनैतिक एजेण्डा सकिए । आर्थिक एजेण्डाले प्राथमिकता पाउनेछन् । तर, राजनैतिक दलको व्यवहारमा आर्थिक एजेण्डा प्राथमिकतामा नपरेको महसुस हुन्छ’ उनले भने ।
बैंकले लगानी गरेकै कारण व्यवसायीहरुलाई व्यवसाय गर्न सहज भएको बताउँदै उनले बैंकविरुद्धमा आन्दोलन गरेर अहिलेको समस्या समाधान हुन नसक्ने बताए । ‘बैंककोविरुद्धमा आन्दोलनका कार्यक्रमहरु भएका छन् । मलाई लाग्छ, आन्दोलनबाट मात्र अहिलेको समस्या समाधान हुन सक्दैन । अहिलेको असहज परिस्थितिमा आन्दोलन भन्दा वार्ता, छलफल र सहकार्यबाट यसको सहज समाधान निस्कन सक्छ’ उनले भने ।
प्रतिक्रिया 4