काठमाडौं । १२ वर्षअघि फिल्म ‘स्वर’मार्फत नेपाली रजतपटमा पाइला टेकेकी बेनिशा हमालले त्यसयता ११ वटा फिल्ममा अभिनय गरिन् । तीमध्ये अधिकांश फिल्ममा अभिनय कलाको प्रशंसा भएपनि व्यावसायिक रुपमा सफलताको स्वाद भने चाख्न पाएकी थिइनन् । यसका लागि उनले अभिनय यात्राको १२ औं वर्षको १२ औं फिल्म ‘छक्कापञ्जा ४’ सम्म कुर्नुपर्यो ।
दीपकराज गिरी र दीपाश्री निरौलासहित उनको शीर्ष भूमिका रहेको ‘छक्कापञ्जा ४’ ले बक्स अफिसमा उछाल कमाइ गरिरहँदा यसको जस बेनिशालाई पनि मिलिरहेको छ । अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा बेनिशाले भनिन्, ‘यो फिल्मपछि यति धेरै सकारात्मक मेसेजहरु आइरहेका छन् कि यसबाट मन प्रफुल्लित हुने त छँदैछ, अझै राम्रो काम गर्न ऊर्जा मिलेको छ र कर्तव्यवोध पनि हुने रहेछ ।’
हुन त बेनिशाले कालोपोथी, ब्लाइन्ड रक्स, झ्यानाकुटी जस्ता फिल्ममा फरक-फरक पात्र र परिवेशको भूमिका निर्वाह गरेर आफ्नो अभिनयको जादू देखाइसकेकी थिइन् । यद्यपि फिल्म व्यवसाय पनि हो र यसमा बक्स अफिसको व्यापारको भूमिका पनि उत्तिकै हुन्छ । बेनिशालाई अब चाहिं आफू पूर्ण अभिनेत्री बनें भन्ने लाग्छ । भन्छिन्, ‘हुन मैले गरेका हरेक फिल्मलाई सफल नै मान्छु । हरेक फिल्ममा गरेका चरित्रहरुले धेरै कुरा सिकाएका छन् । १२ वर्षमा गरेको चरित्र र अभिनयले नै छक्कापञ्जा ४ सम्मको यात्रा तय भएको हो ।’
बेनिशाले नेपाली फिल्मको प्राविधिक पक्षमा सुधार भइरहेपनि ‘स्क्रिप्टिङ’मा समस्या नै रहेको औंल्याइन् । ‘हामी सायद फ्लोरमा जान धेरै हतारिन्छौं, प्रि–प्रोडक्सनमा कम मेहनत गछौं,’ उनी भन्छिन् । उनले महिला र पुरुष कलाकारबीच भूमिकादेखि पारिश्रमिकसम्मको विभेदमा पनि कमी आउन नसकेको बताइन् । सञ्चारकर्मबाट फिल्म क्षेत्रको यात्रा तय गरेकी बेनिशालाई सुरुमा परिवारबाट अझ भनौं बुवाबाट खास साथ थिएन । तर आफ्नो केही जिद्दी र इच्छाले निरन्तर यात्रा तय गरेको उनले सुनाइन् ।
गफ स्टेसनमा बेनिशाले आफ्नो फिल्मी सपना, नेपाली फिल्मको अवस्था, विवाह, सम्बन्ध र जीवनका विभिन्न आयामबारे खुलेर कुरा गरेकी छन् । अभिनेत्री बेनिशा हमालसँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिनेछ ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4