+
+

लिखतसम्बन्धी कसुरमा जसपा बाराका पूर्वअध्यक्ष पटेल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १८:००

३० फागुन, वीरगञ्ज । लिखत सम्बन्धी कसुरमा प्रहरीले जनता समाजवादी पार्टी बाराका पूर्व जिल्ला अध्यक्ष अजयकुमार पटेललाई पक्राउ गरेको छ । परवानीपुर गाउँपालिका वडा नं. ५ निवासी ४५ वर्षीय पटेललाई मोही नभएको जग्गामा मोही छु भन्ने किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोको टोली सीआईबीमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी नायब उपरीक्षक बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । मोहि नभएको जग्गामा मोही छु भनी झुठो कागजात तयार गरी पटेल विरुद्ध सीआईबीमा उजुरी परेको उनको भनाइ छ ।

‘३० औं वर्षदेखि जग्गा कमाएको भनेका छन, कागजात केहि रहेनछ’, उनले भने, ‘जग्गा धनीले मोही हैन भनेर सीआईबीमा उजुरी दिएको रहेछ । सीआईबीको आग्रहमा अदालतबाट अनुमति लिएर अजय पटेललाई पक्राउ गरेका हौं ।’

उनले करिब १० बिघा जग्गामा मोही छु भनी किर्ते गरेको आरोप लागेको प्रहरीले जनाएको छ । साविक बहुअरी गा. वि. स. वडा नं.६ कि.नं.४१ ज.बि.५–१९–१५ को जग्गा २०२२ सालदेखि नै जिल्ला काठमाडौं वडा नं. ५ बस्ने विजयमणि आचार्य दिक्षितको नाममा दर्ता रहेको देखिएको छ ।

उक्त जग्गा कित्ता काट भइ कायम भएको कि.नं.२५२ ज. वि. ५–६ १४ जग्गा मालपोत कार्यालय, बाराबाट २०७९ वैशाख २६ गते राजीनामा लिखत पास भइ शिरोम इन्भेष्टमेन्ट प्रा.लि., काठमाडौंको नाममा प्राप्त भएको देखिएको छ । मोही नभएको साविक जग्गामा प्रतिवादी अजयकुमार पटेलले बाबुको नामबाट किर्ते कागजात तयार गरी भूमिसुधार कार्यालयमा रहेको अभिलेखमा घुसाइ मोही देखाइ किर्ते गरेको आरोप लागेको हो ।

लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका उनलाई बारा जिल्ला अदालतबाट अनुमती लिइ खोजतलास गर्ने क्रममा सोमबार प्रहरीले पक्राउ गरेको थियो । लिखत सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?