+
+

घृणा र हिंसा फैलाउने प्रयोगकर्तामाथिको प्रतिबन्ध ट्वीटरले कसरी गर्‍यो फुकुवा ?

एजेन्सी एजेन्सी
२०७९ चैत १ गते ६:२४

ट्वीटरले फुकुवा गरेका मध्ये सयौं अकाउन्टहरुले गलत सूचना फैलाइरहेको तथा गलत व्यवहार गरिरहेको तथ्य फेला परेको छ । बीबीसीले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

बीबीसीले ट्वीटरद्वारा प्रतिबन्धित ११ सय भन्दा धेरै ट्वीटर अकाउन्टको विश्लेषण गरेको थियो । एलन मस्कले ट्वीटर खरिद गरेसँगै ती अकाउन्टहरू माथिको प्रतिबन्ध हटाइएको थियो ।

बीबीसीले ती मध्ये एक तिहाइ भन्दा धेरै अकाउन्टहरुमा पोस्ट गरिएका आपत्तिजनक सामग्री फेला पारेको छ ।

एलन मस्कले आफू वाक स्वतन्त्रता निरपेक्षतावादी रहेको बताउने गरेका छन् । नोभेम्बरमा उनले कानून उल्लंघन नगरेका वा कुनै गम्भीर स्पाममा सामेल नभएका त्यस्ता प्रतिबन्धित अकाउन्टहरुका लागि आम माफीको घोषणा गरेका थिए ।

नश्ल, यौनिक झुकाव तथा लैंगिक आधारमा अरुप्रति हिंसा तथा प्रत्यक्ष आक्रमण र खतराका साथै जुन सामग्रीहरु नकारात्मक वा हानिकारक रुढीवादलाई बढावा दिने गर्दछन् त्यस्ता सामग्रीलाई ट्वीटरले रोक लगाउने गर्दछ ।

साथै ट्वीटरले बाल यौन शोषणलाई दर्शाउने वा बढावा दिने कुनै पनि सामग्रीप्रति शून्य सहनशीलताको नीति अबलम्बन गर्ने गर्दछ ।

यद्यपि बीबीसीको अध्ययनले प्रतिबन्ध फुकुवा गरिएकामध्ये केही अकाउन्टले उल्लेखित नियमहरुको उल्लंघन गरेको देखिएको हो ।

एलन मस्कले ट्वीटर खरिद गरेको हिलो दिनदेखि गत जनवरी १० सम्ममा फुकुवा गरिएका मध्ये बीबीसीले १० हजारभन्दा धेरै फलोअर भएका ११ सयवटा अकाउन्टमाथि अध्ययन गरेको थियो ।

आखिर गोपनीयता तथा सामाजिक कानूनको नीतिमा सख्त रहेको ट्वीटरले नियम उल्लंघन गरेका त्यस्ता अकाउन्टमाथिको प्रतिबन्ध किन फुकुवा गर्‍यो त ?

घृणाका केही अनुहार !

बीबीसीको अध्ययनका क्रममा कतिपय यस्ता अकाउन्टहरु पनि पाइए जसको विगत महिला विरोधी टिप्पणी गर्ने थियो ।

त्यसमध्ये एकजना अनलाइन सेलिब्रेटी एन्ड्रयू टेटको अकाउन्ट हो । उनी हाल रोमानियामा मानव तस्करी तथा बलात्कारको जाँचका क्रममा हिरासतमा छन् । बलात्कारको केही जिम्मेवारी महिलाहरुले पनि लिनुपर्ने टिप्पणी उनले ट्वीटरमा गरेका थिए ।

ट्वीटरमा पुनः फिर्तिसँगै उनका ट्वीटरका फलोअरको संख्या बढेको छ । गत नोभेम्बरमा डेढ लाख फलोअर्स रहेकोमा अहिले त्यो ५० लाख पुगेको छ ।

महिलाप्रति घृणा फैलाउने प्रयोगकर्तामध्ये एकजनाले चाहिँ आफूले महिलामाथि कुटपिट गर्न चाहँदा सजिलै सक्ने बताएका थिए भने अर्का प्रयोगकर्ताले ट्वीटरमा फिर्ता भएसँगै बलात्कारको चित्रण गर्दै एक भिडियो पोस्ट गरेका थिए । त्यस्तै कतिपयले तेश्रोलिंगी समुदायलाई पटक पटक लक्षित गरेका थिए ।

साथै बाल यौन शोषणलाई दर्शाउने २ वटा अकाउन्ट पनि फुकुवा भएका थिए । बीबीसीले जानकारी गराएसँगै ट्वीटरले ती मध्ये एउटा अकाउन्ट पुनः निलम्बन गरिदियो भने अर्कोमा रहेको तस्वीर हटाइदियो ।

सेन्टर फर काउन्टरिङ डिजिटल हेट नामक संस्थाका इमरान अहमदका अनुसार मस्कको आगमन पश्चात् उनको संगठनमा महिला तथा तेश्रो लिंगी समुदायप्रति घृणा दर्शाउने शब्दमा वृद्धि भएको र त्यो सँगै नश्लवादी गाली पनि आउने गरेका छन् ।

ट्वीटरमा निलम्बित सबै अकाउन्टलाई समीक्षा बिना नै बहाल गर्ने निर्णय गरेर मस्कले आगोको नली खोलिदिएको र त्यसले घृणा तथा गलत सूचनाको प्रसारलाई अनुमति दिने इमरानको भनाइ छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?