+
+

बेलायती राजाकै भ्रमण रोकिने गरी पेरिसमा भड्किएको आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १८:२६

काठमाडौं। सरकारले पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि फ्रान्सका जनता यति बेला आन्दोलनमा छन् । यो आन्दोलनले शान्तिपुर्ण संघर्षको संयम गुमाउने खतरा बढ्दै गएको छ । यही आन्दोलनका कारण अन्तत: बेलायतका राजाले आफ्नो आसन्न पेरिस भ्रमण नै रद्द गर्नु परेको छ ।

१६ मार्च देखि फ्रान्सका नागरिक आफ्नो सरकारविरूद्ध सडकमा छन् । फ्रान्सका युवा अधिकारकर्मी एलेक्सिस पोयार्ड भन्छन्- ‘फ्रान्सेली क्रान्ति यता निरन्तर आन्दोलन गर्नु हाम्र‍ो संस्कार नै भइसक्यो। हामी आक्रोशित हुँदा आन्दोलित हुन्छौँ र परिणाम निकाल्नेगरी सडकमा उत्रन्छौँ’ उनले भने।

राष्ट्रपति इम्यानुअल म्याक्रोनले संसदमा मतदान गर्नु नपर्ने प्रावधानको फाइदा उठाउँदै निवृत्तिभरण पाउने सुविधाको उमेर अरु २ वर्ष बढाएपछि फ्रान्स सरकारविरूद्ध सडकमा उत्रिएको हो। नोबेल पुरस्कार विजेता एनी इरानक्स देखि लाखौँ सर्वसाधरण सडकमा आएका हुन्।

राष्ट्रगानमा राष्ट्रिय झण्डा र युनियनको झण्डा फहराउँदै उनीहरूले सरकारी निर्णय फिर्ताका लागि दबाब दिइरहेका छन्।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले संविधानको धारा ४९ को उपधारा ३ को प्रावधानको प्रयोग गर्दै निवृत्तिभरणबारे कानुन ल्याएकी हुन्। यस प्रावधानले सरकारको विशेष प्रस्तावलाई संसदमा मतदान गरिरहनु नपर्ने सुविधा दिएको छ।

सरकारको यो कदम गैरलोकतान्त्रिक रहेको भन्दै युनियन तथा सर्वसाधारणहरू गरी १० लाख मानिसहरू सरकारविरूद्ध उत्रिएका हुन्। पेरिसमा मात्रै १ लाख १९ हजार मानिसहरूले हरेक दिन सरकारलाई कानुन फिर्ता लिन दबाब दिइरहेका छन्।

“मेरो हजुरबुवाले बुढेसकालमा अझै काम गर्नुपर्ने यो कस्तो न्याय हो।सरकारले हामीलाई एक्ल्याउन खोज्ने। हामीलाई भड्काउन खोज्ने।हाम्रो ख्याल नगर्ने सरकारकाविरूद्ध हामी किन आक्रोशित नहुने?’ आन्दोलनकारी मेरीले भनिन् ।

सरकारले यो नियम खारेज गर्नैपर्ने आन्दोलनकारीहरूको माग छ। सरकारले भने कुनै पनि हालतमा यो कानुन फिर्ता नहुने अडान लिएको छ। “हामी शान्तिपूर्ण आन्दोलनलाई सम्मान नै गर्छौँ तर आन्दोलन हिंस्रक बन्दै गएकोप्रति चिन्तित छौँ। यस्तो आन्दोलन सरकारलाई स्वीकार्य छैन। यो कानुन फिर्ता हुनेवाला छैन,” प्रधानमन्त्री बोर्नले जिकिर गरेका छन्।

राष्ट्रपति इम्यानुअल म्याक्रोनले पनि यो कानुन फिर्ता नहुने अडान लिएका छन्। ‘फ्रान्सको वृद्ध जनसंख्याका कारण आर्थिक भार थपिएकाले श्रम गर्ने उमेर अवधि थप भएको हो। यो सबैको साझा धारणा नहुनसक्छ तर राष्ट्रको हितमा गरिएको यो कदम फिर्ता हुनेछैन’ म्याक्रोनले भनेका छन्।

यही कारणले म्याक्रोन झण्डै सत्ताच्युत हुन पुगे । उनले संसदमा विश्वासको मत लिनुपरेको थियो। सरकार ढाल्नका निम्ति २ सय ८७ मत आवश्यक पर्नेमा त्यस प्रस्तावको पक्षमा २ सय ७८ मत खसेको थियो। संसदमा १६ मार्चमा म्याक्रोनले विश्वासको मत लिएका थिए। फ्रान्सका विभिन्न सहरमा अहिले आन्दोलन थप चर्किएको छ। हालसम्म १ सय १ जना गिरफ्तार भएका छन् ।

राज्यलाई कर तिरेर निवृत्तिभरण योजना अन्तर्गत सामाजिक सुरक्षामा योगदान गर्नेहरूले वार्षिक रूपमा ४१ हजार पाउण्ड बराबरको पेन्सन प्राप्त गर्दछन्। यो लिनका लागि ६२ वर्ष उमेरहदबाट ६४ पुगेपछि फ्रान्समा आन्दोलन चर्किएको हो।

शुक्रबार आन्दोलनकारीहरूले बर्डेक्स टाउनहलमा आगजनी गरेका छन्। यही आइतबार बेलायतका राजा चार्ल्सले गर्ने भनिएको फ्रान्स भ्रमण समेत रद्द हुन पुगेको छ । भ्रमणको पूर्व सन्ध्यामा उक्त हलसहित सहरका विभिन्न् भागमा आगजनी भएसँगै राजा चार्ल्स र राष्ट्रपति म्याक्रोनबीच आज फोनवार्ता भएको थियो । त्यसपछि भ्रमण रोकिएको बताइएको छ ।

सरकार निवृत्तिभरण सुविधाबारेको उमेरहद कानुन फिर्ता लिने पक्षमा छैन।आन्दोलकारी फिर्तानभएसम्म पछि नहट्ने अडानमा छन्। यो अवस्थाले आन्दोलन झन चर्किनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूको भनाई छ।

भनिन्छ-आन्दोलनको मामिलामा फ्रान्सेलीहरूलाई कसैले भेट्दैन। ज्याला कटौती हुँदा बैंकमा तोडफोड हुन्छ। कुलीन शिक्षा नीति जारी हुँदा सवारी साधनमा आगो झोसिन्छ। क्रान्तिलाई सडकमा चर्काउनमा फ्रान्सेलीहरू अग्रपंक्तिमै छन्।

फ्रान्स यसपटक फेरि आक्रोशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?