+
+

बाराको कोल्हबीमा ५ हेक्टर वन क्षेत्रको विरुवा सखाप

सुरेश बिडारी सुरेश बिडारी
२०७९ चैत ७ गते २०:४१

७ चैत, वीरगञ्ज । बाराको कोल्हबी नगरपालिका-५ रामवनमा वन क्षेत्रको जमिन अतिक्रमण व्यापक छ । डिभिजन वन कार्यालय बाराले ०७७/७८ सालमा ५.३९ हेक्टर क्षेत्रफल जमिनमा अतिक्रमण हटाएर वृक्षारोपण गर्‍यो । आँप, कटहर, टिक, रिठ्ठा र मसला जातका ८ हजार ५ सय ५० वटा विरुवा लगाईयो । विरुवा रोप्न र तारबार लगाउँदा १२ लाख खर्च भयो ।

अतिक्रमण रोक्न रोपिएका विरुवा हुर्कदै पनि थियो । हुर्कँदै गरेका विरुवा केही उछृंखल व्यक्तिले गत चैत २३ गते सखाप पारिदिए । कोल्हबी नगरपालिका बोधवनका कृष्णबहादुर परियार वनको अवस्था निकै खराब भइसकेको बताउँछन् ।

‘म ३२ सालमा आउँदा जताततै जंगल नै जंगल थियो, सबैलाई थाहा छ मैले मात्रै जंगल मासिएको छैन भनेर हुन्छ र ?’ उनले भने, ‘घरमा ग्यास छैन, जंगल बचे घाँस काट्न पाइन्थ्यो, दाउरा ल्याएर बाल्न पाइन्थ्यो।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने चर्चा चलेसँगै ३० वर्षदेखि सरकारी जग्गा र वनक्षेत्रमा धेरैको आँखा पुगेको छ । विमानस्थल बनाउने भनेपछि जिल्लाभित्रै र बाहिरका भूमाफिया सक्रिय भएको वन संरक्षणमा लागेकाहरू बताउँछन् ।

‘भू-माफिया धेरै सक्रिय छ, ठूला जग्गा दलालहरु बस्छन् । एयरपोर्ट बन्ने भएपछि उनीहरुको सक्रियता झनै बढेको छ’ एक वन अधिकृतले भने । रामवनको घटनाले राष्ट्रिय वनमा भइरहेको अतिक्रमण हटाउँदै वृक्षरोपण गर्ने योजनामा आघात पुगेको वनका अधिकारीहरु बताउँछन् ।

वडा अध्यक्षले नेतृत्व गरेको वनको दाबी

कोल्हबी-५ का वडा अध्यक्षनन्द किशोर चौधरीकै नेतृत्वमा विरुवा मास्ने काम भएको दाबी डिभिजन वन कार्यालय बाराको छ । वनले वडा अध्यक्ष चौधरीलाई पक्राउ गरी वन ऐन अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ ।

२७ फागुनमा प्रमुख जिल्ला अधिकारी, मधेश प्रदेश वन निर्देशनालयका निर्देशक, सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीकै सामुन्ने डिभिजनल वन अधिकृत विनोद कुमार सिंहलाई अभद्र व्यवहार गरेपछि उनी पक्राउ परेका थिए । उनी विरुद्ध वन मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिनको म्याद अनुमति लिएर वनले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतले वडा अध्यक्ष चौधरीसँग बयान लिने, शंकास्पद मानिसहरुको खोजी गर्ने लगायतका अनुसन्धान प्रक्रिया अघि बढाएको छ । वन कार्यालयका अनुसार पोलको हानी नोक्सानीको मूल्यांकन गर्न बाँकी छ । नोक्सानी भएको प्रति विरुवा ५ सय रुपैयाँका दरले विगो दाबी गर्न सकिने व्यवस्था वन ऐनमा छ ।

घटनाको नेतृत्व वडा अध्यक्ष सहित ६/७ जनाले गरेको वनका अधिकारीले बताएका छन् । वडा अध्यक्ष चौधरीले वन मास्ने कार्यमा आफ्नो संलग्नता नरहेको दावी गरिरहेका छन् । तर गाउँका मानिस भागेकोले अनुसन्धानमा समस्या भइरहेको वन कार्यालयले जनाएको छ ।

मधुवन तथा कोल्हबी रेञ्ज पोष्टका रेञ्जर अब्दुल करिम मियाँ रामवन क्षेत्रका मानिसहरु गाउँ छोडेर भागेको बताउँछन् । ‘गाउँमा पाका उमेरका महिला मात्रै बसेका छन् । अरु सबै भागेका छन्’, उनले भने ‘थप शंकास्पद मानिस पक्राउ गरेपछि अनुसन्धानमा सहयोग पुग्छ ।’

कोल्हबी नगरपालिकाका मेयर रामप्रसाद चौधरी वन मास्ने कार्यमा संलग्न जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् । ‘वन मास्ने कार्य जनप्रतिनिधि हुन् वा जो कोही छानबिन गरेर कानूनी दायरामा ल्याउनुपर्छ,’ उनले भने।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?