+
+

छोराको आशमा कर्णालीमा फैलँदो भ्रूण हत्या

‘कर्णालीका ग्रामीण भेगमा दुई/तीन वटा छोरी पाउने आमाहरूको दुःखको कुनै लेखाजोखा हुँदैन । परिवारको निर्देशन नमाने वैवाहिक जीवनसमेत प्रभावित हुनसक्ने खतराले पनि छोराको आशमा चुपचाप गर्भपतन गराउन राजी हुन्छन् आमाहरू ।’

यज्ञ खत्री यज्ञ खत्री
२०७९ फागुन २८ गते २२:०१

२८ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एउटा नर्सिङ होममा सरकारका एक कर्मचारीले २०७९ मंसिरमा श्रीमतीको तेस्रो पटक गर्भपतन गराए । गर्भपतन गराउनुको कारण थियो, श्रीमतीको गर्भमा पुनः छोरी नै रहनु ।

ती कर्मचारीका दुई छोरी छन् । त्यसपछि पनि छोरी नै भएपछि उनले लिङ्ग पहिचान गरेर गर्भपतन गराएका हुन् । ‘श्रीमान् र परिवारलाई छोरी चाहिएको छैन । कुल थाम्न पनि एउटा छोरो चाहिन्छ भन्छन् । जति दुःख छ, मलाई नै छ’, ती महिलाले चिकित्सकसँग दुःखेसो पोखेकी थिइन् ।

परिवारको मञ्जुरी बेगर गर्भपतनका लागि आमाहरू यस्ता नर्सिङ होम जान डराउँछन् । तर परिवारको निर्देशन भएमा चुपचाप पालना गर्ने गरेको ती चिकित्सक बताउँछन् । ‘कर्णालीका ग्रामीण भेगमा दुई/तीनवटा छोरी पाउने आमाहरूको दुःखको कुनै लेखाजोखा हुँदैन’ उनले भने, ‘परिवारको निर्देशन नमाने वैवाहिक जीवनसमेत प्रभावित हुनसक्ने खतराले पनि छोराको आशमा चुपचाप गर्भपतन गराउन आमाहरू राजी हुन्छन् ।’

छोरो नजन्माउने आमाले कस्तोसम्म हैरानी खेप्नुपर्छ भन्ने उदाहरण हुन्, पञ्चपुरी नगरपालिका–४ की ३५ वर्षीया भेरी (परिवर्तित नाम) । लगातार तीन छोरीलाई जन्म दिएकी भेरीले त्यसपछि भने तीन पटक गर्भपतन गराउनु पर्‍यो ।

नेपालगञ्ज र भारतका विभिन्न निजी अस्पतालहरूमा पुगेर भ्रूणको लिङ्ग परीक्षण र छोरी भए गर्भपतन गराउने क्रम बढ्दो छ- डा.ललितजंग शाही, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

उनका श्रीमान् आफैं स्वास्थ्यकर्मी हुन् । गर्भ रह्यो कि नर्सिङ होममा लगेर अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइहाल्छन् । भ्रूणको सन्तान छोरी भएको थाहा पाएपछि उनी गर्भ तुहाउन दबाव दिन्छन् ।

‘त्यति गर्दा पनि नभएपछि श्रीमानले अर्की श्रीमती बिहे गरे । अर्कीबाट त झन् बच्चै भएन’ भेरीले अनलाइनखबरसँग भनिन्, ‘पीडाको पहाड बोके, छोरी च्यापेर बसे । भगवानले मेरो दुःख देखेछन् क्यारे, ८ वर्षपछि छोरा जन्मियो । अहिले श्रीमान्, परिवार सबै साथमा छन् । राम्रै छ ।’ कर्णाली प्रदेशका दुर्गम भेगहरूमा गैरकानुनी हुँदाहुँदै पनि बहुविवाह रोकिएको छैन ।

नलगाड नगरपालिका–८, जाजरकोटकी एक ४० वर्षीया महिलाले पनि छोराको चाहनामा पटक–पटक गर्भपतन गराइन् । चार छोरीलाई जन्मदिएकी उनले छोरा जन्माउने चाहनामा लिङ्ग पहिचान गरी छोरी भएको थाहा पाएपछि गर्भपतन गरेकी थिइन् ।

गाउँमा साहुबाट ऋण काढेर सुर्खेतमा गर्भपतन गराएकी उनको झण्डै ज्यान गएन । गर्भपतनपछि अत्यधिक रक्तस्राव हुँदा नेपालगञ्ज लगेर उनको उपचार गरियो । ‘मेरो श्रीमान् एउटै छोरा हुन् । वंश बचाउन छोरा नै चाहिन्छ भन्ने सासू–ससुराको दबाव थियो । सासूको दबावमा श्रीमान्ले पनि छोरा चाहिन्छ भने’ उनले भनिन्, ‘छोराकै आशमा चार छोरी जन्मिए । थप छोरी जन्माएर पनि के गर्नु भनेर गर्भपतन गराएँ । मेरो दुःखको त हिसाबकिताबै छैन ।’

कर्णाली प्रदेशका पहाडी जिल्लाका हुने–खाने महिलाले नेपालगञ्ज र भारतका निजी अस्पतालहरूमा पुगेर भ्रूण पहिचान गर्ने र गर्भपतन गराउने गर्छन् । भारतको रुपैडिया, नेपालगञ्ज र सुर्खेतका केही निजी अस्पताल र नर्सिङ होमहरूमा लिङ्ग पहिचान र गर्भपतन गराउने गरिन्छ । माथिका उदाहरणले पनि यो पुष्टि हुन्छ ।

मुलुकका अन्यत्र झैं कर्णालीका ग्रामीण भेगमा पनि छोराप्रतिको लालसा बढी नै छ । परिणाम, भ्रूणको लिङ्ग परीक्षण गरी छोरी देखिएमा गर्भपतन गराउने प्रवृत्ति आम रूपमा छ । यो क्रम अहिले शहरी क्षेत्रमा पनि बढ्दो छ । भ्रूणको लिङ्ग परीक्षण र छोरी भए गर्भपतन गराउनेहरू भित्रभित्रै बढिरहेको चिकित्सकहरू बताउँछन् ।

‘सामान्यतया यहाँका मान्छेहरू यहीं गर्भपतन गराउँदैनन् । तर, नेपालगञ्ज र भारतका विभिन्न निजी अस्पतालहरूमा पुगेर भ्रूणको लिङ्ग परीक्षण र छोरी भए गर्भपतन गराउने क्रम बढ्दो छ’ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ललितजंग शाही भन्छन् ।

पटक–पटक गर्भपतन गराएर ज्यान जोखिममा परेका कर्णालीका महिला थुप्रै भएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेल बताउँछन् । भ्रूण हत्याको मुख्य कारण छोरीप्रति गरिने परम्परागत विभेद नै रहेको उनको भनाइ छ ।

महिला अधिकारकर्मी तथा आवाज संस्था सुर्खेतकी निर्देशक पवित्रा शाही यसलाई कहालीलाग्दो अवस्था भन्छिन् । उनका अनुसार, छोरा नभए सौता व्यहोर्नुपर्ने, घरपरिवार र समाजबाट अपहेलित हुनुपर्ने लगायत बाध्यताले कर्णालीका महिलाहरूलाई गर्भपतन गर्न बाध्य पार्ने गरेको छ ।

यस बाहेक महिला र बच्चाको स्वास्थ्य अवस्था ख्याल गरेर कानुनतः अनुमति प्राप्त सुरक्षित गर्भपतन गराउनेहरूको संख्या पनि यहाँ बढ्दो छ । कर्णालीमा आर्थिक वर्ष २०७६/७७ मा ५ हजार २३५, २०७७/७८ मा ४ हजार ८८८ र २०७८/७९ मा ४ हजार ८६० जनाले सुरक्षित गर्भपतन गराएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । तथ्यांक अनुसार सुर्खेतमा सबैभन्दा धेरै गर्भपतन गराउने गरिएको छ ।

पितृसत्ताले मार्दैछ छोरी

लिङ्ग पहिचान गरेर गरिने भ्रूण हत्यामा श्रीमान्, परिवार र छोरीलाई विभेद गर्ने समाज दोषी रहेको अधिकारकर्मी शाही बताउँछिन् । उनका अनुसार अहिले पनि महिलाले छोरा नजन्माए घरपरिवार र समाजबाट अपहेलित हुनुपर्छ, तिरस्कृत बन्नुपर्छ ।

छोरो मोह कतिसम्म छ भने, आठविसकोट नगरपालिका–७ की एक महिलालाई चौथो छोरी जन्मिएपछि घरपरिवारले दुहुनु भैंसी बेचेर पाँचौं गर्भको भ्रूण पहिचान गर्न नेपालगञ्ज पुर्‍यायो । छोरी नै देखिएपछि भारतको रुपैडिया लगेर गर्भपतन गराएको उनले सुनाइन् ।

‘छोरो नभए समाजले अपुतो भन्छ । वंश जोगाउन पनि छोरो चाहिन्छ भन्छन्, तर यो पटक जँचाउँदा पनि गर्भमा छोरी रहिछ अनि गर्भपतन गराएर आएँ’, उनले भनिन् ।

अधिकारकर्मी पवित्रा शाही शिक्षित र हुने–खानेले पनि भ्रूण परीक्षण गर्ने र छोरी भए गर्भपतन गराउने गरिरहेको बताउँछिन् । उनको भनाइमा, निरक्षर र गरीबलाई त न त्यसबारे जानकारी हुन्छ न आर्थिक क्षमताले धान्छ ।

‘तर, अलिकति शिक्षित भनेकाहरूले नै हो, भ्रूण पहिचान गरेर गर्भपतन गराउने । न्यून आर्थिक अवस्था भएका र निरक्षरले बरु ६/७ वटा बच्चा जन्माउँछन् । उनीहरूलाई गर्भपतन गराउने बारेमा नै थाहा हुँदैन’ उनले भनिन् ।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउनुको मुख्य कारण समाजको सोच रहेको मानवअधिकारकर्मी टीका विष्टको धारणा छ । ‘गर्भमा छोरा वा छोरी भएकै कारण पतन गर्नु गैरकानूनी र असामाजिक कार्य हो’, विष्ट भन्छिन्, ‘खासमा अधिकांश आमालाई नै छोराको मोह हुन्छ । पितृसत्तात्मक सोच यतिविघ्न हावी छ कि समाजलाई छोरा नभई भएको छैन । अनि आमाहरू पनि छोरा चाहन्छन् ।’

कानुनी रूपमा सुरक्षित गर्भपतनका सम्बन्धमा समाजलाई परामर्श दिनु जरूरी भएको जनाउँदै उनले सरकारले आम व्यक्तिमा छोराछोरी समान रहेको जागरण फैलाउनुपर्ने बताइन् । अधिकारकर्मी विष्ट भन्छिन्, ‘समाजका धेरै विषयसँग लैङ्गकि भेदभाव जोडिन्छ । कुल थाम्न, बुवाआमाको काजक्रिया र श्राद्घ गर्न छोरा नै चाहिने भन्ने संस्कारले समेत धेरैजसो दम्पती छोराको चाहना राख्छन् ।’

अझै छोरीप्रति भेदभावपूर्ण बुझाइ, व्यवहार, संस्कृति, मूल्य र मान्यतामा छोरालाई बढी महत्व दिनुले छोरो–छोरीप्रतिको भेदभावलाई मलजल दिइरहेको उनको बुझाइ छ । कानुनमा छोरा र छोरी बराबर भनिए पनि व्यवहारमा सम्पत्तिको रेखदेख छोराले नै गर्दै आएको उनले बताइन् । विष्ट भन्छिन्, ‘अझै पनि अंश र वंशको मान्यता छोरालाई नै दिइएकोले छोरीहरू गर्भमै मारिइरहेका छन् ।’

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जान सक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।

गर्भपतनले कानुनी मान्यता पाएकै कारण पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या समाजमा बढ्दै गएको छ । तर लिंग पहिचान गरेर गर्भपतन गराउनु स्पष्टतः गैरकानुनी काम हो । तर छोरा जन्माउन रुचि राख्नेहरूले लिंग पहिचान गरेर छोरी भए गर्भपतन गराउने गर्दछन् । यसले लैंगिक विभेद तथा सामाजिक असन्तुलन बढाउने भएकाले सरकारले नियन्त्रणका लागि लिंग पहिचान गर्न निषेध गरेको हो ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?