+
+

मकै बेचेरै जीविकोपार्जन

रासस रासस
२०७९ चैत ५ गते १९:०४

५  चैत, काठमाडौं ।  जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ ।

‘आउनुहोस् हजुर, मकै खानुहोस्
रसिलो, पोषिलो, दुधिलो मकै
स्वादिलो नून, खुर्सानी, टिमुर
खाए मकै, नखाए भोकै’

सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर विकको कुरा सबैले सुनिरहेका छन्, उनले भन्नुभएको कुरा मानिरहेका छन् ।

पोलेको मकै बेच्न नीरबहादुरलाई भ्याइनभ्याई हुन्छ । बिहानभर घरमा पिर्सलेर राखेको घोगाको खोस्टा निकालेर कोइलामा मकै पोल्न व्यस्त छिन्, नीरबहादुरकी श्रीमती ४० वर्षीया शान्ता विक ।

नीरबहादुर रक्तचाप, मधुमेहलगायत रोगबाट पीडित छन् । उनी श्रीमतीलाई सकेको बेला सघाउँछन् । दुई छोराछोरीकी आमा शान्तालाई दिनभर मकै पोल्न भ्याइनभ्याइ हुन्छ ।

विक दम्पतीलाई साँझसम्म सडकमा मकै पोल्दै, बेच्दै गरेको भेट्न सकिन्छ। मौसमी मकैभन्दा बेमौसमी मकै बढी बिक्ने भएपछि असिनपसिन भएर मकै पोल्दै गरेकी शान्ताले आफूले पोलेको मकै श्रीमान्ले बेचिदिँदा मात्रै पनि व्यवसायमा सहयोग पुग्ने बताउँछिन् ।

विक दम्पतीको सहकार्य उदाहरणीय छ । धनुषाको मिथुलानगरपालिका–११ कालीखोला पुर्ख्यौलीघर भएका विक दम्पती सिन्धुली आएर दुई वर्षदेखि मकै बेचेको कमाइले जीविका धान्दै आएका छन् । दैनिक ५० भन्दा बढी मकै बिक्री हुने गरेको शान्ताले बताइन् ।

‘प्रतिगोटा ३० रुपैयाँले बेच्दा हामीलाई १० रुपैयाँ फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु पाँच सय आम्दानी भइरहेको छ।’, उनले भनिन्। चर्को घाम लागोस् वा गर्जेर पानी परोस् यसको विक दम्पतीलाई कुनै प्रवाह हुँदैन् । तर सडकमा ठेला लिएर मकै बेच्न हिँड्दा ट्राफिक प्रहरीको खप्की सहनुपरेको शान्ताले दुःखेसो गरिन् ।

दलित भएकै कारण आफूले पोलेको मकै कतिपय व्यक्तिले नखाएका कारण थर परिर्वतन गरेर मकै बेचेको पीडा पनि विक दम्पतीसित छ । ‘सुरुसुरुमा विक थर बताउँदा हामीले पोलेको मकै धेरैले खाएनन्, घरबेटीले कोठा दिएनन् । त्यसपछि थर परिर्वतन गरेर मकै बेच्न थाल्यौं,’ शान्ताले भनिन्, ‘अहिले पनि हाम्रो घरबेटीलाई हामी विक हौँ भन्ने थाहा छैन, सोध्दा ‘माझी’ भन्ने गरेका छौँ।’

मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उनीहरु बताउँछन् । ‘हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्, बिक्री गर्न घरमै ल्याइदिन्छन्’, शान्ताले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?