+
+

प्लाष्टिक जलाउँदै वीरेन्द्रनगर, जनस्वास्थ्यमाथि गम्भीर खेलबाड

यज्ञ खत्री यज्ञ खत्री
२०७९ फागुन २९ गते ७:२२

२९ फागुन, सुर्खेत । गन्हाइरहेको फोहोरको डंगुरमा झिंगा भन्किरहेका छन् । आहाराको खोजीमा रहेका कुकुर र गाईवस्तु त्यहीं झुम्मिएका छन् । त्यही डंगुरछेउमा पुत्पुताइरहेको छ, बाक्लो धुवाँको मुस्लो पनि ।

यो दृश्य हो, वीरेन्द्रनगर-१, तारेभिरमा रहेको ल्याण्डफिल साइटको । वीरेन्द्रनगर शहरको फोहोर यहीं विसर्जन गरिन्छ ।

आइतबार अपरान्ह ४ः३० बजे त्यहाँ पुग्दा कृष्ण रोकाय (३२) प्लाष्टिक जलाउने काममा खटिएका थिए, त्यो पनि विना मास्क र पञ्जा । उनी बिक्री हुने मोटो प्लाष्टिक बटुल्न मसिनो प्लाष्टिक जलाउने शर्तमा खटिएका रहेछन् ।

वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा ‘प्लाष्टिक नजलाऊ’ अभियान चलाएको छ । प्लाष्टिक जलाउनेलाई कारबाही गर्न नगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ । त्यही नगरपालिकाले बजार क्षेत्रमा संकलन भएका प्लाष्टिक ल्याण्डफिल साइटमा लगेर जलाउने गरेको छ ।

पर्यावरण र स्वास्थ्यमा प्रतिकूल असर

फोहोर प्लाष्टिक पर्यावरण र जनस्वास्थ्यको लागि घातक हुन्छ । त्यसलाई जथाभावी जलाउँदा अझ घातक हुने सरसफाइ अभियन्ता डा. नवराज केसी बताउँछन् ।

उनका अनुसार प्लाष्टिक जलाउँदा पोलिक्लोरेनेटेड बाइफिनाइल, डाइओक्सिन, फ्युरानस, मर्किउरी जस्ता हानिकारक ग्याँस वातावरणमा मिसिन्छ ।

वीरेन्द्रनगरको बुद्धपथमा रहेको नेपाल बाल पोली क्लिनिकमा हिउँदमा वर्षा भएपछिका दिनमा दमका बिरामीको चाप बढ्छ । त्यसको प्रमुख कारक जलाइएका प्लाष्टिकजन्य फोहोर नै भएको डा. केसी बताउँछन् ।

‘तारेभिरमा जलाइने प्लाष्टिकको धुवाँ सुर्खेतकै आकाशमा आउँछ र पानी नपरेको बेला चारैतर्फ छरिन्छ’ उनी भन्छन्, ‘पानी परेको भोलि, पर्सिपल्टदेखि सुर्खेतमा दमका बिरामीको संख्या बढ्नुको मुख्य कारण त्यही धुवाँ हो ।’

त्यसो त वीरेन्द्रनगर नगरपालिकाको तारेभिर बेसारेको ल्याण्डफिल साइट नै भद्रगोल छ । निर्माणाधीन ल्याण्डफिल्ड साइट क्षेत्रमा जथाभावी फालिएको फोहोरको कारण वीरेन्द्रनगर-१, धारापानीको माथिल्लो क्षेत्र दुर्गन्धित बनेको छ ।

‘बजारभरिको फोहोर ल्याएर हाम्रो गाउँनजिकै जथाभावी छरिदिने गरेका छन्’ धारापानीकी शीतल आचार्य भन्छिन्, ‘स्वच्छ र शीतल हुनुपर्ने वन (श्रीकृष्ण सामुदायिक)मा घाँस-दाउरा गर्न र गाईवस्तु चराउन जाँदा खपिनसक्नु दुर्गन्ध सहनुपरेको छ ।’

नगरपालिकाले २०७३ यता तारेभिरमा बजार क्षेत्रको फोहोर फाल्न थालेपछि गाउँमा झिंगा र भुसुनाको प्रकोप बढेको अनुभव धारापानीकै इच्छाबहादुर फौजाले सुनाए । उनका अनुसार, धारापानीमा १६० घरधुरी छन् ।

वीरेन्द्रनगर नगरपालिकाको १-१२ वडाको फोहोर तारेभिरको ल्याण्डफिल साइटमा व्यवस्थापन गर्ने भनिएको छ । तर, व्यवस्थापनको नाममा जथाभावी गरिएको धारापानीका धर्मराज पुरी (४७) बताउँछन् । ‘पहिले फाल्न स्वीकृति दिइहाल्यौं, अहिले हामी नै दुर्गन्धमा परेका छौं,’ उनले भने, ‘२०७३ सालयता बालबच्चा बिरामी पर्ने र बूढाबूढीलाई दमको रोग बढ्ने गरेको छ ।’

पुरीका अनुसार, फोहोरले गर्दा पानीका मुहानहरू पनि दूषित बनेका छन् । ‘नगरपालिकाले कुहिरेपानी खोला छेउमा पनि फोहोर फाल्ने गरेको छ’ उनले भने, ‘त्यो पानी गिरीघाटमा रहेको बाढी प्रभावित शिविरका बासिन्दाले खाने गरेका छन् ।’

योजनाबद्ध काम भइरहेको छ : मेयर

वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि बजार क्षेत्रबाट ७ किलोमिटर पश्चिममा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल साइट निर्माण भइरहेको छ । साइटको काम ज्यादै सुस्त छ ।

नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल साइट निर्माणका लागि अझै ३४ करोड स्रोत अपुग रहेको बताउँछन् । पहुँच मार्ग निर्माण तथा स्तरोन्नतिमा तीन करोड रुपैयाँ खर्च गरेको बताउँदै उनी भन्छन्, ‘अपुग स्रोतका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।’

उनका अनुसार, अहिले वीरेन्द्रनगरमा दैनिक १९ टन फोहोर निस्कन्छ । त्यसमध्ये कुहिने ६३ प्रतिशत हुन्छ । यी सबै फोहोर व्यवस्थापन हुनसकेको छैन ।

व्यवस्थापन हुन नसकेको वार्षिक करिब ४ हजार ३२० मेट्रिक टन फोहोरमध्ये केही कुकुर र गाईवस्तुले खाने गरेको पौडेल बताउँछन् । उनका अनुसार, नगरपालिका क्षेत्रमा वार्षिक फोहोर वृद्धिदर ७ प्रतिशत छ ।

वीरेन्द्रनगर वडा ५-१२ को फोहोर व्यवस्थापनको जिम्मा गैरसरकारी संस्था क्लिन नेपालले लिएको छ । बाँकी ४ वटा वडाको फोहोर नगरपालिकाले व्यवस्थापन गरिरहेको छ ।

मेयर मोहनमाया ढकाल फोहोर व्यवस्थापनमा नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताउँछिन् । ‘घर अगाडि फोहोर फाल्ने अनि त्यसैको फोटो खिचेर फेसबुकमा हाल्नेका लागि मात्र काम नभएको होला’, उनले भनिन् ।

अभियन्ताको प्रयास

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरलाई सफा शहर बनाउन विभिन्न संघ-संस्था र व्यक्तिले अभियान थालेका छन् । त्यसमध्येका एक हुन्- डा. नवराज केसी । उनको ‘क्लिन एण्ड ग्रीन सुर्खेत’ अभियानले हरेक शनिबार शहर सफाइ र सचेतना कार्यक्रम गर्दै आएको छ ।

‘हाम्रो साप्ताहिक सफाइ कार्यक्रममा विद्यार्थी, कर्मचारी, व्यापारी, दलका नेता-कार्यकर्ता, सेना, प्रहरी, पत्रकार सबै सरिक हुन आउनुहुन्छ’ डा. केसी भन्छन्, ‘यसबाहेक विद्यालयहरूमा पनि नियमित रूपमा सरसफाइबारे सचेतना कार्यक्रम चलाउँदै आएका छौं ।’

सचेतना अभियान अन्तर्गत वीरेन्द्रनगरका विद्यालयहरूमा प्रशिक्षणका साथै ‘क्लिन क्लब’ गठन गर्ने गरिएको उनले बताए । क्लबका विद्यार्थीले आफ्नो विद्यालयलाई सफा र हरियालीपूर्ण बनाउने काम गर्छन् ।

नगरको फोहोर व्यवस्थापनमा वातावरण सुधार समाज, उद्योग वाणिज्य संघ, जेसिज, लायन्स क्लबलगायत संघ-संस्थाले पनि हातेमालो गरिरहेका छन् ।

यसरी गर्ने व्यवस्थापन

वीरेन्द्रनगर नगरपालिकाले एउटा मात्रै काम गरे समस्या हल हुने अभियन्ता डा. केसी बताउँछन् । ‘रिड्युस, रियुज एण्ड रिसाइकल (थ्री आर)’, अर्थात् स्रोतमै फोहोर कम गर्ने, पुनःप्रयोग र प्रशोधन फोहोर व्यवस्थापनको उत्कृष्ट विधि भएको उनी बताउँछन् ।

उनका अनुसार, घर-घरमै फोहोरलाई कुहिने र नकुहिने छुट्याउँदा शहरमा ६० प्रतिशत फोहोर कम हुन्छ । यसका लागि नगरपालिकाले ३६ टोलमा ३६ क्लिन अफिसर र १२ जना सेक्युरिटी अफिसर तोक्नुपर्ने डा. केसी बताउँछन् ।

‘क्लिन अफिसरले आफ्नो भागको टोलका घरहरूमा फोहोर छुट्याउने विधि सिकाउने र फोहोर निकाल्ने अनि सेक्युरिटी अफिसरले त्यो प्रक्रियाको निगरानी गर्छ’ उनी भन्छन्, ‘त्यसरी पहिलो वर्ष शहरवासी फोहोर व्यवस्थापनमा अभ्यस्त हुन्छन्’ डा. केसी भन्छन्, ‘अर्को वर्षदेखि नगरपालिकाले फोहोर व्यवस्थापनमा धेरै कर्मचारी र बजेट नै छुट्याउनुपर्दैन ।’

अर्का अभियन्ता दीपक गौतम मुख्यतः फोहोर नबुझ्ने राजनीतिकर्मीहरू फोहोर व्यवस्थापनको बाधक बनेको बताउँछन् । ‘हामीलाई चाहिएको व्यावहारिक कार्यक्रम ल्याउनसक्ने नेतृत्व हो, तर स्मार्ट सिटीको गफ दिनेहरूले चुनाव जित्छन्’, उनी भन्छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?