+
+

त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव ९ चैतमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १४:५६

२ चैत, काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ ।

बिद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण निर्वाचन तालिका प्रभावित भएको थियो । निर्वाचन अधिकृत राजेन्द्र गौतमले नयाँ चैत ९ गते चुनाव गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् ।

जहाँ मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने उल्लेख छ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ । ५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारहरुउपर दावी विरोधका लागि समय दिइएको छ । ७ गते प्रचारप्रसारका लागि समय दिने तय भएको छ ।

७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ ।

यहाँ मतदाता विद्यार्थीको नाममा विवाद भएका कारण त्रिविले तोकेको ५ चैतमा चुनाव हुन नसकेको हो ।

भर्ना नभएका र पुराना विद्यार्थीलाई समेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीले विरोध गरेका थिए ।

तर स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै कांग्रेसको विद्यार्थी संगठन नेविसंघले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षका कुर्सी÷टेबल तोडफोड गरेको थियो ।

विद्यार्थीहरूले क्याम्पस प्रमुख प्रा.डा. सुनिल अधिकारीको कुर्सी र नेम प्लेट नै गेटमा राखेर प्रदर्शन गरे । जहाँ ‘क्याम्पस प्रमुख हराएको सूचना, निर्वाचन अधिकृत खोइ ? लगायतका प्रश्नहरु लेखेर टाँसिएका थिए ।

क्याम्पस प्रशासन र कांग्रेस निकट विद्यार्थी संगठनको मिलेमतोमा फागुन ४ गते फर्जी भर्ना गराइएको आरोप एमाले र माओवादी निकट विद्यार्थी संगठनको छ ।

क्याम्पसका साहायक प्रमुख शिवकुमार महतोका अनुसार विद्यार्थी संगठनहरुसँगको समझदारीमै नयाँ तालिका तय गरिएको हो । उनी भन्छन्, ‘नियम अनुसार भर्ना भएकाहरु मतदाता नामावलीमा कायम रहने र नियम भन्दा बाहिर गएर भएकाहरुलाई हटाउने सहमति भएअनुसार नै नयाँ तालिका सार्वजनिक गरिएको हो ।’

क्याम्पस प्रशासन स्रोतका अनुसार साढे ८ हजार विद्यार्थी छन् । त्यसमध्ये साढे ७ हजार बढी मतदाता रहने कायम रहनेछन् ।

यो क्याम्पसमा विगतमा नेविसंघको प्रभाव रहँदै आएको छ । यसपटक पनि नेविसंघको प्रभाव ज्यादा रहेको अन्य संगठनहरु पनि स्वीकार गर्छन् । तर, कांग्रेसमा दुई धार छ । कांग्रेस संस्थापन पक्षबाट बिपिन ढुंगाना आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै गतिविधि सञ्चालन गरिरहेका छन् । संस्थापन इतर पक्षबाट सुमन बसौला छन् ।

एमालेको अनेरास्ववियुबाट जगतजंग शाही, माओवादी केन्द्रको अखिल क्रान्तिकारीबाट अशोक भण्डारी र नेकपा एकीकृत समाजवादीबाट विकासजंग शाही अध्यक्षका दाबेदार छन् ।

अखिल क्रान्तिकारीका भण्डारीले आफ्नो संगठन हरसम्भव चुनाव गराउन लागिरहे पनि अन्य संगठनले बखेडा झिकेको आरोप लगाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?