+
+

पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १६:२६

काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ । तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् ।

यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ । मंगलबार उक्त गीतको रेकर्ड पुतलीसडकस्थित पल निकट संगीतकर्मी योगेशकाजीको स्टुडियोमा भएको छ । फिमेल भर्सनमा अनु चौधरीको स्वर समावेश छ ।

पलले फिल्म र संगीत करिअरलाई नयाँ ढंगबाट अघि बढाउन खोजिरहेको देखिन्छ । सोहीअनुसार उनले फिल्म गर्दा पारिश्रमिक मात्र नभएर सेयर पनि लिने सर्तमा फिल्म खेल्ने तयारी गरेका छन् । ‘पारिश्रमिक मात्र होइन, सेयर नै लिएर फिल्म गर्ने कुरा छ ।

उहाँलाई अफर गर्न आउने निर्मातालाई उहाँले त्यही भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘फिल्म चल्यो भने कलाकारलाई पनि फाइदा हुनुपर्छ भन्ने उहाँको मान्यता छ ।’

पछिल्लो समय अभिनेताहरु सौगात मल्ल र दयाहाङ राईले कतिपय फिल्ममा पारिश्रमिकको सट्टा सेयर लिएर काम गरिरहेका छन् । छायांकनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’मा यी दुईले सेयर लिएर फिल्म गर्ने सहमति गरिसकेका छन् । दयाहाङ र सौगातको यो शैलीलाई पलले पछ्याएका हुन् ।

एउटा म्युजिक भिडियो गरेबापत २ देखि ३ लाखसम्म पारिश्रमिक लिने डिमान्ड पलले गरेको खबर हालै सार्वजनिक भएको थियो । ‘अवश्य पनि उहाँले २ देखि ३ लाख पारिश्रमिक लिने कुरा टिममा चलेको हो । सुरुमै गर्नुपर्‍यो भनेर ५ लाखसम्म दिन्छु भनेर पनि आएका छन् । तर विचार गरेर मात्र काम गर्ने कुरा छ,’ स्रोतले भन्यो ।

पलको पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?