
१३ चैत, काठमाडौं । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) का कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनका क्रममा उनीहरुले आइतबार आईसीपीको कामकाज ठप्प पारेका थिए । कर्मचारीले आन्दोलन फिर्ता लिएसँगै सोमबारदेखि कामकाज पुनः सुरु भएको छ ।
इन्टर मोडल यातायात विकास समितिले सञ्चालन गर्दै आएको आईसीपीमा करारमा कर्मचारी राखिएको थियो । अप्रिल १ अर्थात १८ चैतदेखि निजी क्षेत्रले सञ्चालन गर्ने भएपछि उनीहरुलाई सेवाबाट हटाइँदैछ । कतिपय कर्मचारी आईसीपी सञ्चालनमा आएदेखि नै कार्यरत छन् ।
उनीहरुले रोजगारीको सुनिश्चितता हुनुपर्ने, उपादान पाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए । उनीहरुले प्रोत्साहन भत्ता स्वरुप हरेक वर्ष एक महिना बराबरको रकम पनि माग गरेका थिए ।
विकास समितिका कार्यकारी निर्देशक आशिषकुमार गजुरेल वीरगञ्ज पुगेर कर्मचारीसँग आइतबार नै वार्ता गरेका थिए । नियम कानुनले मिल्ने माग पुरा गर्ने आश्वासन दिएपछि उनीहरुले आन्दोलन फिर्ता लिएर कामकाज सुचारु गरेका हुन् ।
‘रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गरेका छौं, उपदान दिने व्यवस्था नियममा छैन,’ उनले भने, ‘नियमावलीमा नभएको कुरा दिन सकिदैन भनेर सम्झाएपछि उहाँहरुले काम सुचारु गर्नुभएको छ ।’
समस्या समाधानका लागि कर्मचारीसँग सोमबार बिहान पनि छलफल भएको उनले बताए । विकास समितिका अनुसार आईसीपीमा ३३ जना करारका कर्मचारी कार्यरत छन् । कर्मचारी शर्त तथा नियमावली अनुसार मात्रै सेवा सुविधा दिन सकिने विकास समितिले जनाएको एक कर्मचारीले बताए ।
कर्मचारी आन्दोलित हुँदा आइतबार आईसीपी तर्फको काम ठप्प भएको थियो । आईसीपीको काम बन्द गरिएको भएपनि वीरगञ्ज भन्सार कार्यालयको काम भने सुचारु नै थियो । कार्यालयले आइतबार पनि जाँचपासको काम गरेका सूचना अधिकारी एवं भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले जानकारी दिए । ‘जाँचपासको काम रोकिएको हैन, आयातकर्ताहरुले भन्सार तिरेर बसे, आईसीपी खुलेपछि गाडी छुट्यो’ उनले भने ।
आइतबार ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १६ करोड ६८ लाख मात्रै उठेको उनले बताए । ‘आईसीपीको आन्दोलनले नभएर कारोबारमा आएको कमीले राजस्वमा असर परेको हो’ भन्सार अधिकृत ढकालले भने ।
प्रतिक्रिया 4