+
+

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन शिलान्यास

विमानस्थल विस्तार गर्न सेनासँग सहमति भएको दाबी

सुवास पण्डित सुवास पण्डित
२०७९ चैत १६ गते २०:५६

१६ चैत, चितवन । चितवनको भरतपुर विमानस्थललाई तराईको लुक्लाको संज्ञा दिन्छन्, विमान चालकहरु । कारण विमानस्थल वरपर जथाभावी बनेका संरचना र छोटो रनवे । सुगम जिल्ला र विकासका दृष्टिले अगाडि रहेको भरतपुरको विमानस्थल विस्तार र नयाँ टर्मिनल भवन नहुँदा त्यसले धेरै क्षेत्रमा असर गरिरहेकै थियो ।

भरतपुर विमानस्थलमा ४२ सिटे साना जहाजमात्रै आउन सक्छन्, जसका कारणले २० मिनेटमा पुगिने काठमाडौंको भाडा नै एकतर्फी झण्डै ४ हजार रुपैयाँ छ । अर्कोतिर, रात्रीकालीन उडान नहुँदा ४ बजेभन्दा पछि चितवनबाट काठमाडौं जान आउन सक्ने अवस्था छैन ।

देशकै मध्यभाग र तेस्रो पर्यटकीय गन्तब्य, मेडिकल सिटी र आर्थिक तथा राजनीतिको पनि केन्द्र बन्दै गएको कारण भरतपुर विमानस्थल विस्तार र नयाँ टर्मिनल भवनको आवश्यकता निकै छ ।

भरतपुर विमानस्थलमा झण्डै ६२ बर्ष अगाडि बनेको पुरानो टर्मिनल भवन जीर्ण, साँघुरो र यात्रु मैत्री छैन । सोही कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भवन बनाउने तयारी अगाडि बढाएको छ । विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको नयाँ बन्ने भवनको शिलान्यास गरे ।

अहिले भइरहेको भवन भन्दा करिब २ सय मिटर पश्चिमतर्फ नयाँ टर्मिनल भवन बन्नेछ । १ अर्ब ९२ करोड ७० लाख रुपैयाँ लागतमा बन्ने भवनको ठेक्का कोशी–क्षमादेवी–प्रतिष्ठा जेभीले पाएको छ । तीन बर्षभित्र बनिसक्ने भवनमा पिक आवरमा एक हजार यात्रुले सेवा लिन सक्छन् । १४ कठ्ठा क्षेत्रफल ओगट्ने भवन ८ हजार बर्गमिटर क्षेत्रमा २ तलाको हुनेछ । त्यसमा ८ तले कन्ट्रोल टावर, ३ वटा लिफ्ट, ३ स्केलेटन, एसी, आगलागीबारे पूर्व सूचना दिने संयन्त्र जडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासमा विमानस्थलको नयाँ भवनले ठूलो अर्थ राख्ने बताए । उनले विमानस्थलको विस्तार र टर्मिनल भवनका लागि आफूले निकै मेहनत गरेर सफलता हात पारेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको काम समयमा नै सक्न र गुणस्तरमा कुनै सम्झौता नगर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन, समयमा नै काम सक्नुभयो भने सरकारले पुरस्कार र सम्मान गर्ने व्यवस्था पनि गर्छ ।’ मन्त्री किरातीले भरतपुर विमानस्थल नयाँ टर्मिनल भवनलाई राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा राख्न राष्ट्रिय योजना आयोगलाई मन्त्रालयबाट लेखेर पठाएको पनि जानकारी गराए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनले चितवनको गौरव र गरिमालाई अझै माथि पुर्‍याउने विश्वास ब्यक्त गरिन् । उनले नयाँ टर्मिनल भवनले चितवनको समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन् ।

‘विमानस्थल विस्तार हुन्छ, निर्णय भइसक्यो’

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनका साथै विमानस्थल विस्तारको काम पनि अगाडि बढ्ने सरकार र सम्वद्ध निकायले बताएका छन् । टर्मिलन भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री सुदन किराती र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल विस्तारका लागि नेपाली सेनासँग जग्गा लिने सहमति र निर्णय भइसकेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले अहिले रहेको १२ सय मिटर लामो धावनमार्गलाई कम्तीमा १५ सय मिटरको बनाएर चौबिसै घण्टा विमान चल्न सक्ने बनाउने बताए । विमानस्थलको पश्चिमतर्फ रहेको नेपाली सेनाको कालीबहादुर गण र सेनाकै घोडा प्रजनन केन्द्रलाई अन्यत्रै स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्न दिन सेना तयार भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘भरतपुर विमानस्थलको विस्तारका लागि वर्षौंदेखि गरेको प्रयास अब निष्कर्षमा पुग्न लागेको छ, भरतपुरको भौगोलिक अवस्था र समग्र विकासलाई हेर्दा विमानस्थल धेरै पहिले विस्तार भइसक्नुपर्ने हो, सबै क्षेत्र विकास भइरहँदा विमानस्थल पछि पर्‍यो, अब यो काम अघि बढ्छ’ उनले भने ।

चितवनबासीको सपना पूरा गर्न सहजीकरण गरिदिएकामा प्रधानमन्त्रीले नेपाली सेनालाई धन्यवाद समेत दिए ।
नेपाली सेनाको कालीबहादुर गणलाई नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगलामा र घोडा प्रजनन केन्द्रलाई आँपटारीमा रहेको गणेशधाम नजिकै सार्ने सहमति भएको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराइएको थियो ।
विमानस्थल विस्तार गर्दा चौबीस कोठीबाट पश्चिम चितवन जाने सडकलाई डाइभर्ट गर्नुपर्ने हुन्छ ।

पर्यटनमन्त्री सुदन किरातीले सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गर्ने नीतिगत निर्णय भइसकेको बताए ।

उनले भरतपुरमा ७२ सिटे जहाज एटीआर सञ्चालन गर्ने र रात्रीकालिन उडान पनि सुरु गर्ने बताए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्रको १९ विघा जमिन आवश्यक पर्ने बताए । उनले सेनाले जग्गा छाड्नेबित्तिकै प्राधिकरणकै खर्चमा विमानस्थल विस्तारको काम थालिने बताए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले सेनाको कालीबहादुर गण र घोडा प्रजनन् केन्द्र रहेको ७६ विघा जमिनमध्ये आवश्यक जग्गा विमानस्थलले प्रयोग गर्ने र बाँकी भागमा खुला पार्क बनाउने लक्ष्य रहेको बताइन् ।

पूर्वतर्फका जोखिम संरचना हटाउन आलटाल

विमानस्थलमा जहाज अवतरण गर्ने पूर्वतर्फको क्षेत्रमा बनेका जोखिमयुक्त संरचना हटाउने विषयमा नागरिक उड्डयन प्राधिकरणले चासो दिएको बताएको छ, तर काम अगाडि बढेको छैन ।

विमानस्थल वरपर रहेका ११४ संरचना ‘क्रिटिकल्ली’ जोखिम भनेर सरकारी समितिले नै प्रतिवेदन दिएको छ । विमानस्थलको रनवे १२ सय मिटर भएपनि जोखिमयुक्त संरचनाका कारणले झण्डै ३ सय मिटरभन्दा पर गएर मात्रै विमानहरु अवतरण गर्ने गरेका छन् । विमान अवतरण गर्दा सिधैं रनवेमा नै एप्रोच गर्नुपर्दछ ।

प्राधिकरणले यी संरचना हटाउन महानगरको सहयोग लिने प्रयास गरे पनि संरचना हटाउनतर्फ ध्यान गएको छैन । पूर्वतर्फ घर र तीमाथि बनेका अस्थायी संरचनाले विमान अवतरणमा निकै जोखिम छ । घर नजिकैबाट जहाज अवतरणका लागि आउँदा जहाजको हावासमेत घर छेउ बस्नेहरुले महसुस गर्छन् । मापदण्ड विपरीत भनिएका घरमा ट्रस थपेर झनै समस्या खडा गरिएको छ ।

२०१७ साल फागुन २२ गतेदेखि सेवा सुरू गरेको भरतपुर विमानस्थल धेरै हवाई चाप हुनेमध्येमा पर्छ । यहाँबाट विगतमा यती एयरलाइन्स, बुद्ध एयर र सिम्रिक एयरले उडान भर्दै आएपनि अहिले भने बुद्ध एयरले मात्रै नियमित उडान गरेको छ । कुनै समय दैनिक ८ सय यात्रुले सेवा लिएको भरतपुर विमानस्थलमा हाल ५ सय यात्रुले सेवा लिदै आएका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?