+
+

बैशाख १ देखि चितवनमा पनि प्याराग्लाइडिङ

चौकीडाँडामा रिसोर्ट बनाउने योजना

सुवास पण्डित सुवास पण्डित
२०७९ चैत ५ गते १०:३१

५ चैत, चितवन । सफारी पर्यटनमा चिरपरिचित चितवनमा अब प्याराग्लाइडिङ उडान हुने भएको छ । हवाई साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ आगामी बैशाख १ गतेबाट सुरु गर्ने गरी तयारी अगाडि बढाइएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडा र कविलासबाट प्याराग्लाइडिङ उडानको सफल परीक्षण भैसकेको छ ।

बैशाखबाट व्यावसायिक उडान गर्ने गरी हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले पर्यटन विभागबाट अनुमति लिइसकेको छ । चौकीडाँडामा रिसोर्ट र प्याराग्लाडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ ।

कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘आइटम’का रुपमा रहेको प्याराग्लाइडिङ थप हुने बताए । चितवनमा प्याराग्लाइडिङ गर्न अनुमति पाउने यो पहिलो कम्पनी हो ।

प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विगाहा जग्गा कम्पनीले लिइसकेको छ । मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुगिन्छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ भने कविलास ५८० मिटरको उचाइमा छ ।

कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । ‘सिधै माथि ५ हजार मिटरसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ,’ उनले भने । तत्काललाई १० वटा पाइलट राखेर उडान गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक भौतिक पूर्वाधारको काम भैरहेको छ ।

प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराउने योजना छ । त्यहाँ २० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिइएको छ । अवतरण हुने ठाउँमा त्रिशूली नदीमा वाटर एक्टिभिटिज गराउने, र्‍याफ्टिङ्ग, डेजर्ट सफारी जस्ता क्रियाकलाप गर्ने योजना कम्पनीले बनाएको बोर्ड डाइरेक्टर शालिक दवाडीले जानकारी दिए ।

चितवनको चौकीडाँडा

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि झण्डै–झण्डै विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङलाई चितवन स्थापित गराउने योजना अनुरूप काम गरिएको अध्यक्ष घलेले बताए । परीक्षणका क्रममा प्याराग्लाइडिङबाट त्रिशूली नदी र वरपरको भ्यू पोखराको भन्दा राम्रो देखिएको उनको भनाइ छ । ‘यहाँबाट पनि उचाइ लिँदा हिमाल देखिन्छ, फेवातालको जस्तो झल्को दिने त्रिशूली नदी छ, नदी किनारको बालुवा, हरियाली, मुग्लिन–नारायणगढ सडकखण्ड आकर्षक देखिन्छ’ अध्यक्ष घलेले भने, ‘चितवनमा अर्को एक राम्रो पर्यटकीय प्याकेज थपियो भन्ने लाग्छ, यसले जिल्लाको समग्र पर्यटकीय क्रियाकलापमा अलग्गै पहिचान हुनेछ ।’ पर्यटकहरुको चितवन बसाइँलाई लम्बाउन यसले टेवा दिने विश्वास लिइएको अध्यक्ष घलेले बताए ।

चौकीडाँडामा रिसोर्ट बनाउने योजना

प्याराग्लाइडिङ उडान हुने ठाउँमा चौकीडाँडा रिसोर्ट खोल्ने तयारी पनि अगाडि बढेको छ । कम्पनीका अध्यक्ष घलेका अनुसार रिसोर्टका लागि आवश्यक पूर्वाधार बनाउन जग्गा लिने काम भैसकेको छ । ३० वटा कोठासहितको सुविधा सम्पन्न रिसोर्ट बनाउने योजना कम्पनीको रहेको अध्यक्ष घलेले जानकारी दिए ।

‘चितवनलाई गर्मी हुने ठाउँका रुपमा लिइन्छ, तर चौकीडाँडामा गर्मीको बेला पनि सिरक ओढेर सुत्नुपर्ने जस्तो मौसम हुन्छ,’ अध्यक्ष घलेले भने, ‘सुन्दर हिमालहरुको दृश्यावलोकनसहित आकर्षक भ्यू पनि देखिने भएकाले चौकीडाँडामा रिसोर्ट बनाउन लागिएको हो ।’ उनले प्याराग्लाइडिङ चढ्ने, चढ्न आउने, घुम्न आउनेहरुलाई लक्षित गरेर रिसोर्ट खोल्न लागिएको बताए ।

रिसोर्टमा स्थानीय जातका खाना र उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गरिने उनले बताए । ‘हामी स्थानीयहरुलाई नै रोजगारी दिन्छौं, कुखुरा पाल्न लगाउँछौ, कोदो रोप्न लगाउँछौं, अर्गानिक तरकारी उत्पादन गर्न भन्छौं,’ अध्यक्ष घलेले भने, ‘यसले गर्दा एकअर्कोसँग जोडिने काम हुन्छ, स्थानीयहरुले राम्रो आयआर्जन पनि गर्छन् ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?