+
+

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना सकियो

रासस रासस
२०७९ चैत १५ गते १५:१६

१५ चैत,  कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ ।

राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो ।

नेपाल पन्छी संरक्षण सङ्घका परियोजना सहायक हिरुलाल डगौरा थारूले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताए ।

‘यो विश्वकै अति संकटापन्न पन्छी हो’, डगौराले भने, ‘खरमजुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ ।’

उनले राष्ट्रिय रुपमा खरमजुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिने बताए । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले एक सातासम्म निकुञ्जमा खरमजुर पाइने स्थानमा अध्ययन गरिएको बताए । उनले भने, ‘सङ्घले हाम्रो विभागमा रिपोर्ट बुझाएपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिन्छ ।’

ग्रीष्मयामको सुरुवातदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय भएकाले यो समयमा खरमजुर निकुञ्जको घाँसेमैदानमा देख्न पाइन्छ ।

निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, हरैया, लालपानी र अर्जुनी लगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरी गणना गरिएको थियो ।

सन् २०२१ मा गरिएको गणना अनुसार शुक्लाफाँटामा आठवटा खरमजुर रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ चार सय ५४ प्रजातिका चरा रहेका छन्।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?