+
+

किन सिंहदरबार बाहिरै छ स्वास्थ्य मन्त्रालय ?

२५ असार २०३० को आगलागीपछि सिंहदरबारबाट बाहिर निस्किएको स्वास्थ्य मन्त्रालय बाहिरै रमाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भित्र लैजाने प्रयास भएपनि सफल भएन ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ चैत ९ गते २१:०१

९ चैत, काठमाडौं । देशको सर्वोच्च प्रशासनिक केन्द्र हो, सिंहदरबार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मात्र होइन, मन्त्रालयदेखि योजना आयोगसम्म सबै सिंहदरबारमै अटाएका छन् ।

बीचमा केही समय बाहिर (नयाँबानेश्वरमा) रहेको संसद भवन पनि सिंहदरबारभित्र धमाधम बनिरहेको छ । तर नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने २०३० सालदेखि सिंहदरबार बाहिरै छ ।

२५ असार २०३० को आगलागी अघिसम्म यो मन्त्रालय पनि सिंहदरबारभित्रै थियो । अचानक भएको आगलागीले सिंहदरबारको पश्चिम भागबाहेक सबै ध्वस्त भयो । अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको पुरानो भवनमा सर्‍यो ।

पद्मसुन्दर लावती स्वास्थ्य मन्त्री भएपछि फराकिलो कार्यालयको खोजी भयो । २०३९ सालमा रामशाहपथस्थित सर्वोच्च अदालतको ठीक अगाडि रहेको परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सर्‍यो ।

फ्रान्सका प्रख्यात आर्किटेक्ट लुइस इसाडोर कानले डिजाइन गरेको यो भवन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ मा उद्घाटन गरेका थिए । तत्कालीन मन्त्री लावतीको जोडबलमा स्वास्थ्य मन्त्रालय यो भवनमा सरेको थियो । आगलागीबाट क्षतिग्रस्त भएको सिंहदरबार पुनर्निर्माण गर्नुका साथै नयाँ भवनहरू बन्दै जाँदा मन्त्रालयहरू सिंहदरबार फर्कंदै गए । रामशाहपथमा विशेष किसिमको भवन भेटेको स्वास्थ्य मन्त्रालय भने बाहिरै रमाएको छ ।

पहिले चाहेन, चाहेको बेला पाएन

स्वास्थ्यका पूर्वअधिकारीहरूको अनुभवमा सिंहदरबार बाहिरै काम गर्न ‘कम्फर्टेबल’ भएकाले भित्र जान धेरै जोडबल गरिएन, प्रशासनतर्फका अधिकारीहरूले पनि स्वास्थ्य मन्त्रालय भित्र नआइदिए हुन्थ्यो भन्ने मन गरेका थिए ।

२०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य सचिव रहेकी डा. सुधा शर्मा काम गर्न मन्त्रालयको भवन पर्याप्त र कम्फर्टेबल भएकाले सिंहदरबारभित्र जान सक्रिय रूपमा पहल नगरेको सुनाउँछिन् । ‘बेलाबेला भित्र लैजाने खासखुस कुरा चल्थ्यो, तर हामीलाई बाहिरै सहज थियो’ डा. शर्माले भनिन्, ‘भवन बनाउन करोडौं खर्चिनुभन्दा आमा सुरक्षा कार्यक्रमलाई देशव्यापी गर्नमा लाग्यौं ।’

२०७४ मा स्वास्थ्य सचिव रहेकी डा. किरण रेग्मी पनि जनताको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएका कारण सहजै सिंहदरबारभित्र लैजान सम्भव नभएको अनुभव सुनाउँछिन् । ‘जिल्ला–जिल्लाबाट स्वास्थ्यकर्मीहरू सेवा लिन आइरहनुपर्छ । सिंहदरबारभित्र हुँदा सहजसँग आउजाउ गर्न सम्भव हुन्न’ पूर्व स्वास्थ्य सचिव डा. रेग्मीले अनलाइनखबरसँग भनिन्, ‘बाहिर रहँदा हामीलाई पनि स्वतन्त्रता भएको महसुस हुन्थ्यो । भित्र जाँदा गाभिनुपर्ने जस्तो महसुस भएकाले सक्रिय रूपमा सिंहदरबारमा जान पहल गरेनौं ।’

पछिल्लो पटक भने भीडभाड बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले सिंहदरबारभित्र जान चाह्यो, तर पाएन । अनावश्यक मानिसहरू स्वास्थ्य मन्त्रालय छिरेर काम प्रभावित भइरहेको महाशाखाका प्रमुख गुनासो गर्छन् । मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल भने बाहिर हुँदा सुरक्षा व्यवस्था कमजोर हुने र अनावश्यक रूपमा बढी भीडभाड भइरहेको बताउँछन् ।

‘काम नभएका मानिसहरू पनि अनावश्यक रूपमा आइरहेकाले काम प्रभावित भइरहेको छ । स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र रहँदा यस्तो अवस्थामा न्यूनीकरण हुन्थ्यो’, उनी भन्छन् ।

हामीले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजानुपर्छ भनेर जोडबल गरेका थियौं । तर गृहले आफूलाई चाहिने अडान लिएपछि हामी त्यो भवनमा सर्न पाएनौं – पूर्वस्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार तत्कालीन मन्त्री उपेन्द्र यादव हुँदा स्वास्थ्य मन्त्रालयलाई भित्र सार्ने छलफल भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक पनि थिए । किनकि २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको प्रधानमन्त्रीको कार्यालय रेट्रोफिट भइरहेको थियो । र, प्रधानमन्त्री कार्यालय अस्थायी रूपमा बसेको संघीय मामिला मन्त्रालयको भवन खाली हुने क्रममा थियो ।

३ फागुन २०७७ मा प्रधानमन्त्री कार्यालय आफ्नै भवनमा सरेपछि यो भवन खाली पनि भयो । किनकि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तत्कालीन स्थानीय प्रशासनको भवनमा सरिसकेको थियो । तर प्रधानमन्त्री कार्यालयले छाडेको भवनमा स्वास्थ्यसँगै गृह मन्त्रालयले दाबी गर्‍यो ।

‘त्यसबेला हामीले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र लैजानुपर्छ भनेर जोडबल गरेका थियौं । तत्कालीन प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्थ्यो’ तत्कालीन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी भन्छन्, ‘तर गृहले आफूलाई चाहिने अडान लिएपछि हामी त्यो भवनमा सर्न पाएनौं ।’

अहिले पनि राष्ट्रिय योजना आयोगले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग मिलेर सिंहरदरबारको मास्टर प्लान बनाएको छ, जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबारभित्र ल्याउने योजना नै छ ।

व्यवस्थापन कार्यालयका प्रमुख कुमार घिमिरे सरकारको योजना अनुसार सबै मन्त्रालय सिंहदरबारभित्रै लैजाने काम भइरहेको बताउँछन् । घिमिरेका अनुसार हाल सिंहदरबारभित्र भएका अस्थायी प्रकृतिका भवन भत्काउने र नयाँ भवन बनाइनेछ । त्यहाँ सिंहदरबार बाहिर भएको स्वास्थ्य मन्त्रालय र सिंहदरबारभित्र एउटै भवनमा भएका मन्त्रालयलाई छुट्टै भवन दिइनेछ ।

मास्टर प्लानका अनुसार संघीय संसद सचिवालयका लागि छुट्टै भवन बनाउने योजना छ । ‘संसद सचिवालयका लागि नयाँ भवन निर्माण भएपछि स्वास्थ्य मन्त्रालय त्यस ठाउँमा ल्याउने तयारी गरेका छौं’ घिमिरेले अनलाइनखबरसँग भने, ‘नयाँ भवनको निर्माणका लागि योजना बनिसकेको छ । केही समयमै योजना मन्त्रिपरिषद्मा पेश भएर स्वीकृत भएपछि काम अगाडि बढ्छ ।’

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा.यशोवर्धन प्रधान स्वास्थ्य मन्त्रालयका लागि सिंहदरबारको भीडभाडभन्दा बाहिरै रहेको उपयुक्त ठान्छन् । ‘आम जनतालाई पनि बाहिरको यो मन्त्रालयमा भित्रका अरू मन्त्रालयमा भन्दा पहुँच सहज छ’, उनी भन्छन् ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?