+
+

पुल्चोक इन्जिनियरिङ कलेज २ वर्षभित्र प्रविधिमैत्री बन्छ : स्ववियु अध्यक्ष अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते १५:५९

१४ चैत, काठमाडौं । ५ चैतमा भएको चुनावबाट पुल्चोक इन्जिनियरिङ क्याम्पस स्ववियु अध्यक्षमा निर्वाचित भएपछि विराज अर्याल आफ्नो प्राथमिकता कलेजलाई प्रविधिमैत्री बनाउने रहेको बताउँछन् ।

‘ट्वेन्टी ग्यारेन्टी’ प्रतिबद्धता पत्र लिएर मत मागेको एमालेको विद्यार्थी संगठनका अर्याल सिभिल इन्जिनियरको अन्तिम सेमेस्टरमा अध्ययनरत छन् । अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंलाई स्ववियु अध्यक्षमा विद्यार्थीले किन रोजे होलान् ?

म भर्ना भएदेखि विद्यार्थी राजनीतिबाट क्याम्पसमा परिवर्तन ल्याउन सकिन्छ, विद्यार्थीका मुद्दाहरू समाधान गर्न सकिन्छ भनेर सक्रिय भएँ । अग्रज दाइहरूसँग सिक्दै, काम गर्दै जाँदा सँगै पढिरहेका साथीहरूबीच म परिचित भएँ । यसरी काम गर्दै जाँदा साथीसंगी तथा भाइबहिनीको समस्या हल गर्नका लागि क्याम्पस प्रशासनसँग, नेतृत्वसँग पहल गरें । सबै विद्यार्थीको गुनासो सुन्ने र समाधानको लागि पहल गर्ने, क्याम्पसमा सुधार गर्नुपर्ने विषयमा नेतृत्व लिएको कारण मेरो नेतृत्व क्षमता ठीक छ भन्ने छाप परेकाले मतदान गर्नुभयो होला ।

तपाईंहरूको प्यानल समावेशी देखिएन, किन त्यस्तो भयो ?

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा राजनीतिसँग जोडिएका विद्यार्थी एकदमै कम छन् । तर अरू सबै संगठन भन्दा हामीले समावेशी बनाउने प्रयास गरेका छौं । लिंग, भूगोल र विभागको प्रतिनिधित्व हुने खालको समावेशी बनाएका छौं । प्रत्यक्ष प्रणालीमा समेट्न नसकेकालाई समानुपातिक प्रणालीबाट समेटेका छौं ।

नेपालको पुरानोमध्येको इन्जिनियरिङ कलेजलाई अझै प्रविधिमैत्री बनाउने भनेर चुनावी एजेण्डा बनाउनुपर्ने स्थिति छ । यो प्रतिबद्धता पूरा गर्न सक्नुहुन्छ ?

पुल्चोक इन्जिनियरिङ कलेज नेपालको उत्कृष्ट इन्जिनियरिङ कलेज हो । तर यति हुँदै गर्दा पनि प्रविधिमैत्री हुनसकेको छैन । हामी परीक्षा फारम अनलाइन भर्छौं तर फेरि कलेज गएर हार्डकपी बुझाउनैपर्छ, यो बाध्यता कहिलेसम्म ? कुनै शिक्षकले प्रोजेक्टर गर्न चाहनुभयो भने आफैं लिएर जानुपर्छ । कलेजमा बुझाउने शुल्क बैंकमा गएर भौचर ल्याएर तिर्नुपर्ने अवस्था छ ।

सामान्य चटपटे पसलमा स्क्यान एन्ड पेको व्यवस्था छ तर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा छैन । सुन्दा सामान्य लाग्ने तर यी समस्या समाधान हुँदा विद्यार्थीमा ठूलो प्रभाव पार्ने कुराहरूमा हामीले प्रविधिमैत्री बनाउने भनेका छौं र त्यो हाम्रो पहलमा अबको दुई वर्षभित्र हुन्छ ।

प्रतिबद्धतापत्रमा कलेजलाई महिलामैत्री बनाउने पनि उल्लेख छ, यो के भन्न खोज्नुभएको ?

हाम्रो क्याम्पसमा महिला साथीहरूले विभिन्न समस्या भोग्नु परिरहेको छ । तीन तलाको भवनमा एउटा तलामा मात्रै महिला शौचालय छ, कुनै विभागमा महिला शौचालय नै छैन, भएका शौचालयमा सरसफाइको अभाव, स्यानिटरी प्याड नपाउने समस्या छन् । अर्को हरेक क्षेत्रमा समान सहभागिताको लागि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक गल्र्स संगठनसँग सहकार्य गरेर काम गर्ने योजना छ ।

तपाईं अन्तिम सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ । दुईवर्षे कार्यकालको लागि चुनिनुभएको छ, कसरी काम गर्नुहुन्छ ?

म देशमा बसेर केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको व्यक्ति हुँ । त्यसैले यहाँ केही गर्नको लागि बीईको अध्ययन मात्रै पर्याप्त छैन । त्यसैले म पुल्चोकमा नै स्नातकोत्तर अध्ययन गर्ने योजनामा छु ।

स्नातकोत्तर तयारी गर्न एक वर्ष लाग्छ, लाइसेन्सको तयारी गर्दा स्ववियुको अफिसमा बसेर गर्न सक्छु । अर्को एक वर्षपछि त म स्नातकोत्तरमा भर्ना हुने नै छु । त्यसैले पास भएर निस्कँदैमा आफूले गरेको प्रतिबद्धता पूरा गर्न त्यति ठूलो समस्या हुँदैन ।

दुई वर्षको कार्यकालमा २० प्रतिबद्धतामध्ये कति पूरा हुनेछन् ?

हामीले ल्याएको ‘ट्वेन्टी ग्यारेन्टी’ योजना सबै दुई वर्षमा सकिने र गर्नैपर्ने खालका छन् । त्यसैले त्यहाँ उल्लेख भएका सबैजसो पूरा हुन्छन् । भौतिक संरचना निर्माणका कुरा, छात्रावास बनाउने कुराहरू सम्पन्न नहोलान् तर त्यसको पनि आवश्यक तयारी चाहिं थालनी हुन्छ । त्यसैले हाम्रो प्रतिबद्धता पूरा गराउन हामी सबै आक्रामक तरिकाले काम गर्छौं । हामी हाम्रो काम स्ववियु नेतृत्वलाई भविष्यसम्म उदाहरण बनाउने योजनामा छौं ।

तपाईंहरूको योजनामा क्याम्पस प्रशासनको साथ होला ?

विद्यार्थी नेतृत्व र प्रशासनको राजनीतिक विचारधारा नमिल्दा काम गर्न बाधा अवरोध हुने, विद्यार्थीको माग पूरा नगर्ने प्रवृत्ति पुल्चोक इन्जिनियरिङ क्याम्पसमा छैन ।

यो यस्तो प्राज्ञिक थलो हो जहाँ शिक्षक, विद्यार्थीबीचको राजनीतिक आस्थाले बाधा पुग्दैन । पुल्चोक क्याम्पसमा क्याम्पसको हकहितको लागि विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच मतभेद छैन । त्यसैले पुल्चोक इन्जिनियरिङ कलेजको राजनीति अरू क्याम्पसको भन्दा फरक छ । निर्वाचनमा ९५ प्रतिशत मत खस्नुले पनि त्यसको पुष्टि गर्छ ।

तस्वीर/भिडियो  : विकास श्रेष्ठ

भिडियो सम्पादन : नवराज महरा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?