+
+

कानुनका विद्यार्थीसँग ओली : पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १६:१७

२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताएका छन् । आइतबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीसँगको छलफलमा उनले कानुनको इतिहासमा गलत पढाइएको बताए ।

‘तपाईंहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन्’ उनले भने ।

१९९७ सालमा जुद्धशमशेरले दुईवटा शनद जारी गरेको र त्यसमध्ये कानुनी शनदको आधारमा पहिलो अदालत गठन भएको ओलीले बताए । ‘त्यतिबेला प्रधानन्यायाधीश भनिएको थिएन । न्यायाधीश जर्नेल भनिएको थियो’ उनले भने, ‘त्यो पदमा आन्तरिक प्रतिस्पर्धा राणाहरुको बीचमा भएको थियो । मोहनशमशेर र जुद्धशमशेरका छोराबीच प्रतिस्पर्धा भएको थियो । सम्भवत: जुद्धशमशेरको माइलो छोरा थिए । उनी नेपालको पहिलो प्रधानन्यायाधीश भएका थिए ।’ उनले जुद्धशमशेरको छोराको नाम भने लिएनन् ।

कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उनी भारतीय नागरिक थिए । ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउन संविधान संशाेधन गरिएको बताए । ‘विदेशी नागरिकलाई देशको न्यायालय प्रमुख बनाउने कुरा संवैधानिक हुनै सक्दैन तर भयो । किनकि उहाँ दार्जीलिङमा हुँदा बीपी कोइरालासँग घनिष्ठता बढेको थियो’ ओलीले भने ।

ओलीले नेपालको पहिलो संविधान पनि २००४ सालको नेपाल सरकार वैधानिक कानुन नभई अर्कै रहेको बताए । उनले जुद्धशमशेरले १९९७ सालमा जारी गरेको शनद नै नेपालको पहिलो संविधान भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?