+
+

नारायणी अस्पतालमा ५५ लाखको डायलायसिस कक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १४:३२

१५ चैत, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ५५ लाख रुपैयाँको लागतमा डायलायसिस कक्ष तयार गरिएको छ । सिद्धार्थ बैंकले राउण्ड टेबल नेपालसँगको समन्वयमा डायलायसिस कक्ष तयार गरेको हो ।

सिद्धार्थ बैंकले डायलायसिस कक्ष निर्माणका लागि २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग सम्झौता गरेको थियो । सम्झौता बमोजिम बैंकले उपलब्ध गराएको ५५ लाखमा महावीर कन्स्ट्रक्सनले डायलायसिस कक्ष निर्माण गरेको थियो ।

बैंकले बुधबार औपचारिक रुपमा डायलायसिस कक्ष अस्पताललाई हस्तान्तरण गरेको छ । नयाँ डायलायसिस कक्षबाट अस्पतालले शुक्रबारदेखि नै सेवा प्रवाह गरिरहेको छ ।

कक्षमा १५ वटा डायलायसिस मेसिन जडान गरिएको छ । जसमध्ये १२ वटा मेसिन नियमित डायलायसिसका लागि, २ वटा इमर्जेन्सी डायलायसिस र एउटा एचआईभी, हेपाटाइटीस बी र हेपाटाइटीस सीबाट संक्रमित मृगौला रोगीहरुको डायलायसिसका लागि प्रयोग गरिने अस्पतालले जनाएको छ । इमर्जेन्सी बाहेक नेपाल सरकारको अनुदानमा अस्पतालले निःशुल्क डायलायसिस सेवा प्रदान गर्दै आएको छ ।

इमर्जेन्सी डायलायसिसका लागि एक पटकको ५ हजार रुपैयाँ दर तोकिएको छ । यसअघि इमर्जेन्सी सहित ५ वटा मेसिनबाट सेवा प्रदान हुँदै आएको थियो ।

पालो कुरेर बसेका मृगौला रोगीलाई समेत समेटेर तत्कालका लागि ७ वटा मेसिनले सेवा प्रवाह गर्दा पुग्ने अस्पताल नर्सिङ प्रशासक श्रुति साहले जानकारी दिइन् । मृगौला रोगीलाई सातामा दुई पटक डायलायसिस गर्नुपर्छ । हाल अस्पतालबाट ३४ जना मृृगौला रोगीले सेवा लिइरहेका छन् ।

सिद्धार्थ बैंकका सञ्चालक समिति अध्यक्ष मनोज केडियाले अस्पतालमा डायलाइसिसका बिरामीको उपचारका लागि ठाउँको अभाव भएको जानकारी पाएपछि सहयोग गरेको बताए । आगामी दिनमा अस्पतालको सेवा प्रवाहलाई चुस्त दुरुस्त एवं व्यवस्थित र प्रभावकारी बनाउन सक्दो भूमिका निर्वाह गर्ने उनले बताए । ‘नारायणी अस्पताल कमजोर आर्थिक अवस्थाका र मध्यम वर्गीय परिवारको आशाको केन्द्र हो’, उनले भने, ‘यसलाई व्यवस्थित बनाउन र यहाँको सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक सहयोग गर्नु हामी सबैको दायित्व हो ।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रञ्जन साहले अस्पतालमा साँघुरो कोठामा डायलायसिस गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले आगामी दिनमा अस्पतालबाट प्रदान हुने सेवाको दायरालाई अझै फराकिलो पार्दै लैजाने प्रतिबद्धता समेत जनाए ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डायलायसिस कक्षको सदुपयोग हुने र प्रभावित बिरामीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । अस्पताल वातावरण हेरेरै बिरामीको आधा रोग निको हुने गरी व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?