+
+

बेनी-जोमसोम-कोरोला सडकखण्डमा ७० प्रतिशत काम सम्पन्न

रासस रासस
२०७९ चैत १ गते १६:४५

१ चैत, मुस्ताङ । बहुचर्चित बेनी–जोमसोम– कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी– पार्वती/कोषी एन्ड न्यौपाने जेभीले सो काम सम्पन्न गरेको हो ।

मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुल जोड्नका लागि हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भण्डारीले बताए । उनले सरोकारवाला निकायले चासोका साथ सहयोग गरिरहेको बताए ।

उनले भने, ‘कालोपत्रको काम सक्ने बित्तिकै जोमसोम एयरपोर्टदेखि एक किलोमिटर ढलानको कामसमेत सुरु गर्नेछौँ।’ प्राविधिक रुपमा समस्या नआएमा असार मसान्तसम्म कालोपत्रसँगसँगै अन्य महत्वपूर्ण कामहरुसमेत सकाउने उनले बताए । काम सुरु भएको दिनदेखि नै स्थानीय निकाय, प्रशासन, स्थानीयवासी र आम सरोकारवाला निकायको भरपुर साथ र हौसला पाएको उनको जिकिर छ ।

चार नं प्याकेजअन्तर्गत १७ किलोमिटर सडक सम्पन्न गर्न हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको बेनी– जोमसोम– कोरोला सडक आयोजनाले जनाएको छ । हाल भइरहेको काम कालोपत्र र सडक ढलानको हो ।

यसमा १६ किलोमिटर अस्पताल पेमेण्ड कालोपत्र र एक किलोमिटर आरसिसी (रिजिट पेमेण्ड ढलान)गरिने बेनी– जोमसोम–कोरोला सडक आयोजनाका सब–इन्जिनियर तुलबहादुर गुरुङले बताए ।

उनको अनुसार कालोपत्र सम्पन्न गर्नका लागि रु ७० करोड ५२ लाख ५७ हजार लागत लाग्नेछ । चार नं प्याकेज (ठेक्का नं–४) मा हुन लागेको उक्त कालोपत्रको काम समयमै सकाउनका लागि आफू र आयोजनाको टिम लागिपरेको बताए । उनले भने, ‘सधैँभरि सडकलाई दोष दिएर मात्र हुँदैन, जिल्लाका नियमनकारी निकाय, राजनैतिक दल, सरोकारवाला निकाय र सम्बन्धित स्थानका जनप्रतिनिधिले चासो दिनुपर्छ।’

२०७३ साल चैत १ गतेदेखि सुरु भएको बहुचर्चित बेनी– जोमसोम–कोरोला सडक कठिन भू–बनोटका कारण पनि समयमै सकिननसकेको हो । म्याग्दीको बेनीदेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घासा पुछार अर्थात् काभ्रे भिर र घोप्टे भिरसम्म कठिन भू–बनोटकै कारण सडक निर्माण कार्य ढिलाइ भइरहेको छ ।

यद्यपि, मुस्ताङको घासादेखि जोमसोमसम्म सडक निर्माण कार्यले भने तीव्रता पाएको छ । विगत केही वर्षयता कोभिड–१९ र बाढी पहिराका कारण काममा ढिलाइ भइरहेकाले गर्दा पनि मुस्ताङका जनतामा निराशापन छाएको थियो ।

सडक स्तरवृद्धि र कालोपत्रको काममा ढिलाइ अनि म्याद थप जस्ता अन्य धेरै कुराले गर्दा आम मुस्ताङवासीलाई दुःखी बनाएको थियो । अब भने सबै तह र तप्काका सरोकारवाला निकायले चासो दिँदा कामले गति लिएको छ ।

यसैबीच, मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका वडाअध्यक्ष सुरेश थकालीले म्याद थप मात्रै गरिरहने तर काममा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनुभयो । उनले भने, ‘यदि कसैले विकासको काममा अवरोध गर्छ भने त्यसलाई पनि हदैसम्मको कारबाही गर्नेछौँ।’

बेनीदेखि कोरोला नाकासम्म सात खण्डमा भइरहेको काममध्ये हाल भइरहेको ३ नं प्याकेज शर्मा गजरमुखी जेबी र ४ नं प्याकेज गौरी–पार्वती÷ कोषी एन्ड न्यौपाने जेबीले पनि आफ्नो जिम्माको काम जारी राखेको वडाअध्यक्ष थकालीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?