
१६ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले बिदेशी मिसनरी अन्तर्गत सन्चालित सेन्ट जेभियर्स स्कुल, जाउलाखेलको नयाँ विद्यार्थी भर्ना प्रक्रिया रोकेको छ । संवैधानिक र कानुनी आधारमा भर्ना प्रकृयामा सवैको पहुँच हुनुपर्ने भन्दै महानगरपालिकाले भर्ना प्रक्रिया रोकेको हो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल सेन्ट जेभियर्सका कर्मचारी र जेसिट सोसाइटी परिवारका विद्यार्थीको भर्ना गरेर बाँकी रहेको संख्यामा मात्रै कोटा तोकेर ‘लट्री’ गर्ने गरिएकाले त्यसलाई रोक्नु परेको बताउँछन् ।
नेपाल जेसिट सोसाइटी अन्तर्गत चलिरहेका शैक्षिक संस्थामा कार्यरत व्यक्ति र परिवारलाई बढी मौका दिने र सार्वसाधारण नागरिकका बालबच्चाले थोरै कोटा पाउने अवस्था हटाएर न्यायपूर्ण विधि अपनाउन स्कुललाई भनिएको अर्यालले बताए । सेन्ट जेभियर्समा बालबच्चा भर्ना गर्दा न्यायपूर्ण अवस्था बनाउनका लागि तत्कालका लागि भर्ना प्रक्रिया रोक्न पत्राचार भएको उनको दाबी छ ।
सेन्ट जेभियरले आधा संख्यामा आफुलाई मन लागेका बिद्यार्थी भर्ना गर्ने र बचेको आधा संख्यामा मात्र आम मानिसलाई पहुँच दिने गरेकाले महानगरले सवै संख्यामा आम मानिसको पहुँच हुनेगरी भर्ना प्रकृया मिलाउन भनेको महानगरको भनाई छ ।
सेन्ट जेभियर्सले पूर्वविद्यार्थीका बालबच्चाका लागि १० प्रतिशत, पढिरहेका विद्यार्थीका भाइबहिनीका लागि १० प्रतिशत, ललितपुरको वडा नम्बर ४ का विद्यार्थीका लागि ५ प्रतिशत र ललितपुर महानगरभित्रका विद्यार्थीका लागि १० प्रतिशत कोटा तोकेको छ । यसबाहेकका बचेका सिटमा मात्रै खुला ‘चिठ्ठा’ गरेर भर्ना लिने गरिएको प्रशासकीय अधिकृत अर्यालले बताए ।
‘हामीले संविधान र कानुनले निर्दिष्ट गरेको आरक्षण कोटाअनुसार भर्नाका लागि कोटा छुट्याउन भनेका छौं, अहिलेको कोटा न्यायपूर्ण छैन’ अर्याल भन्छन्, ‘परीक्षाका आधारमा विद्यार्थी छान्ने विधि त ३ वर्षअघि नै शिक्षा मन्त्रालयले रोकेपछि लट्री हुन थालेको थियो ।’
सेन्ट जेभियर्सको अहिलेको भर्नाका लागि विद्यार्थी छनोटको विधिले धेरै सर्वसाधारणका बालबच्चाले कम अवसर पाउने भएकाले कानुनी आरक्षणअनुसार कोटा दिएर बाँकी खुला कोटाबाट लट्री गर्न आग्रह गरिएको प्रकाशकीय अधिकृत अर्यालको दाबी छ ।
तर सेन्ट जेभियर भने आफ्ना पूर्व बिद्यार्थीका परिवार र हाल पढिरहेका बिद्यार्थीका भाईबहिनी तथा आफुले चाहेका ब्यक्तिलाई कोटा बितरण गर्न पाउनुपर्ने अडानमा छ ।
सेन्ट जेभियरले केही बर्ष अगाडीसम्म पूर्व बिद्यार्थी र वर्तमान बिद्यार्थीमात्र हैन, महानगरपालिका, ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नेपाल प्रहरीका उच्च अधिकारी तथा पहुँचवाला उच्च राजनीतिक ब्यक्तित्वका परिवारलाई पनि अधोषित कोटा दिँदै आएको थियो । तीन बर्ष अगाडीदेखि जेभियरले राजनीतिक ब्यक्तिहरुलाई दिने कोट कम गरेपछि सम्बन्ध चिसिन थालेको थियो ।
कक्षा १ मा प्रवेश परीक्षा लिन नपाउने मन्त्रालयको निर्देशनपछि जेभियर चिठ्ठा प्रणालीमार्फत् बिद्यार्थी छान्नुपर्ने अवस्थामा पुगेको थियो, जसप्रति जेभियर ब्यबस्थापन असन्तुष्ट रहेको बताइन्छ ।
प्रतिक्रिया 4