+
+
विचार :

स्कटल्याण्डमा हम्जा मुख्यमन्त्री बन्दा नेपाल सम्झिएँ

पाकिस्तानी मूलका ३७ वर्षीय मुस्लिम धर्म मान्ने युवा स्कटल्याण्डको प्रमुख राजनीतिक दल स्कटिस नेशनल पार्टी (एसएनपी) को नेता (प्रमुख)मा चुनिए । लगत्तै अर्को दिन उनी स्कटल्याण्डको फस्ट मिनिस्टर (मुख्य मन्त्री) को रूपमा स्कटिस संसदमा निर्वाचित भए ।

डा. बच्चुकैलाश कैनी डा. बच्चुकैलाश कैनी
२०७९ चैत १५ गते १७:४०

संयुक्त अधिराज्य वा बेलायतका चार राज्यमध्ये एक हो– स्कटल्याण्ड । स्कटल्याण्डको आफ्नै संसद र सरकार छ । २७ मार्च २०२३ मा स्कटल्याण्ड र बेलायतको इतिहासमा एउटा अभूतपूर्व घटना भयो । पाकिस्तानी मूलका ३७ वर्षीय मुस्लिम धर्म मान्ने युवा स्कटल्याण्डको प्रमुख राजनीतिक दल स्कटिस नेशनल पार्टी (एसएनपी) को नेता (प्रमुख) मा चुनिए । लगत्तै अर्को दिन उनी स्कटल्याण्डको फस्ट मिनिस्टर (वा मुख्य मन्त्री) का रूपमा स्कटिस संसदमा निर्वाचित भए ।

करिब ५५ लाख जनसंख्या भएको स्कटल्याण्डमा जम्मा ७७ हजार जति मुस्लिम धर्म मान्ने जनसंख्या छ । यसको अर्थ करिब १.४ प्रतिशत मुस्लिमहरूको जनसंख्या छ, स्कटल्याण्डमा । यो अर्थमा हम्जा अल्पसंख्यक समुदायका एक युवा हुन् ।

यिनी मात्रै हैनन्, स्कटल्याण्डको अर्को मुख्य राजनीतिक दल लेबर पार्टीको नेता (प्रमुख) को रूपमा सेप्टेम्बर २०२१ मा निर्वाचित ३८ वर्षीय अनास सरवार पनि मुस्लिम समुदायकै हुन् । सबैलाई थाहा भएकै कुरा हो, बेलायतका हालका प्रधानमन्त्री ऋषि सुनक जम्मा ४२ वर्षका छन् र उनी भारतीय मूलका बेलायती नागरिक हुन् ।

यी सबै देश हाँक्ने मान्छे वा नेताहरू अल्पसंख्यक समुदायका हुन् । उनीहरूले न दशकौं राजनीतिक दलमा काम गरेका वा समय लगानी गरे न त परिवारमा अरू कोही नेता थिए । यी सबै आफ्नै क्षमता र कामले देश हाँक्ने पदमा पुगेका हुन् ।

बेलायतमा साँच्चै नै प्रजातान्त्रिक मूल्य र मान्यताको अभ्यास हुन्छ । यो भनेको विधिको शासन, समानता, व्यक्तिगत अधिकार र स्वतन्त्रता, नीति र नियम बनाउन नागरिकहरूको संलग्नता, पारदर्शिता र जवाफदेहिता आदि हुन् । यी मूल्य र मान्यताहरू बेलायतका हरेक तह र तप्कामा उत्तिकै लागू हुन्छन् । बेलायत जस्तो मुलुकमा देश हाँक्न अल्पसंख्यक समुदायका युवाहरू नेतृत्वमा पुग्नु समान अवसरको एउटा अनुपम उदाहरण हो ।

डा. बच्चुकैलाश कैनी

बेलायतमा सबैको लागि समान अवसरको कुरा गर्दा म आफ्नै कुरा सम्झन्छु । सन् २००५ को अन्त्यतिर म बेलायत आएँ । सन् २०१० मा ट्रेड युनियन मार्फत राजनीतिक यात्रा सुरु गरेको मैले सन् २०१४ मा बेलायतको प्रमुख राजनीतिक दल लेबर पार्टीको सदस्यता लिएको थिएँ । यसको लगत्तै २०१५ मा म बेलायतको एउटा जिल्ला परिषद (डार्टफोर्ड बरो काउन्सिल) को काउन्सिलरको रूपमा निर्वाचन लड्ने मौका पाएँ र निर्वाचित पनि भएँ ।

त्यस्तै, सन् २०१७ को बेलायतको आम निर्वाचनमा लेबर पार्टीले डार्टफोर्ड निर्वाचन क्षेत्रको लागि मलाई सांसदको उम्मेदवार बनायो ।  मैले निर्वाचन हारे पनि यहाँका मतदाताले मलाई १८ हजार २४ मत दिएका थिए ।

आशा छ, नेपालमा पनि हम्जा जस्तै युवाहरूले छिट्टै समृद्ध र समुन्नत राष्ट्र निर्माण गर्ने महान कार्यमा नेतृत्व लिने अवसर पाउने छन् । नेपालमा पनि क्षमतावानका लागि उचित अवसर मिल्नेछ र हरेक तह र तप्कामा विधिको शासन लागू हुनेछ ।

म नेपालमा जन्मे हुर्केर, सरकारी स्कुल पढेको र ३५ वर्षको उमेरमा बेलायत गएको एक अल्पसंख्यक समुदायको मान्छे । करिब ९० प्रतिशत गोरा समुदाय बस्ने मेरो निर्वाचन क्षेत्रमा त्यत्रो हैसियत र पहिचान भएको राजनीतिक दलले मेरो योग्यता र दक्षताको आधारमा सांसदको टिकट दिएको थियो र बेलायती जनताले मलाई विश्वास गरेका थिए ।

बेलायतमा राज्य हाँक्नको लागि नेतृत्व लिन उमेर हैन क्षमता हेरिन्छ । यहाँ मान्छेको रंग हैन उसको प्रभाव हेरिन्छ । यहाँ धर्म हैन मानवताको आधारमा सबैलाई एकै रूपमा हेरिन्छ । त्यसैले पनि बेलायतमा ठिक मान्छे ठिक ठाउँमा पुग्छ । ठिक मान्छेले देशको लागि ठिक काम गर्छ र देशको प्रगति र समुन्नति हुन्छ ।

नेपालमा एक पटक नेता भएपछि सधैं नेता नै भइरहने अभ्यास छ । युवा पुस्तालाई पनि राजनीतिमा ठाउँ दिनुपर्छ भन्ने सोच कहिले आउला ? स्थान र अवसर पाएर पनि देश र जनताको लागि मैले केही गर्न सकिनँ भन्ने आत्मालोचना गर्ने र केही गर्न सक्नेका लागि अवसर दिने दिन नेपालमा आउला र ? अनि, अरूको क्षमता र दक्षतालाई विश्वास गरेर उनीहरूलाई अवसर दिनुपर्छ भन्ने सोच कहिले आउला नेपालमा ? त्यस्तै, प्रजातान्त्रिक मूल्य र मान्यताहरूको सही उपयोग र कार्यान्वयन कहिले होला नेपालमा ? मेरो दिमागमा यी र यस्ता थुप्रै प्रश्न अहिले उब्जिएका छन् ।

यी हरफहरू लेख्दै गर्दा मैले भर्खर ५४ वर्ष भएका, सन् २०१० र २०१५ मा दुई पटक बेलायतको प्रधानमन्त्री चुनिएका, आफ्नो पदावधि हुँदै जून २०१६ अर्थात् आजभन्दा करिब सात वर्षअघि नै राजनीतिक मैदान छोडेका र हाल गुमनाम डेभिड क्यामरुनलाई भुल्नुहुँदैन।

बेलायतका अर्का भूतपूर्व प्रधानमन्त्री टोनी ब्लेयरले सन् २००७ मा ५४ वर्षको उमेरमा आफ्नो पदावधि हुँदै गर्दा दशवर्षे राजनीतिक विरासत वा प्रधानमन्त्रीको पद आफ्नै दलका गोर्डन ब्राउनलाई सुम्पेका थिए । त्यसपछि उनी पनि राजनीतिक मञ्चमा देखिएका छैनन् ।

रोचक कुरा के भने बेलायतका भूतपूर्व प्रधानमन्त्रीहरू टोनी ब्लेयर र डेभिड क्यामरुन पहिलो पटक प्रधानमन्त्री निर्वाचित हुँदा दुवै ४३ वर्षका थिए भने अहिलेका प्रधानमन्त्री ऋषि सुनक भर्खर ४२ वर्षको उमेरमा प्रधानमन्त्री भएका छन् । बेलायत जस्तो परिपक्व प्रजातन्त्र र विश्वकै एक प्रमुख अर्थतन्त्र हाँक्ने नेताहरू भर्खर ४० कट्ने बित्तिकै प्रधानमन्त्री भएका थिए । के यस्तो अवसर नेपाली युवा नेताहरूलाई आउला ? मलाई अझै केही दशक आउला भन्ने विश्वास छैन ।

प्रसंग फेरि हम्जा युसुफकै निकालौं । हम्जाले आफू एसएनपीको प्रमुख निर्वाचित भएपछि विजय भाषणमा भनेका थिए, ‘यो अवसरमा म मेरा पितालाई सम्झन चाहन्छु । राम्रोसँग अंग्रेजी समेत बोल्न नजान्ने मेरा पिता सन् ६० को दशकमा बेलायतमा एउटा कारखानामा काम गर्न आउँदा आज म यो पदमा पुग्छु भन्ने कल्पना शायद गर्नुभएको थिएन होला ।’

हम्जा अल्पसंख्यक समुदायको भए पनि उनी कुनै कोटा वा आरक्षणको भरमा त्यो पदमा पुगेका हैनन् । न उनी आफ्नै समुदायको मतले र न आफ्नो परिवारको कुनै सदस्य राजनीतिमा भएर उनी त्यो उच्च पदमा पुगेका हुन् ।

काम, क्षमता र व्यक्तित्वको सही मूल्यांकन भएर उनी त्यो पदमा पुगेका हुन् । के यस्तै कुरा नेपालको राजनीतिमा अहिले कल्पना गर्न सकिन्छ ? जबसम्म यस्तो परिस्थिति बन्दैन, त्यो बेलासम्म क्षमता भएका मान्छे पदमा पुग्दैनन् र देश विकासको गति तीव्र हुन सक्दैन ।

नेपालका हरेक राजनीतिक दलले थुप्रै सुधारका काम गर्नुपर्नेछ । यीमध्ये हरेक दलमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । लाभको पदमा पुग्ने बित्तिकै विधिको शासन र सुशासनलाई चटक्कै बिर्सने नेपाली नेताले कहिले होला सही नेतृत्व शैलीको विकास गर्ने ? कहिले होला जनता र राष्ट्रलाई सर्वोपरि ठानेर काम गर्ने ?

आशा छ, नेपालमा पनि हम्जा जस्तै युवाहरूले छिट्टै समृद्ध र समुन्नत राष्ट्र निर्माण गर्ने महान कार्यमा नेतृत्व लिने अवसर पाउने छन् । नेपालमा पनि क्षमतावानका लागि उचित अवसर मिल्नेछ र हरेक तह र तप्कामा विधिको शासन लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?