+
+

तीन वर्षदेखि बन्द पुल्चोक स्ववियुको चाबी कसले खोल्ला ?

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७९ चैत १ गते १९:३४

१ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघका उम्मेदवार नारायण काफ्ले २०४९ सालको स्ववियु निर्वाचनमा सभापतिमा विजयी हुनुअघिसम्म पुल्चोक क्याम्पस कम्युनिष्टहरूको गढ थियो । त्यसपछि भने यहाँ मिश्रित परिणाम आउने गरेको थियो ।

२०४९ अघि पुल्चोक क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका भरत पहारी निर्वाचित भएका थिए । २०६५ मा अनेरास्ववियुका प्रकाश सापकोटा र २०६३ मा नेपाल विद्यार्थी संघका जनकराज जोशी स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

२०७३ को स्ववियु चुनावमा पुल्चोक क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट रोशन थापा मगर विजयी बने । उनले तीन वर्षे कार्यकाल पूरा गरेपछि विगत तीन वर्षदेखि यहाँको स्ववियु कार्यालयमा ताला लागेको छ ।

धुलैधुलोले ढाकिएको र चराहरूले विष्ट्याएको पुल्चोक क्याम्पस स्ववियुको ढोका खोल्न आगामी चैत ५ गते हुने निर्वाचनमा अध्यक्षका लागि ६ जना भिड्दैछन् । उम्मेदवारी सात जनाको परे पनि जनमत पार्टीको भ्रातृ संगठन विद्यार्थी जनमत संघले अखिल क्रान्तिकारीलाई सघाउने निर्णय गरेको छ ।

छानिएकाबाट छानिंदै

पुल्चोक क्याम्पसमा अध्ययन गर्न हरेक वर्ष प्रवेश परीक्षामा सहभागी झण्डै १४ हजार विद्यार्थीमध्येबाट ५०० देखि ६०० विद्यार्थी छानिन्छन् । यसरी छानिएका २ हजार ६९९ विद्यार्थीले यसपटक पुल्चोक क्याम्पस स्ववियुमा १९ जनाको कार्यसमिति छान्दैछन् ।

आगामी चैत ५ गते हुने निर्वाचनबाट अध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना प्रत्यक्ष र ९ जना समानुपातिक मतबाट गरी १९ जनाको कार्यसमिति चयन हुनेछ ।

स्ववियु अध्यक्षमा यसपटक पाँच भ्रातृ संगठन र दुई स्वतन्त्र गरी सात जनाले उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट शंकर पन्थी, अनेरास्ववियु (क्रान्तिकारी) बाट अजयकुमार मण्डल, अनेरास्ववियुबाट विराज अर्याल, एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट स्वयम् ढकाल, विद्यार्थी जनमत संघबाट सुमितकुमार यादव र दुई स्वतन्त्र उम्मेदवार नविन खनाल र युरिका बनले उम्मेदवारी दिएका छन् ।

जनमत संघले भने अखिल क्रान्तिकारीलाई सघाउने निर्णय गरे पनि उम्मेदवारी फिर्ताको समय गुज्रिइसकेकोले चुनावी मैदानमा सात प्रत्यासीको भिडन्त हुनेछ ।

गठबन्धन भत्काएर मित्रवत् प्रतिस्पर्धा

सत्ता गठबन्धन निकट विद्यार्थी भ्रातृ संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि गठबन्धन गर्ने निर्णय गरेसँगै पुल्चोक क्याम्पस स्ववियु अध्यक्ष अखिल (क्रान्तिकारी)को भागमा पर्‍यो । अघिल्लो निर्वाचनमा अखिल (क्रान्तिकारी)ले चुनाव जितेकोले भागबण्डामा अध्यक्ष उसैले पाएको हो ।

केन्द्रको यो निर्णयबाट नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइ समितिमा विवाद बढ्यो । स्ववियु चुनावको उम्मेदवारी मनोनयनको दिन पुल्चोक क्याम्पसमा नेविसंघभित्र साँझसम्मै विवाद भइरह्यो ।

सचिव पदमा केन्द्रबाटै रविन लम्सालको नाम आएकाले पनि विवाद थप बढ्यो । केन्द्रको निर्णय नमानेर क्याम्पस इकाइबाट सिंगो प्यानल नै मनोनयन दर्ता गरियो । केन्द्रको सिफारिसमा आएको लम्सालको ठाउँमा सागर शर्मा सचिवको उम्मेदवार बने भने शंकर पन्थी अध्यक्षको ।

केन्द्र र क्याम्पस इकाइबीचको असमझदारी र केन्द्रको निर्णय लागु गराउन नसकेपछि सोही दिन क्याम्पस इकाइ समितिका अध्यक्ष रमेश केसीले जिम्मेवारीबाट राजीनामा दिए । ‘चुनावको दिन घट्नसक्ने घटना र परिणामको जिम्मेवारी लिन नसक्ने भएर मैले राजीनामा दिएँ, तर केन्द्रबाट स्वीकृत भइसकेको छैन’, केसी भन्छन् ।

यद्यपि नेविसंघबाट अध्यक्षका उम्मेदवार शंकर पन्थी भने गठबन्धनभित्रकै दलहरुको सहमतिमा आफूहरुले उम्मेदवारी दिएको बताउँछन् । पन्थीको कुरा स्वीकार्छन् पुल्चोक क्याम्पसका पूर्व स्ववियु सभापति तथा अखिल (क्रान्तिकारी)का नेता रोशन थापामगर ।

‘राजनीतिक पार्टीहरूबीच गठबन्धन भएकै आधारमा क्याम्पसहरूमा गठबन्धन बनाउन आवश्यक छैन’ उनी भन्छन्, ‘विद्यार्थी नेताहरू पार्टीमुखी र अझ झोले भएको आरोप लागिरहेको बेला हामीले मित्रवत प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ र हामी प्रतिस्पर्धाको तयारीमा छौं ।’

कतिपय क्याम्पसमा स्ववियु केन्द्रित झडपहरू भइरहेका छन्, तर पुल्चोक क्याम्पसमा साँच्चिकै मित्रवत प्रतिस्पर्धा देखिन्छ । उम्मेदवारी मनोनयनको दिन नेविसंघभत्रिको आन्तरिक किचलोले पैदा गरेको केही अशान्त परिस्थिति छाड्ने हो भने फरक संगठनबीच भने सौहार्दपूर्ण वातावरणमा प्रतिस्पर्धा भएकोमा विद्यार्थी नेताहरू जुटिरहेका छन् ।

‘देशभरिका प्रतिभाशाली विद्यार्थी पनि विभिन्न तहको छनौट प्रक्रियाबाट आइपुगेका विद्यार्थीहरुबीच अस्वभाविक गतिविधि नहुने अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार विराज अर्याल बताउँछन् । ‘अन्य क्याम्पसमा जस्तो बढी आर्थिक चलखेल छैन । भोट किनबेच न्यून हुन्छ’, उनी भन्छन्, ‘सामाजिक सञ्जालबाट चुनाव प्रचार प्रसार भइरहेको छ । हरेक विद्यार्थीलाई भेटेर मत मागिरहेका छौं, नाराबाजी र वालपेन्टिङ छैन ।’

सबै उम्मेदवारलाई एक ठाउँमा राखेर एजेण्डामा आधारित बहस गराउने ‘सार्वजनिक बहस’ भने परीक्षाका कारण रोकिएको उनले जानकारी दिए । स्ववियु पूर्वसभापति थापामगर पनि पुल्चोक क्याम्पसमा स्वच्छ र मैत्री प्रतिस्पर्धा हुने बताउँछन् । ‘हद गरे भने विद्यार्थीलाई पुस्तक र पाठ्य सामग्रीहरु दिने काम होला, तर आर्थिक चलखेल र भोट किनबेच यहाँ चल्दैन’, थापामगर भन्छन् ।

अखिल (क्रान्तिकारी)को आत्मविश्वास

केन्द्रबाट आफ्नो संगठनको पक्षमा भएको निर्णय पन्छाएर क्याम्पस इकाइहरुले स्वायत्तता पाउनुपर्ने अडानसहित एक्लै प्रतिस्पर्धा गर्न तयार हुनुका पछाडि अखिल क्रान्तिकारीको बलियो आत्मविश्वास देखिन्छ । अखिल क्रान्तिकारीलाई मधेशी जनमत संघले सघाउने भएको छ ।

गत निर्वाचनमा थापामगरले अनेरास्ववियुका सुदीप चालिसेलाई ६२ मतान्तरले पराजित गरेका थिए । सचिव र कोषाध्यक्षमा भने अनेरास्ववियुका क्रमशः ओम अधिकारी र प्रतीक न्यौपाने विजयी भएका थिए ।

चुनावमा एक्लै प्रतिस्पर्धाको तयारी गरिरहेको अखिल क्रान्तिकारीले यसअघिको जितसँगै गरेका कामहरुको फेहरिस्त विद्यार्थीबीच पुर्‍याइरहेको छ । नयाँ मतदाता के चाहन्छन्, बदलिएको सन्दर्भमा विद्यार्थीको आवश्यकता के हो, थाहा पाउन क्रान्तिकारीले क्याम्पसका विद्यार्थीबीच एउटा सर्वेक्षण नै गराएको पूर्वसभापति थापामगर बताउँछन् ।

विद्यार्थीको चाहनाअनुसार क्याम्पसको शैक्षिक वातावरणलाई १.० बाट २.० भर्सनमा अद्यावधिक गर्ने लक्ष्यसहित अखिल क्रान्तिकारीले चुनावी एजेन्डा बनाएको छ । ‘समग्र शैक्षिक वातावरणमा सुधार गर्न छात्रवास, पुस्तकालय, प्रयोगशालादेखि पाठ्यक्रम सुधारको एजेण्डा अगाडि सारेका छौं,’ थापामगरले भने, ‘विश्वविद्यालय र उद्योग (बजार) बीचका ‘ग्याप’ कम गर्न नयाँ सिकाइ व्यवस्थापन प्रणाली विकास गर्ने एजेन्डा अगाडि सारेका छौं ।’

पूर्वसभापति रोशन थापामगर

विद्यार्थी, शिक्षक र प्रशासनबीचको संवाद र अन्तरक्रिया बढाउन ‘प्रोग्राम ट्र्याकिङ र फिडब्याक लुप’को अवधारणा अगाडि सारेको उनले बताए । स्ववियुमा जान संगठनभित्र अत्यधिक सदस्यहरुले रुचि देखाएपछि एजेन्डासहित बहस र निर्वाचन गर्दै आन्तरिक लोकतन्त्रलाई सुनिश्चित गरिएको थियो ।

अरुको भन्दा समावेशी उम्मेदवारको टिम, अघिल्लो कार्यकालको काम र विद्यार्थीकै एजेन्डा उठाउनु आफ्नो जितको आधार रहेको उनको दाबी छ ।

अलमलमा नेविसंघ

संगठनात्मक अवस्था बलियै भए पनि नेविसंघभित्र आन्तरिक विवाद देखिएको छ । इकाइ अध्यक्ष केसीले उम्मेदवारी मनोनयनकै दिन राजीनामा दिए पनि नेविसंघको तर्फबाट छुट्टै प्यानल दर्ता भएको छ जसअनुसार अध्यक्षमा शंकर पन्थी र सचिवमा सागर शर्मा उम्मेदवार बनेका छन् ।

२०७६ सालदेखि विद्यार्थीका २३ बुँदे माग उठाउँदै इन्जिनियरिङ अध्ययन संस्थान सुधारको नेतृत्व गर्दै आएकोले विद्यार्थीले नेविसंघका उम्मेदवारलाई जिताउने पन्थी जिकिर गर्छन् । ‘हामी निरन्तर विद्यार्थीको पक्षमा बोल्दै आएका छौं, २३ बुँदे मागमध्ये केही पूरा गराउन सफल भएका छौं,’ उनी भन्छन्, ‘यही कामको आधारमा हामी विद्यार्थीको छनौटमा पर्छौं र विजयी हुन्छौं ।’

सुरुमा केही विवाद भए पनि अन्ततः संगठनभित्र एकता कायम भइसकेको पन्थीको जिकिर छ । ‘हाम्रो संगठनभित्र बुझाइमा एकरुपता कायम भइसकेको छ, हामी एकताका साथ चुनावमा होमिएका छौं र नतिजा हाम्रो पक्षमा बनाउँछौं,’ उनले भने ।

अनेरास्ववियुलाई अनुकूलता

यता अनेरास्ववियु पुल्चोक क्यापस ईकाईका अध्यक्ष तथा स्ववियु अध्यक्षका उम्मेदवार विराज अर्याल अघिल्लो कार्यकाल सचिव र कोषाध्यक्षमा संगठनको जितलाई यसपटक सिंगो प्यानलमै विजयमा बदल्ने बताउँछन् ।

अन्य क्याम्पसमा जस्तो सत्ता गठबन्धनको प्रभाव यहाँ नदेखिएकाले अनेरास्ववियुको लागि अनुकूलता रहेको उनको आकलन छ । ‘हामी शैक्षिक सुधारको एजेन्डा लिएर चुनावमा जाँदैछौं, अध्ययन कक्ष बनाउनेदेखि पुस्तकालय, छात्रबास, शौचालय र बाथरुम सुधारसम्मको एजेण्डा समेटेका छौं,’ अर्याल भन्छन् ।

शैक्षिक मूल्यांकन प्रणाली धेरै पुरानो भइसकेकोले यसको समयानुकूल सुधारलाई पनि अनेरास्ववियुले मुद्दा बनाएको छ । ‘हामी स्ववियुमा रहेको र नरहेको दुवै अवस्थामा निरन्तर शैक्षिक मुद्दा उठाउँदै आएका छौं,’ उनी भन्छन्, ‘२०७३ सालमा क्रान्तिकारीले जितेपनि हामी २०६५ को हाम्रो विजयको विरासत फर्काउन चाहन्छौं र सक्छौं पनि ।’

चैत्र १५ गतेदेखि इन्जिनियरिङ संस्थानभित्र सेमेस्टर परीक्षा सुरु हुन लागेकोले मतदानमा विद्यार्थी सहभागिता घट्न सक्ने संभावना पनि उत्तिकै रहेको अर्यालको बुझाई छ । ‘६ वर्षपछि भएको चुनावमा विद्यार्थीको आकर्षण बढाउन हामी मेहनत गरिरहेका छौं, २ हजारदेखि २२ सय मत खस्ने अनुमान गरेका छौं ।’

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूबाट अध्यक्षका उम्मेदवार स्वयं ढकाल पुल्चोक म्युजिक क्लबका अध्यक्ष हुन् । अध्ययनका अतिरिक्त गीत संगीतमा रुचि राख्ने ढकाल पुल्चोक क्याम्पसभित्र सिर्जनात्मक र समृद्ध वातावरण बनाउने एजेन्डा बोकेर चुनावी मैदानमा छन् ।

गीत-संगीतको माध्यमबाट विद्यार्थीमाझ बनाएको परिचयलाई मतमा बदल्न प्रयासरत ढकालको सांगठनिक ब्याकअप भने कमजोर छ ।

स्वतन्त्रको आफ्नै दाउ

अध्यक्षमा स्वतन्त्र उम्मेदवार युरिका बन छात्रा अधिकारका लागि विगत पाँच वर्षदेखि सामाजिक आन्दोलनमा सक्रिय छन् । महिला अधिकारको पक्षमा पीडितलाई न्याय माग्दै उनले धेरै आन्दोलनहरूको नेतृत्व गर्दै आएकी छन् ।

क्याम्पसभित्र शैक्षिक माहोल बनाउन विभिन्न सुधारका योजना अगाडि सार्दै स्वतन्त्र उम्मेदवारी दिएकी बन भन्छिन्, ‘अहिले स्वतन्त्रको पक्षमा माहौल छ, साथै मैले अगाडि सारेका शैक्षिक सुधारका एजेन्डाहरु विद्यार्थीले रुचाएका छन् ।’

‘स्वतन्त्र स्ववियु, समृद्ध पुल्चोक’ नारा दिएर स्वतन्त्रबाट सभापतिका उम्मेदवार बनेका नविन खनाल शैक्षिक सुधार, डिजिटल पुल्चोक, पूर्वाधार पुनर्निर्माणको एजेण्डा अगाडि सारेका छन् ।

‘हजारौंबाट चुनिएर आएका केही सीमित प्रतिभावान विद्यार्थी पढ्ने क्याम्पसमा अनेकौं समस्या छन् । शिक्षा, शिक्षक, विद्यार्थी, व्यवस्थापन र शैक्षिक प्रणालीमै समस्या देखियो’ खनाल एक भिडियो सन्देशमा भन्छन्, ’यसैलाई समाधान गर्न मैले सभापतिमा उम्मेदवारी दिएको हुँ, सबैसँग मिलेर पुल्चोक क्याम्पसलाई उत्कृष्ट बनाउन काम गर्छु ।’

दुवै स्वतन्त्र उम्मेदवार दलप्रतिको वितृष्णा पोख्नेहरूको मत पाउने विश्वासमा छन् ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?