+
+

तीन वर्षपछि रसुवागढी नाकाबाट मान्छेको आवागमन खुला गरिंदै

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत १५ गते १९:५०

१५ चैत, काठमाडौं । चीनले १८ चैतदेखि रसुवागढी नाकाबाट स्थलमार्ग हुँदौ पर्यटक आवागमन खुला गर्ने भएको छ । कोभिड-१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको थियो । त्यसयता ३ वर्ष ४ दिनदेखि मानव आवागमन हुन नसकेको सो नाका खुलाउन चिनियाँ पक्षले केहीदिन अघि नेपाल सरकारलाई जानकारी गराएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल–चीन द्विपक्षीय वाणिज्य तथा व्यापार क्षेत्रलाई सहजीकरण गर्न गठन भएको सचिवस्तरीय संयन्त्रको पहिलो बैठक बुधबारदेखि ल्हासामा सुरु भएको छ ।

बिहीबार सकिने सो बैठकपछि चिनियाँ पक्षले यसबारे औपचारिक घोषणा गर्न लागेको छ । बैठक लगत्तै नेपाली सो टोली शुक्रबार केरुङ जाने र त्यहाँबाट शनिबार रसुवागढी आइपुग्ने कार्यतालिका तय भएको छ ।

‘नेपालबाट तिब्बत पुगेका सचिव मरासिनी नेतृत्वको ६ सदस्सीय टोली शनिबार बिहान ८ बजे स्थलमार्ग हुँदै रसुवागढी नाका आउने र त्यहाँ हुने औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ,’ मन्त्रलय स्रोतले भन्यो, ‘चिनियाँ पक्षले औपचारिक कार्यक्रम गरेर नाकाबाट पर्यटन गतिविधि खुल्ला गर्ने घोषणा गर्न लागेको छ ।’

नेपालबाट सोमबार ल्हासा गएको टोलीमा सचिव मरासिनी, मन्त्रालय सहसचिव नारायणप्रसाद रेग्मी र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासहित ६ सदस्य सहभागी छन् ।

१ अप्रिलदेखि नाका खुलाउनका लागि तयारी गर्न चिनियाँ पक्षबाट अनौपचारिक जानकारी आएको रसुवा भन्सार कार्यालयले पनि पुष्टि गरेको छ । ठूलै कार्यक्रम गरेर नाकाबाट पर्यटक गतिविधि सञ्चालन गर्ने गरी चिनियाँ पक्षबाट चासो व्यक्त भएको रसुवाका प्रमुख भन्सार प्रशासक नारायणप्रसाद भण्डारीले बताए ।

‘अप्रिल एकबाट स्थलमार्ग भएर मानविय आवाजावतको अनुमति दिनेगरी तयारी भइरहेको चिनियाँ समकक्षीले अनौपचारिक रुपमा बताएका छन्,’ भण्डारीले भने, ‘चिनियाँ पक्षले नेपालबाट शुक्रबार कति मात्रामा लोडेड तथा अनलोड ट्रक केरुङ आउँछ भनेर पनि चासो देखाएका छन् तर औपचारिक चिठ्ठी आएको छैन ।’

भण्डारीकाअनुसार चिनियाँकै चासो बमोजिम सो दिन व्यवसायीहरुसँगको छलफलमा २५ वटा लोडेड ट्रक र ७५ वटा खाली कन्टेनर केरुङ जाने अवस्थामा रहेको जानकारी चिनियाँ पक्षलाई गराइएको छ । चीनले खुला गर्ने नाका चिनियाँ आवाजावतका लागि मात्रै हुन्छकि नेपाली पनि जान सक्ने के हुन्छ भन्ने भने खुलिसकेको छैन ।

यस्तै, नेपाल चीन दोस्रो ठूलो तातोपानी नाका भने स्थलमार्गको आवाजावतका लागि तत्काल नखोल्ने जानकारी चिनियाँ पक्षले गराएका छन् । हाल चीनतर्फबाट मालसामान अयातमा मात्रै नाका सञ्चालन भइरहेको छ । हालकै तयारीमा कुनै परिवर्तन नआए तीन वर्ष ६ दिनपछि यो नाकाबाट मानवीय गतिविधि सञ्चालन हुने रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?