+
+

एक महिनामा १ अर्ब ६५ करोड बजेट रकमान्तर, बुढीगण्डकी आयोजनाको बढी कटौती

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते २०:१४

६ चैत, काठमाडौं । सरकारले एक महिनाको अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो रकमान्तर विकासे मन्त्रालयबाट बढी मात्रामा भएको छ ।

फागुन २०७९ मा बुढीगण्डकी जलविद्युत आयोजनाको ४० करोड बजेट नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ । यो रकम नारायणी नदी व्यवस्थापन आयोजना चितवनमा खर्च गरिने भएको छ ।

बुढीगण्डकी जलविद्युत आयोजनाकै १ अर्ब रुपैयाँ रकमान्तर गरी सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा रकमान्तर गरिएको छ भने उत्तर–दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोशी)बाट १० करोड रुपैयाँ बजेट मदन भण्डारी राजमार्गका लागि रकमान्तर गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रमबाट १५ करोड रुपैयाँ कटौती गरी यो बजेट सूर्यविनायक धुलिखेल र कोटेश्वर बानेश्वर त्रिपुरेश्वर सडकका लागि रकमान्तर गरिएको छ । यसअघि माघसम्म सरकारले २२ अर्ब ७५ करोड रुपैयाँ रकमान्तर गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार पूँजीगत बजेटतर्फ १ करोड रुपैयाँ भन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को उपशीर्षकमा उक्त रकम बराबरको रकमान्तर भएको हो । यस्तो रकम २२ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस वर्ष सबैभन्दा धेरै रकमान्तर पुस महिनामा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पुसमा मात्र २२ अर्ब २ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको छ । यस महिनामा सरकारले विकास ऋणलाई ट्रेजरी बिलमा रकमान्तर गरेको थियो । ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्ने प्रयोजनका लागि यो रकम रकमान्तर भएको मन्त्रालयले जनाएको छ । यसबीचमा बन्चरे डाँडास्थित ल्याण्डफिल्ड साइट पुग्ने सडकको स्तरोन्नतीका लागि भएको रकमान्तर समेत समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?