 
																			१३ चैत, दाङ । भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज प्रभावित भएको छ ।
त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा तालाबन्दी गरिदिएका हुन् ।
वलीले ८ कोठे र ४ कोठे गरी दुईवटा भवनमा चैत ३ गतेदेखि ताला लगाएको प्रधानाध्यापक हिक्मत रोकाले जानकारी दिए ।
‘दुईवटै भवनमा तालाबन्दी गरेपछि अहिले वार्षिक परीक्षा र पढाइमा समस्या भइरहेको छ,’ उनले भने, ‘कक्षा १–९ सम्मको वार्षिक परीक्षामा एउटै बेन्चमा ४ जनासम्म विद्यार्थी राखेर परीक्षा लिनुपर्ने बाध्यता छ ।’
उनले ११ र १२ कक्षाको तथा प्राविधिक विषयतर्फ कम्प्युटर इञ्जिनियरिङको पढाइ प्रभावित भएको पनि बताए ।
चैत १७ गतेदेखि सुरु हुने एसईई परीक्षाका लागि उक्त विद्यालयमा सेन्टर तोकिएको छ । तर विद्यालयमा लागेको तालाका कारण के गर्ने भनेर निर्णय गर्न नसकेको प्रधानाध्यापक रोका बताउँछन् ।
विद्यार्थी पढ्ने कक्षाकोठादेखि प्रशासनिक कक्ष समेत उक्त भवनमा भएकाले तालाबन्दी हुँदा अप्ठेरो भएको उनले बताए । ‘ताला लगाउँदा सबै काम गाह्रो भएको छ,’ उनले भने, ‘ताला खोल्न भनेर आग्रह गरिरहेका छौं तर निर्माण व्यवसायीले मानेका छैनन् ।’

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत २०७७/८८ मा दुई तलाको आठ कोठे र २०७८/७९ मा चार कोठे गरी दुईवटा भवन निर्माण गरिएको छ । दुई करोड ५० लाख लागत रहेको उक्त भवनको जिम्मा जिज्ञासु वीसी निर्माण सेवाले पाएको थियो । असोजमा निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सरेको थियो ।
विद्यालय प्रशासनका अनुसार निर्माण कम्पनीले अन्तिम भुक्तानी वाफत ४५ लाख रुपैयाँ पाउन बाँकी छ । तर विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको प्रधानाध्यापक रोकाले बताए ।
विद्यालय भवन निर्माणका क्रममा स्टिमेट अनुसार सामग्री प्रयोग नभएको भनेर ठेकेदारविरुद्ध अख्तियारमा मुद्दा परेकाले प्राविधिकले मूल्यांकन गर्न नमानेको उनले बताए । ‘रकम विद्यालयको खातामा छ तर प्राविधिकले मूल्यांकन नगरिदिँदा भुक्तानी गर्न सकिएको छैन,’ उनले भने ।
त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले अख्तियारले छानबिन गरिरहेकाले गाउँपालिकाका प्राविधिक गएर भवनको अन्तिम रिपोर्ट दिन नसकेको बताए । ‘त्यस विषयमा अख्तियारले नै मुद्दा हेरिरहेकाले प्रविधिक रुपमा मूल्यांकन गराउन सकिएको छैन,’ उनले भने, ‘अख्तियारले मुद्दा छिनोफानो नगरेसम्म भुक्तानीमा समस्या छ ।’

उनले विद्यालयमा लागेको ताला खोल्न आफूले सहजीकरण गर्ने बताए । ‘केहीदिन अघि निर्माण व्यवसायीसँग छलफल पछि ताला खोलिएको थियो,’ उनले भने, ‘अहिले फेरि ताला लागेकोबारे मलाई जानकारी भएन, छिट्टै बुझेर ताला खोल्न पहल गर्छु ।’
यसबारे निर्माण व्यवसायी दामोदर वलीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4