+
+

बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…

रासस रासस
२०७९ चैत ४ गते १८:०९

४ चैत, महेन्द्रनगर । परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन ।

पूर्ख्यौली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका हुन् । विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन् ।

‘घरबाट २०३८ सालमा निस्कदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गर्थ्यो भन्ने सुनिएको थियो’, चार दाजुभाइमध्येका जेठा रामदत्तले भने, ‘माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो ।’

बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए । तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए ।

‘आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन्’, उनले भने, ‘मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ ।’ बैंग्लोरमा कार्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन् । ‘परमानन्द र हरिबीच पुर्ख्यौली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो’, रामदत्तले भने, ‘यसअघि भारतका धेरै ठाउँ तथा काठमाडौंसम्म खोज्दा पत्ता लागेको थिएन ।’

भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटोसमेत पठाइदिएको उनी बताउँछन् । ‘बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजुभाइको सल्लाह भयो’ रामदत्त भन्छन्, ‘बुबा/आमाको हालखबर सोध्थ्यो, मैले निधन भइसकेको सुनाएँ ।’

मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो । ‘भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ’, रामदत्तले भने, ‘ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?