+
+
स्ववियु चुनाव :

१४ वर्षपछि विद्यार्थीमा नेतृत्व विकासको अभ्यास

१४ वर्षपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा विद्यार्थीहरुले नेतृत्व चयनका लागि मतदान गरेका छन् । स्ववियु चुनावले विद्यार्थी उमेरदेखि नै नेतृत्वको अभ्यास गराउने र भविष्यमा देशकै नेतृत्व गर्ने नेता जन्माउने आशा गरिएको छ ।

नुनुता राई नुनुता राई
२०७९ चैत ५ गते २१:३५
काठमाडौंको शंकरदेव क्याम्पसमा मतदान गरेपछि नङमा लागेको मसी देखाउँदै विद्यार्थीहरु ।

५ चैत, काठमाडौं । १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । धेरै विद्यार्थी भएका केही क्याम्पसमा विद्यार्थी संगठनहरुबीचको विवादका कारण चुनाव हुन नसके पनि देशभरका धेरै क्याम्पसमा विद्यार्थीहरुले आफ्नो नेतृत्व छान्न मतदान गरेका छन् ।

आइतबार साँझ काठमाडौं कीर्तिपुरको केन्द्रीय क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पसलगायतमा नतिजा समेत आइसकेको छ ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । कतिपय क्याम्पसमा भने ३० प्रतिशत भन्दा कम मतदान भएको छ । काठमाडौंकै पद्मकन्या क्याम्पसमा ३२ र शंकरदेव क्याम्पसमा ३७ प्रतिशत मतदान भएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारी लामो समयसम्म स्ववियु निर्वाचन नहुँदा स्ववियु कस्तो संस्था हो र यसले के गर्छ भन्ने विद्यार्थीमा जानकारी नभएकाले कतिपय क्याम्पसमा कम मतदान भएको बताउँछन् ।

त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख भएपनि २०६५ सालयता स्ववियु चुनाव हुन सकेको थिएन । २०७३ सालमा उपत्यकाको ९ वटा र उपत्यका बाहिर १७ वटा क्याम्पसमा भन्दा अरुमा चुनाव भएन ।

त्रिवि नेतृत्वले राजनीतिक नेतृत्वको मुख ताकेर बस्दा लामो समय स्ववियु चुनाव हुन सकेन । यस वर्ष भने त्रिविले स्ववियु चुनाव गराएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटा स्ववियुमा शैक्षिक गुणस्तर सुधार, सैद्धान्तिक तथा प्राज्ञिक बहसका लागि पहल गर्ने नेतृत्व चाहेको बताउँछन् । ‘विश्वविद्यालयले स्वभाविक रुपमा शैक्षिक उन्नयनका लागि सुझाव दिने, पहल गर्ने, सहजीकरण गर्ने, बहस गर्ने स्ववियु नेतृत्व चाहन्छ’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयमा २०२० सालमा विद्यार्थी युनियनको रुपमा स्थापना भएको संगठनको नाम परिवर्तन गरेर स्वतन्त्र विद्यार्थी युनियन रहन पुग्यो । पहिला हरेक वर्ष हुने स्ववियु निर्वाचन २०३६ पछि प्रत्येक दुई–दुई वर्षमा गर्न थालिएको थियो ।

नेतृत्व विकासको अभ्यास 

२०६५ सालमा रत्नराज्य क्याम्पसको स्ववियु सभापति निर्वाचित राजकुमार राई स्ववियु विद्यार्थीको हक अधिकार स्थापित गर्ने र नेतृत्व विकास गर्ने मञ्च भएको बताउँछन् ।

कुनै बेला शंकर पोखरेल, गगन थापा अहिले ठूला पार्टीको नेतृत्व तहमा स्थापित छन् । स्ववियु सभापति भएका धेरै नेताहरु पछि सांसद र मन्त्रीसमेत भएका छन् । यसले पनि नेतृत्व विकासको मुख्य आधार स्वतन्त्र विद्यार्थी युनियन भएको पुष्टि हुने राईको तर्क छ ।

उनी भन्छन् ‘लामो समय स्ववियु चुनाव नहुँदा शैक्षिक मुद्दा तथा नेतृत्व विकासको क्रममा सुस्तता आएको थियो । अब यो निर्वाचनले फेरि निरन्तरता दिन्छ भन्ने आशा जगाएको छ ।’

कांग्रेस नेताहरु गगन थापा २०५५, शंकर भण्डारी २०४९ र किशोरसिंह राठौर २०५१ सालमा त्रिचन्द्रको स्ववियू सभापति निर्वाचित भएका थिए । एमाले महासचिव त्रिवि केन्द्रीय क्याम्पसको पूर्वस्ववियु सभापति हुन् । मकवानपुर २ बाट निर्वाचित महेश बर्तौला पनि मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् ।

त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेल २०५३ सालमा अमृत साइन्स क्याम्पसका स्ववियू सभापति हुन् । कांग्रेसका सहमहामन्त्री तथा सांसद बद्री पाण्डे २०५३ सालमा वाल्मीकि क्याम्पसका स्ववियू सभापति हुन् । पोखरा महानगरका मेयर धनराज आचार्य पोखरास्थित पृथ्वीनारायण क्यापसका पूर्वस्ववियू सभापति हुन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा विद्युतीय मेसिनबाट मतदान गरिँदै ।

२०४५ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित कमला पन्त २०५१ सालमा गोरखा–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनिन् र जितिन् पनि । त्यसपछि २०५६ सालमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भइन् भने त्यसपछि पनि समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भएकी उनी हाल राष्ट्रियसभा सदस्य छिन् ।

२०६५ सालमा निर्वाचित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सचिव जितेकी मानुषी यमी भट्टराई गत ४ मंसिरको चुनावमा काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी थिइन् । यद्यपि उनले हार व्यहोरिन् ।

२०६५ सालमा काठमाडौं शिक्षा क्याम्पसको स्ववियु सभापति रहेका डिल्लीराम सुवेदी हाल गण्डकी प्रदेशसभा सदस्य छन् । स्ववियु चुनावले नयाँ नेतृत्व जन्माउने बताउने सुवेदी यसवर्ष उम्मेदवारमा २८ वर्ष उमेर हद तोकेर गरिएको चुनावबाट पनि राम्रा नेता जन्मिन सक्ने आशा गर्छन् ।

‘वास्तविक विद्यार्थी नै नेतृत्वमा आउने हुँदा आन्दोलनलाई कक्षा कोठासम्म र कक्षाकोठाको समस्या एजेन्डाको रुपमा बाहिर आउँछ भन्ने आशा गर्न सकिन्छ’ उनले भने ।

२०६५ को त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले विद्यार्थीहरुले कुन शीर्षकमा कति शुल्क तिर्छन् भनेर खोजी गरेको तत्कालिन सचिव भट्टराई सम्झिन्छिन् । त्यस क्रममा कतिपय शुल्क अनावश्यक भनेर घटाएको थियो भने शैक्षिक क्यालेन्डर प्रकाशित गरेको थियो ।

स्ववियुकै पहलमा घडीघरको बाँसको घेराबारा हटाएर फलामको लगाउन बजेट खोज्ने, विद्यार्थी श्रमदानमा लगाउने र प्रत्येक विभागमा खानेपानीको ट्याङ्की राखिएको उनी बताउँछिन् । ‘हामीले धेरै भौतिक तथा शैक्षिक गुणस्तरका लागि हाम्रो क्षमता अनुसार काम गर्‍यौं’, भट्टराई भन्छिन् ।

लामो समयपछि भइरहेको स्ववियु निर्वाचनबाट निर्वाचित संस्थाले विद्यार्थीको वास्तविक विषय, समस्याहरुको उठान हुन्छ भन्ने आशा जगाएको बताइन् । उनी भन्छिन् ‘अहिले म पिएचडीको विद्यार्थी भएर जाँदा विद्यार्थीको पक्षमा उठाउनुपर्ने कुराहरु धेरै छन् तर कसले उठाउने भन्ने नै छैन । पीएचडीको कोर्ष त्रिविको नभएर कुनै निजीको जसरी महँगो शुल्क छ । हामी स्ववियुमा हुँदा यस्ता कुराहरु उठाउँथ्यौं समन्वय गथ्र्यौं । स्ववियु निर्वाचनले यस्ता कुराहरुको उठान हुन्छ भन्ने लागेको छ ।’

स्ववियुमा हुने प्रतिस्र्पधाले चम्किला नेतृत्व आउने सम्भावना रहने मानुषीको भनाइ छ । जति प्रतिस्पर्धा भयो त्यति नेतृत्वमा निखारपना, स्पष्ट एजेन्डा, बहस गर्ने क्षमता बृद्धि हुने भएकोले योग्य नेतृत्व जन्मिने सम्भावना हुने उनको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य सुवेदी स्ववियु नेतृत्वले क्याम्पसको मात्रै नभएर समग्र नीति निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्न सक्ने बताउँछन् । उनले ०६५ सालमा शिक्षा क्याम्पसको स्ववियुहरुको आन्दोलनले अस्थायी शिक्षक स्वतः स्थायी गराउने सरकारको निर्णय फिर्ता गराउन सफल भएको सम्झिन्छन् ।

‘संसदबाटै पारित भएको ऐन विरुद्ध सशक्त आन्दोलन गरेर उल्टाएका थियौं । खुला प्रतिस्पर्धाबाट मात्र स्थाई नियुक्ति हुनुपर्छ भन्ने बनाएका थियौं’ उनी भन्छन् ।

त्यस्तै क्याम्पसमा शिक्षा मन्त्रालयले ल्याएको दश वर्षे स्कुल सेक्टर डेभलपमेन्ट प्लान (एसएसडीपी) कार्यक्रमको सान्दर्भिकताको विषयमा राजनीतिज्ञ, शिक्षाविद्हरुसँग छलफल गरेको पनि सुवेदीले स्मरण गरे । उनी भन्छन् ‘स्ववियु पार्टीको भातृसंस्थाको फ्रेमभित्र मात्रै सीमित रहँदैन भनेर काम गरेका थियौं ।’

‘विद्यार्थी आन्दोलनले बाटो बिरायो’

पञ्चायत कालमा दलमाथि प्रतिबन्ध लागेका बेला क्याम्पसहरुमा विद्यार्थी राजनीति स्वतन्त्र विद्यार्थी युनियनको नाममा भइरहेको थियो । स्थापनाकालका स्ववियुले राजनीतिक चेतना निर्माण र शिक्षामा सहज पहुँच, सूचना आदान—प्रदान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

पञ्चायतकाल विद्यार्थी आन्दोलनको स्वर्णकाल भएको अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष तथा माओवादी नेता लेखनाथ न्यौपाने बताउँछन् । उनी भन्छन् ‘त्यसबेला विद्यार्थी आन्दोलन सबैको भरोसा, विश्वासको केन्द्र बनेको थियो । स्ववियुले शैक्षिक मुद्दा, राजनीतिक चेतना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

तर बहुदलसँगै विद्यार्थी आन्दोलन सत्ताको छायाँमा परेको र आन्दोलन कमजोर र धुमिल हुँदै गएको उनको तर्क छ । उनी भन्छन्, ‘विद्यार्थी आन्दोलन, स्ववियुको मञ्च प्रतिपक्षीय भयो भने मात्रै मूल्य जोगाउँछ ।’

तर अहिलेको विद्यार्थी आन्दोलन, नेतृत्वको काम गर्ने तरिका, परिचालन हुने तरिका सत्तापक्षीय हुने गरेकोले स्ववियुमाथि विश्वास नलाग्ने न्यौपाने बताउँछन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वअध्यक्ष रामुकमारी झाँक्री २०६७ सालसम्म स्ववियु तथा विद्यार्थी संगठनले उद्देश्य अनुरुप नै काम गरेको र त्यसपछि भने समस्या देखिएको बताउँछिन् ।

त्यसबेला स्ववियु तथा विद्यार्थी संगठनहरुले विद्यार्थीको अतिरिक्त क्षमता विकासमा जोड दिएको, विद्यार्थीका दैनिक जीवनमा आइपर्ने समस्यालाई प्रशासनसँग सहजीकरण गरिदिएको, शैक्षिक गुणस्तरमा ध्यान दिएको, आलोचनात्मक चेतनाको निर्माण गरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल गरेको, सामाजिक, आर्थिक मुद्दामा बहस गरेको हाल एकीकृत समाजवादीकी सचिव झाँक्रीको भनाइ छ ।

त्यसपछिका विद्यार्थी संगठन तथा स्ववियुले समय अनुसार आफ्नो भूमिका निर्वाह गर्न नसकेकाले विद्यार्थी आन्दोलनको औचित्य माथि नै प्रश्न उठ्न थालेको उनको भनाइ छ । ‘राजनीतिक नेतृत्व विकासका लागि त धेरै अप्सन छ । अब शैक्षिक, प्रशासनिक, अनुसन्धान क्षेत्रमा बौद्धिक नेतृत्व विकासको मञ्च बनाउनुपर्छ’ उनी भन्छिन् ।

शिक्षाविद प्रा.डा.विद्यानाथ कोइराला स्ववियुले शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँछन् । उनी भन्छन् ‘सिद्धान्तको संवाद गर्ने थलो बनाए भने, कृषक, महिला, दलित, जनजाति लगायतको मुद्दामा बहस गराए मात्रै पनि धेरै महत्व राख्छ’ उनी भन्छन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?