+
+

च्याङ्ग्राको भुवा गुणस्तर अध्ययन गर्न किसानलाई तालिम

रासस रासस
२०७९ चैत ९ गते १९:२६

९ चैत, मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ ।

एक साता लामो सो तालिमपछि स्थानीय किसानका एक सय ६० च्याङ्ग्रा गोठमा गई तालिमप्राप्त किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा आठ सयवटा च्याङ्ग्राको भुवा नमूना सङ्कलन गरिने छ ।

नेपालमा पहिलोचोटी गर्न लागिएको च्याङ्ग्राका भुवाको गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ ।

मुस्ताङमा उत्पादन हुने च्याङ्ग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भुवाको नमूना सङ्कलन गर्न लागिएको हो । यही चैत १३ गतेसम्म च्याङ्ग्रा भुवा संकलन तालिम र चैत १४ देखि २२ सम्म भुवाको नमूना संकलन गरिनेछ ।

युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु-नेपाल व्यापार तथा लगानी कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग सङ्घ, च्याङ्ग्रा पश्मिना किसान सङ्घ तथा नेपाल कृषि अनुसन्धान परिषद्को सहकार्यमा मुस्ताङको घारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गाउँपालिकामा यो तालिम तथा भुवा सङ्कलन कार्यक्रम सञ्चालन गरिँदैछ ।

उच्च गुणस्तरको ठानिएको नेपाली च्याङ्ग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुनसकेको थिएन । च्याङ्ग्रापालक कृषकबाट सङ्कलन हुने भुवाको गुणस्तरबारे पश्मिनाका ग्राहकहरू जानकार हुनु आवश्यक छ ।

कृषकका एक सय ६० गोठमा रहेका च्याङ्ग्राका बथानबाट प्रतिगोठ पाँच–पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनोट गरिनेछ । सङ्कलित नमूनालाई परीक्षणका लागि सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइबर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइने छ ।

यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यको ओडिसा सेन्टर लिमिटेडकी डा.क्यारोल कर्भिङले आठ जना स्थानीय ऊन सङ्कलक किसानलाई ऊन कात्ने तालिम दिँदैछन् । तालिमका सहभागीले यसअघि सन् २०२२ मा गुणस्तरीय कश्मिरी ऊन कात्ने तालिम पाइसकेका छन् ।

‘नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङ्ग्रा भुवाको नमूना सङ्कलन अनिवार्य छ । नेपाली पश्मिनाको मूल्यलाई मजबुत बनाउन यो च्याङ्ग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भुवा सङ्कलन कार्यक्रम आयोजना गरिएको हो’, प्रशिक्षक क्यारोलले भने ।

स्थानीयस्तरमा यस तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले सङ्कलित भुवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?