+
+

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि टेण्डर लागत मूल्यांकन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १७:२५

१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि लागत मूल्यांकन सुरु गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९–०८० को बजेटमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडानका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेतले फ्लडलाइट जडानका लागि यही आर्थिक वर्षभित्र टेण्डर आह्वान हुनसक्ने आशा व्यक्त गरे ।

‘हामीसँग यो कामका लागि कुनै अनुभव छैन । दशरथ रंगशाालमा यो काम चीनले सिधै गरिदिएको थियो । त्यसैले विदेशी विशेषज्ञहरुसँग समन्वय गरी लागत संकलनको तयारी गरिरहेका छौं,’ प्रशासन प्रमुख बस्नेतले अनलाइनखबरसँग भने ।

दुई साताअघि आईसीसी विश्वकप लिग टू मा सानदार प्रदर्शनसँगै नेपाल टिम आउने जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा प्रवेश गरेको थियो । त्यसपछि क्रिकेटका लागि घरेलु पूर्वाधारको बेथितिले चर्चा पाएको छ ।

राष्ट्रिय टिमलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल प्रचण्डले त्रिवि मैदानमा फ्लडलाइट जडानका लागि निर्देशन दिएका थिए । आइतबार प्रधानमन्त्रीको स्वकीय सचिवसमेत रहेकी प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमा त्रिवि मैदानको फोटोसप गरेको तस्वीर राख्दै प्रधानमन्त्रीको निर्देशनपछि काम सम्पन्न भएको दावी गरेकी थिइन् ।

तर, नियामक निकाय राखेपले भने अहिलेसम्म टेण्डर प्रक्रियासमेत सुरु गरिसकेको छैन । प्रशासन प्रमुख बस्नेतले फ्लडलाइट जडान गर्ने स्थानको माटो परीक्षण सम्पन्न भएको बताए ।

बस्नेतले थपे, ‘फ्लडलाइटको डिजाइन, बत्तीको संख्या, ब्याकअप जेनेरेटरदेखि डेडिकेटेट विद्युत लाइनका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । नयाँ जिम्मेवारी भएको हुनाले हाम्रो प्राविधिक जनशक्ति पनि विशेषज्ञसँग छलफलमा हुनुहुन्छ ।’

सन् १९९८ मा निर्माण भएको त्रिवि क्रिकेट मैदानलाई अत्याधुनिक सुविधासम्पन्न बनाउन फ्लडलाइट मात्र होइन पभेलियन, डिजिटल स्कोरबोर्ड र प्यारापिट पनि निर्माण गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?