+
+

‘ब्लड ग्रुप’ किन सबैमा एकनास हुँदैन ?

डा. विपिन नेपाल डा. विपिन नेपाल
२०७९ चैत ९ गते १४:५१

रगत शरीरमा बग्ने तरल पदार्थको संयोजन तत्व हो, जसमा प्लाज्मा र रक्त कोषिका हुन्छन् । यसले शरीरभरि परिक्रमा गर्छ, विभिन्न कोषिका र तन्तुहरूमा अक्सिजन र पोषक तत्व पुर्‍याउँछ । हेर्दा उस्तै देखिने रगतको रङ रातो भएपनि  व्यक्ति अनुसार यसको समूह चाहिं फरक-फरक हुन्छ । जसले कसैलाई रगत चाहिएमा अर्को व्यक्तिको रगत नमिल्न सक्छ ।

रगत फरक किन हुन्छ ?

रक्तकोषमा तन्तु ४५ प्रतिशत  र पानीको तत्व ५५ प्रतिशत हुन्छ । कोषमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लुबीसी) र प्लेटलेटहरु हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका कोषमा पुर्‍याउने र कोषबाट कार्बनडाइअक्साइड फिर्ता ल्याउने गर्छ । प्लेटलेटले रक्तश्राव भएमा त्यसलाई जमाएर नियन्त्रण गर्छ । यस्तै, सेतो रक्तकोषले शरीरको प्रतिरक्षा गर्नुको साथै रोगसँग लड्न पनि भूमिका खेल्छ ।

जबकि ५५ प्रतिशत पानीमा प्लाज्मा, विभिन्न रसायन र शरीरलाई चाहिने विभिन्न पोषक तत्व हुन्छ । जुन सबैको शरीरअनुसार फरक-फरक हुन्छ । ४५ प्रतिशत तन्तुको सतहमा  विभिन्न एन्टिजेन हुन्छन् । जुन फरक-फरक रसायनमा जोडिएर ५० थरी एन्टिजेन बन्छ, जसले मान्छेमा रगतको समूह फरक-फरक हुने गर्छ । रगतको कोषिकाहरुमा अनेक थरीका एन्टिजेन हुन्छन्, जसले रक्त समूह निर्धारण गर्छ ।

रगतलाई एबीओ र अर्को आरएचको आधारमा विभाजन गरिएको हुन्छ । एबीओमा चारवटा रक्त समूह हुन्छन्, ए, बी, ओ र एबी । र, आरएचमा पोजेटिभ र नेगेटिभ हुन्छ । यी चारैवटा समूहको पोजेटिभ र नेगेटिभ हुन्छ ।

रगतको समूह जान्न किन आवश्यक ?

कुनै आकस्मिक दुर्घटना हुँदा वा शल्यक्रिया गर्दा कहिलेकाहीं रगत अपुग हुन सक्छ । त्यस्तो अवस्थामा रगत जथाभावी चढाउन मिल्दैन, जसकारण हरेक व्यक्तिले आफ्नो रगतको समूह जान्न एकदमै आवश्यक हुन्छ । एक दाता र प्रापकको रगतको प्रकार मिल्छ भनी सुनिश्चित गर्न महत्त्वपूर्ण छ । यदि रगत मिलेन भने के एन्टिजेन्सले अर्को शरीरको प्रतिरक्षा प्रणालीलाई हानि गर्न सक्छ ।

एउटै वंश र सन्तानबीच पनि रक्त समूह फरक

रगतमा कुन किसिमको केमिकल (ग्लाइकोप्रोटिन) टाँसिएको छ त्यसअनुसार रक्त समूह फरक हुन्छ । जसकारण आमा र बुबाको रगत कसैमा मिल्न सक्छ, कसैमा नमिल्न पनि सक्छ । कसैमा बाबुआमामध्ये एक जनाको रक्त समूह मिल्न सक्छ । केही सन्तानमा भने  बाबुआमापट्टिको तीन पुस्ताबाट पनि रक्त समूह मिल्न सक्छ ।

रक्त समूह फरक हुँदा स्वभाव र समग्र स्वास्थ्यमा तुलनात्मक रुपमा केही भिन्नता हुने अध्ययनहरुले दाबी गरेका छन् । तर अहिलेसम्म रक्त समूह फरक भएकै कारण स्वभाव र स्वास्थ्यमा प्रभाव पार्ने खालको वैज्ञानिक निचोड भने निस्किएको छैन ।

अधिकांश व्यक्तिमा रक्त समूह

नेपालमा सबैभन्दा बढी ‘ए’  रक्त समूह देखिन्छ ।  ‘ए’ ब्लड ग्रुप नेपालमा ३२ प्रतिशतमा देखिएको छ भने ‘ओ’ ३० देखि ३१ प्रतिशत,  ‘बी’ २५ प्रतिशत र  एबी ८ प्रतिशत हाराहारीमा छ ।  यीमध्ये एबी र आरएच नेगेटिभ रक्त समूह झनै दुर्लभ मानिन्छ ।  सय जनामा दुई जनामा मात्र नेगेटिभ रक्त समूह पाइन्छ ।  यो दुर्लभ रक्त समूह विश्वव्यापी रुपमै कम छ । दक्षिण एसियामा भने वंशाणुगत, भौगोलिक परिवेश, वातावरण र पुस्ताका कारण नेगेटिभ रक्त समूह कम हुन्छ ।

रगत सबैमा चढाउन मिल्छ ?

रगत चढाउँदा कस्तो किसिमको चढाउने भन्ने हेरिन्छ । सम्भवतः रातो रगत चढाउने हो भने ‘ओ’ समूह सबैलाई दिन मिल्छ । एबी पोजेटिभ सबैले लिन मिल्छ ।

त्यस्तै,  सेतो रगत प्लाज्मा चढाउनुपर्ने भएमा ‘एबी’ सबै समूहको रगत जसलाई पनि चढाउन मिल्छ । रगत चढाउनुअघि विस्तृत जाँच हुन आवश्यक छ, जुन पद्धति नेपालमा कम छ । त्यसैले रक्त प्रसारमा भने सकभर उस्तै उस्तै समूह मिलेको छ भने मात्र रगत चढाउन उपयुक्त हुन्छ ।

(डा. नेपाल रक्तसञ्चार विशेषज्ञ हुन् । उनी ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?