+
+

नेपाली खेलाडीलाई भारतमा रणजी ट्रफी खेल्न दिनुपर्छ : मोन्टी देशाई

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १०:५२
फाइल तस्वीर ।

७ चैत, काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली टिमलाई भारतमा रणजी ट्रफी खेल्न अनुमति दिनुपर्ने बताएका छन् ।

नेपालको प्रशिक्षक बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा १२ मध्ये ११ खेल जिताएर नेपाललाई विश्वकप क्वालिफायरमा छनोट गराएपछि देशाईले क्रिकेटको चर्चित अनलाइन क्रिकबजसँग कुराकानी गर्दै नेपाललाई भारतमा खेलाउने धारणा व्यक्त गरेका हुन् ।

देशाईले यसबारे बीसीसीआईका सचिव तथा एसीसीका अध्यक्ष जय शाहलाई भनेको समेत बताएका छन् । ‘मैले आईसीसी र जय भाई (बीसीसीआई सचिव तथा एसीसी अध्यक्ष जय शाह) लाई यस बारे भनेको छु । जब स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन्, हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति दिनुपर्छ । यदि त्यस्तो भयो भने हामी चार वर्षमा टेष्ट खेल्ने राष्ट्र हुनेछौं,’ देशाईले (आइसीसी) र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को ध्यानाकर्षण गराउँदै भनेका छन् ।

‘यदि तपाईंले वरपर हेर्नुभयो भने अफगानिस्तानसहित सबै छिमेकी राष्ट्र टेस्ट मान्यता प्राप्त छन् । वास्तवमा नेपाल र अफगानिस्तानसले सँगै खेल्न सुरु गरेका थिए’, उनले भने ।

भारतको पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता रणजी ट्रफीका ३८ टोलीले प्रतिस्पर्धा गर्छन् । यही गरेको प्रदर्शनका आधारमा भारतको टेष्ट टोलीमा मान्यता बनाउनेछन् ।

यस्तै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ठूला टोलीलाई आमन्त्रण गर्न गाह्रो हुने बताउँदै आईसीसी र एसीसीलाई पत्र लेखेको बताएका छन् ।

‘हामी ठूला टोलीहरूलाई आमन्त्रित गर्न सक्दैनौं । मैले मद्दतको लागि आईसीसी र एसीसीलाई पत्र लेखेको छु । उनीहरूले हामीलाई फन्डिङ र कोचिङको ज्ञानमा मद्दत गर्नुपर्छ । ओमान वा यूएई र नामिबिया राम्रो टिम हुन् तर के तिनीहरूसँग त्यस्ता फ्यानहरु छन्? हामीले अमेरिकाको ह्युस्टनमा खेल्दा मैदानमा ५००–६०० नेपाली फ्यान थिए । एकजना अमेरिकी फ्यान थिए, एउटी महिला, जसले अमेरिकी झण्डा बोकेकी थिइन् ।’ अध्यक्ष चतुरबहादुर चन्दले क्रिकबजसँग भनेका छन् ।

चन्दले बीसीसीआईसँग मद्दत मागेको क्रिकबजसँगको कुराकानीमा खुलाएका छन् ।

पछिल्लो समय नेपालले सफलता हात पारेपछि अहिले सरकार लगायत सबै पक्ष पूर्वाधार बनाउनका लागि दबाबमा रहेका चन्दले बताएका छन् । ‘हामी सबै डेलिभर गर्न दबाबमा छौं र हामीले पहिले नै महसुस गरिरहेका छौं । सरकारलाई पनि रंगशाला बनाउन दबाब छ । हामीसँग ठोस पूर्वाधार छैन । हामीसँग आईसीसी मापदण्डको एक मात्र एकदिवसीय मैदान छ’ चतुरबहादुर भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?