+
+

सधैं उस्तै यातायात कार्यालय निर्देशनले के सुध्रिन्थ्यो !

अमृत चिमरिया अमृत चिमरिया
२०७९ चैत ५ गते २०:३०

५ चैत, काठमाडौं । इलाम घर भएर काठमाडौं बस्दै आएकी प्रमिला हाङ आङबो (लिम्बू) ले मंगलबार चालक अनुमतिपत्रको अनलाइन फारम भरेको एक महिनापछि लिखित परीक्षाको मिति पाइन् ।

उनी परीक्षा दिनको लागि रसिद लिन यातायात व्यवस्था कार्यालय चाबहिल पुगिन् । ३ घण्टा लाइन बसिसकेपछि ३ बज्यो, उनको मंगलबार काम हुन सकेन । ‘हिजो ३ बजेपछि बैंक बन्द हुने भन्दै मैले रसिद काट्न भ्याइनँ, आज बल्लतल्ल काटें’, प्रमिलाले भनिन् ।

प्रमिला बुधबार बिहान चाबहिल कार्यालय पुगी लाइनमा बसेर रसिद काटेपछि उनको बल्ल चालक अनुमति पत्र (लाइसेन्स)को लागि थप प्रक्रिया अगाडि बढ्यो ।

प्रमिला भन्छिन्, ‘हेर्दा सामान्य ढंगले हुने काम पनि यातायात कार्यालयले बोझिलो बनाएको छ । रगतको रिपोर्ट लिएर जाँदा पनि रगत परीक्षणको पैसा काट्छ । बायोमेट्रिकमा त्यस्तै झन्झट छ ।’ उनले सोझा मान्छे दिनभरि लाइनमा बसे पनि केही मान्छेले भित्रबाट काम गर्ने गरेको बताइन् ।

सरकारले यातायात कार्यालयमा यत्रो भीड हुँदा पनि ध्यान नदिएको बताइन् । ‘यातायात कार्यालयका कर्मचारीहरू आफूलाई राजा जस्तै सम्झिन्छन्, सेवा दिन बसेकाहरू झर्कोफर्को गर्छन् ।’

लाइसेन्सको लागि फारम भर्न मात्रै झन्झटिलो छैन, ट्रायल दिन पनि उस्तै सास्ती छ । ट्रायल दिने ठाउँमा टोकनको व्यवस्था भएतापनि बिहान टोकन लिएर बेलुकासम्म पालो कुरेर बस्नुपर्ने दक्षिणढोका ट्रायल सेन्टरमा भेटिएका टेकबहादुर राईले बताए । ‘यहाँ बिहानै ६ बजेदेखि मान्छे लाइन बस्ने गर्छन्, ९ बजे टोकन बाँड्छन् अनि नम्बर बोलाउने हो । त्यसपछि पनि दिनभरि पालो कुर्नुपर्छ, टोकनमा १ बजे आउनु भने पनि ३ बजेसम्म पालो पाइँदैन ।’

लाइसेन्स दिने कार्यालयमा भीड कम गर्न प्रधानमन्त्रीले दिएको निर्देशन बारे सेवाग्राही सुजन बेलवासे प्रश्न गर्छन्, ‘प्रधानमन्त्रीले निर्देशन दिनुअघि फिल्डमा वास्तविकता कस्तो छ भन्ने बुझेका छन् र ?’

उनले थपे, ‘यहाँको अवस्थामा केही परिवर्तन भएको छैन, हामी जनतालाई राहत हुने गरी काम गर्न सक्नुपर्‍यो नि !’

एकान्तकुनाको यातायात व्यवस्था कार्यालयमा भने अहिले सवारी नवीकरण, दर्ताको काम छिटो हुन थालेको सेवाग्राहीहरू बताउँछन् । सवारी कर तिर्न आएका ललितपुरका लालमणि श्रेष्ठ भन्छन्, ‘अहिले गाडीको व्यापार नभएर पनि होला, यहाँ पहिले जस्तो समस्या छैन, १५–२० मिनेटमा काम हुन थालेको छ ।’

निर्देशन मात्रैले सुध्रँदैन : कर्मचारी

यातायात व्यवस्था कार्यालय चाबहिल लाइसेन्स कार्यालयकी सूचना अधिकारी भगवती गिरीले पहिले र अहिलेको तुलनामा भीड कम नभएको स्वीकार गरिन् ।

‘कार्यालयमा खासै भीड घटेको छैन । अहिले पनि दरबन्दी अनुसार जनशक्ति छैनन् । कर्मचारी कम, काम धेरै हुँदा लाइन त भइहाल्छ नि’, गिरी भन्छिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीहरूलाई सहज बनाउन लाइन घटाउने विषयमा भने खासै प्रभाव नपरेको बताएकी छिन् । ‘प्रधानमन्त्रीको निर्देशन मात्रै हो, न कर्मचारी थपिएको छ, न कार्यालय थपिएको छ अनि सेवाग्राही त घटेका छैनन् । लाइन घटाउन निर्देशन दिएर मात्रै पनि हुँदैन नि’, उनले भनिन् ।

गिरीका अनुसार यातायात सम्बन्धी अन्य कार्यालयहरूमा भन्दा लाइसेन्स कार्यालयमा धेरै भीड हुने भएकोले कर्मचारीकोे जनशक्ति, कार्यालय संख्याको आधारमा अत्यन्तै प्रेसर हुने गरेको छ ।

जनशक्तिको अभाव छ, काम गर्दैछौं : मन्त्री श्रेष्ठ

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले लाइसेन्ससहित यातायात क्षेत्रको सेवाको लागि काम गरिरहेको बताए । अनलाइनखबरसँग कुराकानी गर्दै श्रेष्ठले सहजताको लागि प्रदेश सरकारले योजनाबद्ध रूपमा विभिन्न काम गरेको दाबी गरे ।

‘हामीले सवारी चालक अनुमतिपत्रमा ७० अंक ल्याए पास हुने नीति कार्यान्वयन गरेका छौं । सेवाग्राहीको सहजताको लागि कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छौं, अझै धेरै काम हुँदैछ’, उनले भने ।

प्रधानमन्त्रीको लाइन नराख्ने योजना कार्यान्वयन गर्न खोजे तापनि जनशक्ति अभाव भएको उनले बताए । ‘हामीसँग पर्याप्त जनशक्ति छैन, संघका कर्मचारीहरू प्रदेश मातहतका कार्यालय आउन खोज्दैनन्’, श्रेष्ठ भन्छन् । उनले प्रदेश सरकारले भने जसरी जनशक्तिको उपलब्धता हुने हो भने धेरै काम गर्न सकिने बताए । लाइसेन्स वितरण प्रणालीलाई अझै सजिलो बनाउन खोजिरहेको भन्दै श्रेष्ठले नतिजा आउने गरी काम गरिरहेको बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?