+
+
मन्थन :

बाजा : गहन सांगीतिक विमर्श

‘हामीले पप, रक, मेटल, र्‍याप, ज्याज बजाउनु/गाउनुपर्छ, तर हाम्रो मौलिक आधुनिक र शास्त्रीय संगीतलाई बिर्सिएर होइन । हाम्रा हातहरू अर्केष्ट्रा बाजाहरूमा खेल्नुपर्छ । सँगै च्याब्रुङ, ढोल, मुर्चुङ्गा, सहनाई, बिनायो, सारङ्गी आदिको प्रयोगात्मक र सैद्धान्तिक संभावनामा पनि काम गर्नुपर्छ ।’

मोहन तिम्सिना मोहन तिम्सिना
२०७९ चैत १३ गते ९:४१

हालै अग्रज गायक/संगीतकर्मी दिनेश सुब्बाको एक पुस्तक प्रकाशित भएको छ । सुब्बाले संगीतबद्ध गरेका, ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’, ‘हाम्रो सुन्दर संसार थियो’, ‘तिम्रो हाम्रो मनको दूरी बढे जस्तो छ’, ‘हाँसु कति म आँशुहरू पिई’ जस्ता दर्जनौं लोकप्रिय गीत समावेश एक पुस्तक प्रकाशित भएको छ ।

दार्जीलिङमा जन्मिएर काठमाडौंलाई कर्म क्षेत्र बनाएका सुब्बा विगत तीन दशकदेखि हङकङ बस्दै आएका छन् । हङकङको प्रतिकूल परिवेशमा पनि सुब्बाले संगीतकर्म (स्वसाधना, संगीत सिर्जना/अध्यापन) छोडेका छैनन् भन्ने कुरा पुस्तक पढ्दा स्पष्ट हुन्छ । हङकङको सांगीतिक कार्यक्रमबाट आर्थिक सहयोग संकलन गरी नेपालमा सामाजिक सेवामा योगदान गर्ने काममा पनि सुब्बाको अग्रणी भूमिका छ ।

सुब्बाले लेखन मार्फत संगीत चिन्तन/संगीत शिक्षासँग सम्बन्धित ज्वलन्त सवाल त उठाएकै छन्, उनको पुस्तकमा नेपाली संस्कृति र राष्ट्रप्रतिको प्रेम पनि मुखरित भएको छÙ जुन संगीतकर्मी, नीतिनिर्माता र सर्वसाधारण सबैका लागि मननीय छ ।

संगीत साक्षरता

सांगीतिक सम्पदाको दृष्टिले नेपाल समृद्ध मुलुक हो । तर नेपालीमा संगीत साक्षरता धेरै कमजोर छ । यहाँ पञ्चायत विरोधी राजनीतिक आन्दोलनमा संगीत र संगीतकर्मीहरूको अहम् भूमिका रहृयो, तर बहुदलकालमा नेताहरूले संगीत विधालाई केवल ‘आमसभामा मान्छे बटुल्ने उपाय’ मा सीमित गरे ।

कार्यक्रमहरूमा जब गीत-संगीतको प्रसंग आउँछ तब ‘दर्शकको मनोरञ्जनका लागि’ भनेर प्रस्तुत गर्ने गरिन्छ । यस्तो प्रचलनप्रति लेखकले असहमति जाहेर गरेका छन् । संगीत साक्षरता नहुँदा नै कसैले संगीतलाई ‘मनोरञ्जनको साधन’ मा सीमित गर्दछ भन्ने उनको अभिमत छ ।

यो प्रसंगमा लेखकले चिनियाँहरूबाट सिक्नुपर्ने कुरा गरेका छन् । उनी बस्दै आएको हङकङ नगरलाई लेखकले संगीतमैत्री नगरको रूपमा चित्रित गरेका छन् । उनी भन्दछन्, ‘हङकङमा विश्वस्तरीय संगीतको पठन-पाठन हुन्छ, बाह्रै महिना विश्व संगीतका विभिन्न विधागत प्रस्तुति हेर्न/सुन्न पाइन्छ । चिनियाँ मूलका शतप्रतिशत घरमा संगीत सिकेका व्यक्ति भेटिन्छन् । संगीत साक्षरता हरेक चिनियाँ नागरिकका लागि सामान्य सामाजिक र आत्म गौरवको विषय हो । उनीहरू संगीतलाई मनोरञ्जन भन्दा पनि संस्कार र सम्पदा ठान्दछन् ।’

तर नेपालीको अवस्था यसको ठिक विपरीत छ । सरकारले संगीत विधालाई खासै महत्व दिएको छैन । हाम्रा नानीहरू हिजोआज साँघुरो कोठामा मोबाइल, टिभी र गेम च्याटिङमा व्यस्त छन् । अभिभावकहरू पनि अरू विषयमा प्रशस्त खर्च गर्न तयार हुन्छन् तर संगीतमा खर्च गर्न हिच्किचाउँछन् । लेखक भन्दछन्, ‘यो सांगीतिक साक्षरता नहुनुको परिणाम हो ।’

नेपालीको यो प्रवृत्तिप्रति लेखकले चिन्ता व्यक्त गरेका छन् । नचाएर र राष्ट्रिय गीत सुनाएर मात्र म्युजिक मिसन पूरा हुँदैन । राज्यले संगीतको क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्दछ । बलिया संस्था, दक्ष प्रशिक्षक र उन्नत पाठ्यक्रमको व्यवस्था हुनुपर्दछ । विद्यालयको संगीत शिक्षा गुणस्तरीय हुनुपर्दछ । म्युजिकोलोजी, म्युजिकम्याथिक, म्युजिकथ्यौरी, म्युजिकफिलोसोफी जस्ता विषयमा काम हुनुपर्दछ । यस्ता विषयमा लेखकले विशेष जोड दिएका छन् ।

वाद्यवादकको महत्व

लेखकले संगीत विकासका लागि दक्ष र अनुभवी वाद्यवादकको उपस्थितिलाई उच्च महत्व दिएका छन् । तर नेपालमा वाद्यवादकलाई हेय दृष्टिले हेरिएको कारण उनीहरू वृत्ति-विकास, मिडिया, पुरस्कार र सम्मान आदिबाट वञ्चित रहेको, यही विभेदका कारण दक्षता हुँदाहुँदै पनि हाम्रा वाद्यवादक अन्तर्राष्ट्रियस्तरमा पुग्न नसकेको निचोड निकालेका छन् ।

लेखक भन्दछन्, ‘हामीसँग कुशल वादक थिए, छन् तर उनीहरू सधैं मिडिया, पुरस्कार, सम्मान लगायत गतिविधिबाट वञ्चित रहे ।’ यो सूचीमा उनले मदन परियार, होमनाथ उपाध्याय, रामशरण नेपाली, गणेश परियार, कमल परियार, मोहन सुन्दर, शुभबहादुर सुनाम, नोर्बु छिरिङ, मोहन कार्कीढली, विजय सुनाम, किशोर गुरुङ, तारावीर तुलाधर, सुवर्ण लिम्बू, देव राना, राजु गुरुङ, अच्युतराज भण्डारी, केशव सुनाम, प्रेम औतारी, जेवी लामा, दीपक थापा, तीर्थ गन्धर्व, न्हुच्छे डंगोल, जीवन प्रधान, गौतम लेप्चा, रुद्रमणि विश्वकर्मा लुइस व्याक जस्ता वाद्यवादकको नाम राखेका छन् ।

हिजोआज रियालिटी शो खुब चल्तीको कार्यक्रम हो । तर त्यस्ता रियालिटी शोमा साधना भन्दा बढी ‘नाटक’ देखाइन्छ । यस्ता शोमा वाद्यवादकले राम्रो जज गर्न सक्छन् । तर त्यहाँ उनीहरूलाई स्थान दिइँदैन । यो पनि वाद्यवादकलाई हेर्ने विभेदपूर्ण दृष्टिकै परिणाम हो । लेखक भन्दछन्, ‘वाद्यवादकलाई गेस्ट आर्टिस्ट र गेस्ट जजको रूपमा निम्तो गर्नुपर्दछ । वाद्यवादकलाई सम्मान गरियो भने मात्र नेपाली संगीतलाई माथि उठाउन सकिन्छ ।’

पछिल्लो काल गायकहरू हृवात्तै बढे तर वाद्यवादक बढ्न सकेनन् । यो तथ्यप्रति चिन्ता व्यक्त गर्दै लेखक भन्दछन्, ‘करिब एक दशकमा १० जना जति पनि दक्ष वाद्यवादक आउन नसक्नु तर सयौं भन्दा धेरै गायक गायिका देखा पर्नुलाई विश्लेषणात्मक कोणबाट हेर्दा हाम्रो नेपाली संगीतको विकासमा गतिरोध आएकै मान्नुपर्दछ । बरु १० जना गायक-गायिका तर दुई दर्जन जति मात्र दक्ष वाद्यवादक जन्मेको भए पनि उत्पादक मानिने थियो ।’

बाजा बजाउन सिक्नु भन्दा गीत गाउनु र बनाउनु ठूलो काम हो भन्ने बुझाइले नेपाली संगीतमा यस्तो संकट गुज्रिरहेको हो भन्ने लेखकको ठहर छ ।

हाम्रा संगीतकर्मी कृत्रिम बौद्धिकता र प्रविधिको शिकार भएको तथ्यप्रति पनि लेखकले चिन्ता व्यक्त गरेका छन् । गीत बजाएर प्रत्यक्ष गाएको अभिनय गर्ने चलन र म्युजिक ट्रयाकमा गाउने प्रवृत्तिलाई पनि लेखकले एक किसिमको विकृतिकै रूपमा विश्लेषण गरेका छन् ।

अर्केष्ट्राको आवश्यकता

लेखकले नेपाली अर्केष्ट्रा निर्माणको आवश्यकतामा विशेष जोड गरेका छन् । उनी भन्दछन्, ‘अर्केष्ट्राभित्र सिम्फोनी, कन्सर्टो, क्यान्टाटा, सोनाटा जस्ता विधा हुन्छन् । यसप्रति चासो राख्नु मात्र पनि महानता हो । साहित्य र चित्रकलासँग यस्तो विधाको प्रगाढ सम्बन्धबारे चित्रकार र साहित्यकारले थोरै मात्र सरोकार राख्न सके तिनको बौद्धिक धरातल बलियो हुनेथियो ।’

आफ्नो जीवनकालमा अम्बर गुरुङले यो सवाल पटक-पटक उठाए, तर सुनुवाइ भएन । आज संगीत प्रविधिको विकासले फड्को मारिसक्यो, तर नेपाली अर्केष्ट्राको गर्भधारणसम्म हुनसकेको छैन । यी तथ्य उल्लेख गर्दै लेखकले नीतिनिर्माणको तहमा बसेका मानिसमा संगीत साक्षरता नभएकैले यो समस्या पैदा भएको भन्ने निचोड निकालेका छन् ।

यो प्रसंगमा लेखकले भारतीय समाजमा भएका कामहरूको स्मरण गरेका छन् । नेहरूले भारतीय शास्त्रीय संगीतको विकासका लागि चिन्ता गरेको, आफ्ना सूचना तथा संचार मन्त्री बालकृष्ण विश्वनाथ केसर (जो संगीतज्ञ थिए) लाई यस विषयमा पत्र लेखेको प्रसंग उल्लेख गरेका छन् । आज पनि भारतमा ए.आर. रहमान, के. एम. म्युजिक कन्जर्भेटरी मार्फत अर्केष्ट्राको विकासमा लागिपरेको, मुम्बईमा २००७ यता एमसीपीए (नेशनल सेन्टर फर द पर्फर्मिङ आर्टस्) ले सिम्फोनी अर्केष्ट्राको विकासमा योगदान गरिरहेको तथ्य उल्लेख गरेका छन् ।

लेखकले विदेशी बाजालाई पनि महत्व दिएका छन् । तर नेपाली मौलिक अर्केष्ट्रा निर्माणको काम अझ महत्वको हुने बताएका छन् । उनी भन्दछन्, ‘हामीले पप, रक, मेटल, र्‍याप, ज्याज बजाउनु/गाउनुपर्छ, तर हाम्रो मौलिक आधुनिक र शास्त्रीय संगीतलाई बिर्सिएर होइन । हाम्रा हातहरू अर्केष्ट्रा बाजाहरूमा खेल्नुपर्छ । सँगै च्याब्रुङ, ढोल, मुर्चुङ्गा, सहनाई, बिनायो, सारङ्गी आदिको प्रयोगात्मक र सैद्धान्तिक संभावनामा पनि काम गर्नुपर्छ ।’

संगीत र राजनीति

मूल कुरा, संगीतलाई ‘अनुत्पादक क्षेत्र’ र ‘मनोरञ्जनको साधन’ मान्ने भ्रमबाट राज्य र नागरिक, दुवै मुक्त हुन जरूरी छ । संगीत मानवताको सार्वभौम भाषा हो । यो आत्मगौरव, पहिचान, संस्कृति र सभ्यताको परिचायक हो

लेखकले राजनीतिमा संगीतको उपयोगका अनेकन् प्रसंग उल्लेख गरेका छन् । विश्व विख्यात संगीतज्ञ बिथोवेनका ९ वटा सिम्फोनीमध्ये तेस्रो सिम्फोनीले मुक्ति र स्वतन्त्रताको आवाज मुखरित गरेको मानिएको छ । यो फ्रेञ्च क्रान्ति र नेपोलियन युद्धका योद्धाहरूको आदर्शका लागि सिर्जना गरिएको थियो ।

नवौं सिम्फोनी फ्रान्सेली क्रान्तिको स्वतन्त्रता, समानता र भ्रातृत्वको भावलाई उजागर गर्न सिर्जना गरिएको थियो । हिटलरले यही सिम्फोनी आफ्नो जन्मदिनमा सन् १९४१ मा प्रस्तुत गर्न लगाएका थिए ।

चीनको राजनीतिमा यल्लो रिभर क्यान्टाटाको ठूलो महत्व छ । यो १९३९ मा चियाङ चिङहाईले कम्पोज गरेका थिए । जापानी आक्रमणविरुद्ध चिनियाँ राष्ट्रवादी भावना विस्तार गर्न उक्त क्यान्टाटा कम्पोज गरिएको थियो । माओको नेतृत्वमा सन् १९६६ बाट सुरु भएको ‘सांस्कृतिक क्रान्ति’ मा माओ पत्नी चियाङ चिङले यही क्यान्टाटालाई परिमार्जन सहित उपयोग गरेकी थिइन् ।

यल्लो रिभर अर्केष्ट्राको काम यति चुनौतीपूर्ण थियो, कतिपय सदस्यले त्यो धान्न नसकेर आत्महत्या गरेका थिए भने कतिपयले देश नै त्यागेका थिए । सन् १९७० मा अमेरिकाले कम्बोडियामाथि आक्रमण गर्दा माओले यसै संगीत मार्फत आक्रमणको विरोध गरेका थिए । जवाफमा माओलाई खुशी पार्न तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले फिलाडेल्पिmया अर्केष्ट्रा लिएर चीन आएका थिए । अमेरिकी अर्केष्ट्राले चीन आएर यल्लो रिभर क्यान्टाटा बजाएर प्रस्तुत गरेपछि अमेरिका-चीन सम्बन्धमा सुधार आएको थियो ।

युरोपियन राष्ट्रहरूमा भियना फिलाहार्मोनिकले प्रथमपल्ट यस संगीतलाई बजाएका थिए । ‘सांस्कृतिक क्रान्ति’ को अवसानपछि आजसम्म पनि चिनियाँहरूले गौरवका साथ उक्त संगीत प्रस्तुत गरिरहेका छन् । लेखकले यसरी राजनीतिमा संगीतको उपयोगको इतिहास खोतलेका छन् ।

तर हाम्रो सवालमा भने राजनीतिले वाद्यवादकका कला, प्रतिभा र प्रतिष्ठालाई चिन्न या बुझ्न सकेनन् । वाद्यवादक प्रति प्रकट गरिएको अनभिज्ञतापूर्ण व्यवहारमा परिवर्तन आउन सकेन भनेर नेपाली नीति निर्माताप्रति गुनासो व्यक्त गरेका छन् । यसो हुनुमा संगीत साक्षरताकै कमि हो भन्ने लेखकको ठहर छ ।

संगीत पत्रकारिता

नेपालमा पत्रकारिताका अनेकन् विधा प्रचलित छन् । जस्तो कि खेलकुद, चलचित्र, शिक्षा, वातावरण, राजनीति, आर्थिक आदि । तर ‘संगीत पत्रकारिता’ प्रचलित छैन । यो सवाललाई लेखकले पुस्तकमा महत्वसाथ उठाएका छन् ।

केही समय अघिको ‘धमला-दुर्गेश अन्तर्वार्ता’ प्रकरणको प्रसंग कोट्याउँदै लेखकले यो सवाल उठाएका छन् । लेखक भन्दछन्, ‘दुर्गेश-धमला’ को ठाउँमा दक्ष पत्रकार र बौद्धिक कलाकार भइदिएको भए कुरै फरक हुनेथियो ।’ नेपालमा ‘संगीत पत्रकारिता’ को विकास हुन नसक्दा यसको मार वाद्यवादक माथि परिरहेको छ । वाद्यवादकका बारेमा खोजी गर्ने, उनीहरूको योगदानलाई महत्व दिएर प्रकाशित गर्ने काम हुनसकेको छैन । नेपाली संगीत पछिपर्नुको अर्को कारण यो पनि हो भन्ने लेखकको निष्कर्ष छ ।

संगीत शिक्षाको नवीकरण

वाद्यवाद्यन यस्तो कर्म हो जसले गहिरो लगाव र समयको माग गर्दछ । बाजा बजाउने काममा डुब्दा वाद्यवादकहरूले आर्थिक उपार्जन त गर्न पाउँदैनन् नै, उनीहरूको सामाजिकीकरणको पक्ष पनि कमजोर हुन्छ । यस्ता व्यक्तिहरूलाई राज्यले मद्दत गर्न जरूरी हुन्छ

प्रविधिको क्षेत्रमा आएको क्रान्तिसँगै वाद्ययन्त्रको विकासमा पनि क्रान्ति आएको छ । संगीत शिक्षामा नवीकरण जरूरी भएको छ । तर हाम्रो संगीत शिक्षा नवीकरण भएको छैन । सप्तक ३ वटा -मन्द, मध्य र तार) हुन्छन् भन्दै पढाइराखिएको छ । तर पियानो सात सप्तकको हुन्छ । साधारण किबोर्ड ५ सप्तकको हुन्छ । गिटार ४ सप्तक भन्दा बढी बजाउन सकिन्छ ।

टेम्पो तीन वटा (विलम्बित, मध्य र द्रुत) हुन्छ भन्दै पढाइराखिएको छ । १८औं शताब्दीमा पाश्चात्य शास्त्रीय संगीतमा ६ वटा टेम्पो हुन्थे । डिजिटल मेट्रोनोमले ४० देखि २०० बी.पी.एम. (बिट पर मिनेट) सम्म लय बजाउन सक्छ । यी तथ्यहरूले हाम्रो परम्परागत संगीत शिक्षामा नवीकरण जरूरी छ भन्ने देखाउँछ । तर कसैले यसको पहल गरेका छैनन् । यो तीतो यथार्थलाई लेखकले महत्वका साथ उल्लेख गरेका छन् ।

नेपाली संगीतको काल विभाजन

लेखकले सन् १९७० अघिको समयलाई नेपाली संगीतको पूर्व-आधुनिककाल मानेका छन् । पूर्व-आधुनिककालको अघिल्लो खण्डमा सेतुराम श्रेष्ठ, बद्री श्रेष्ठ, उस्ताद साइँला, मित्रसेन थापा, मेलवादेवी गुरुङ लगायत स्रष्टाहरूको योगदान रहेको, पछिल्लो खण्डमा रत्नदास प्रकाश, रानु देवी, उर्मिला देवी, भैरवबहादुर थापा, हरिप्रसाद रिमाल, धर्मराज थापा, जनार्दन सम, कोइली देवी, नातिकाजी जस्ता स्रष्टाहरूको योगदान रहेको चर्चा गरेका छन् ।

अम्बर गुरुङ र गोपाल योञ्जनको आगमनसँगै नेपाली गीत-संगीतको आधुनिककाल शुरु भएको मानेका छन् । यी दुई व्यक्तित्व ‘स्वच्छन्दतावाद’ र ‘वैज्ञानिक चिन्तन’ बाट प्रभावित थिए । यो अवधिमा मोनोफोनिक ध्वनि व्यवस्थालाई पोलिफोनिकले विस्थापित गर्नु, हार्मोनिक इन्टरभल प्रयोगमा आउनु, स्वरलिपि, कर्डको चाल र कर्ड चालन (मोडुलेसन), तालमा विविधता, स्थायी-अन्तरा संगीतमा वाद्यवादनको नौलो प्रयोग हुनु जस्ता परिघटनाले नेपाली संगीतमा नयाँपनको सुरुवात भएको भनी उल्लेख गरेका छन् ।

रूपक र झप तालमा गीत बन्न थाल्नु, एउटै गीतमा मेजर र माइनर, दुवै स्केलको प्रयोग हुनु, राग आधारित गीत बन्न थाल्नु, ‘वर्जित स्वर’ लाई कुशलतापूर्वक प्रयोग गरी लयकारी गीत सिर्जना हुन थाल्नु, तालको चातुर्यपूर्ण प्रयोग हुन थाल्नुलाई पनि परिवर्तनको प्रमाण मानिएको छ ।

यी सबै काममा मूलतः गोपाल योञ्जन र अमर गुरुङको योगदान रहृयो । लेखक भन्दछन्, ‘योञ्जन र गुरुङमा सिर्जनात्मक चेतना र प्राविधिक दक्षता दुवैको योग भेटिन्छ ।’

तत्कालीन संगीतकर्मीहरूको विशेषता एक व्यक्ति कुनै एक वाद्यवादनमा खास लगाव राख्दथे भन्ने तथ्य पनि लेखकले उल्लेख गरेका छन् । जस्तो कि अम्बर गुरुङ – भ्वाइलिन, शरण प्रधान – बेञ्जो/मेन्डोलियन, रञ्जित गजमेर – मादल/तबला ।

नेपाली वाद्ययन्त्रको सवाल

नेपाली वाद्ययन्त्रहरूको आधुनिकीकरणको सवाल पनि लेखकले महत्वका साथ उठाएका छन् । यो विषयमा लेखकले अम्बर गुरुङको प्रसंग जोडेका छन् । अन्तर्राष्ट्रिय संगीतको मापदण्ड अनुसार मध्य स्वर ‘ध’ (ए) लाई एकपल्ट बजाउँदा यसको कम्पन प्रति सेकेण्ड ४४० हर्ज हुनुपर्दछ । पाश्चात्य वाद्ययन्त्रहरू सबै यही मान्यताका आधारमा निर्माण गरिएको हुन्छ ।

तर हाम्रा कतिपय बाजा यो मान्यता अनुसार ट्युनिङ हुँदैनन् । यो तथ्य राख्दै कुनै कार्यक्रममा अम्बर गुरुङले सहभागीलाई प्रश्न गरेका थिए- हामीले अन्तर्राष्ट्रिय मान्यतामा ढल्ने कि आफ्नै पारामा बजाउने ?

लेखक भन्दछन्, ‘हाम्रा लोकबाजाहरूको विकासका निम्ति विस्तृत अध्ययन र विश्लेषण हुन आवश्यक छ । विकास भन्नाले बाजाहरूको प्रवर्धन गर्नु मात्र नभएर पुनर्निर्माण (रिक्रिएट) र पुनःआकार (रिसेप) दिनु पनि हो । हाम्रा मौलिक बाजाहरूको अर्केष्ट्रा बनाउनु जरूरी छ । हामीले बाजाहरूको पुनःआकार र पुनर्निर्माण गर्नुपर्दछ ।’

यस सम्बन्धमा अन्य देशहरूका अनुभवबाट सिक्न सकिने कुरा पनि लेखकले सँगै उल्लेख गरेका छन् । हङकङ चाइनिज अर्केष्ट्राले गहु जातको बाजालाई ठूलो आकारमा पुनर्निर्माण गरेर वेश टोनको अभावलाई पूर्ति गरेको, विश्व प्रसिद्ध संगीतकार टान डुनले ‘बुद्ध प्यासन’ नामक सिम्फोनी सिर्जना गर्नुअघि चाइनाका प्राचीनकालीन गुफामा कुँदिएका लौका आकारका लोप भइसकेका पिपासित मिल्दोजुल्दो बाजाहरूको चित्र अध्ययन अनुसन्धन गरेको, त्यस आधारमा बाजाको पुनर्निर्माण गरेको, बाजा उत्पादनका लागि लौकाको खेती नै गरेको प्रसंग उल्लेख गरेका छन् ।

नीति-निर्मातालाई सुझाव

लेखकले उठाएका सवाल नेपाली संगीतकर्मी र नीति-निर्माता सबैका लागि मार्गदर्शक बन्न सक्छन् । नेपाली अर्केष्ट्रा निर्माण नगरी नेपाली संगीत उचाइमा उठ्दैन । तर राज्यले जिम्मा लिंदा मात्र यो काम सफल हुन्छ । यो काम सफल बनाउन नेपाली परम्परागत बाजा माथि लामो अनुसन्धान जरूरी हुन्छ । प्रचलित बाजाहरूको पुनर्निर्माण र पुनःआकार दिनुपर्ने हुन्छ । विशेषज्ञहरूको टोली निर्माण र पर्याप्त बजेट विनियोजन गर्नु जरूरी हुन्छ । राज्यले यसतर्फ ध्यान दिनै पर्दछ ।

वाद्यवाद्यन यस्तो कर्म हो जसले गहिरो लगाव र समयको माग गर्दछ । बाजा बजाउने काममा डुब्दा वाद्यवादकहरूले आर्थिक उपार्जन त गर्न पाउँदैनन् नै, उनीहरूको सामाजिकीकरणको पक्ष पनि कमजोर हुन्छ । यस्ता व्यक्तिहरूलाई राज्यले मद्दत गर्न जरूरी हुन्छ ।

नेपालमा संगीतको विकास गर्ने हो भने समावेशीकरणको अवधारणामा एउटा पक्षलाई थप गर्नु जरूरी देखिन्छ । जोखिममा रहेका कलाकारहरूलाई पनि अब मूलप्रवाहीकरण गर्नुपर्दछ । उनीहरूलाई विशेषाधिकारको व्यवस्था गर्नुपर्दछ । यसो गर्दा मात्र कलाकार पलायन हुने समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

प्रविधिले दिएको उपलब्धि अनुकूल संगीत शिक्षाको परम्परागत पाठ्यक्रममा परिमार्जन गर्नुपर्दछ । कलाकारहरूको ज्ञान र सीप मापनका लागि ‘संगीत बोर्ड’ गठन हुनुपर्दछ । विश्वविद्यालयका पाठ्यक्रममा ‘संगीत पत्रकारिता’ को विषय समावेश गर्नुपर्दछ । पत्रकारिता सम्बद्ध संस्थाहरूले ‘संगीत पत्रकारिता’ को विधामा तालिम चलाउनुपर्दछ ।

मूल कुरा, संगीतलाई ‘अनुत्पादक क्षेत्र’ र ‘मनोरञ्जनको साधन’ मान्ने भ्रमबाट राज्य र नागरिक, दुवै मुक्त हुन जरूरी छ । संगीत मानवताको सार्वभौम भाषा हो । यो आत्मगौरव, पहिचान, संस्कृति र सभ्यताको परिचायक हो । यसरी बुझ्दा मात्र नेपाली समाजमा संगीत साक्षरता अभिवृद्धि हुनेछ । लेखक/संगीतकर्मी दिनेश सुब्बाले उठाएका सवालले नेपाली सरोकारवालालाई सोच्न बाध्य पार्नेछ । लेखकलाई धन्यवाद तथा हार्दिक बधाई ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?