+
+

तामाकोशी–५ को ठेक्का रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १३:१८

१७ चैत, काठमाडौं । दोलाखामा बन्न लागेको तामाकोशी–५ जलविद्युत आयोजनाले आफूले आह्वान गरेको ठेक्का प्रक्रिया रद्द गरेको छ । गत ९ साउनमा आह्वान भएको ठेक्कामा भाग लिएका कम्पनीको बोलपत्र सारभूत रुपमा प्रभावग्राही नदेखिएपछि रद्द गरिएको हो ।

तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीका अनुसार अनुमानित लागतभन्दा बढी मूल्यमा आर्थिक प्रस्ताव परेकाले ठेक्का रद्द भएको हो । सिभिल र हाइड्रको मेकानिकलतर्फको ठेक्कामा चिनियाँ कम्पनी सिनो हाइड्रो र गेजुवा प्राविधिक मूल्यांकनमा पास भएका थिए ।

उनीहरु दुवैको आर्थिक प्रस्ताव खोल्दा कबोल रकम अनुमानित लागतभन्दा उच्च देखिएकले ठेक्का प्रक्रिया नै रद्द गनुपरेको उनले बताए ।

यो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यासकेड’ प्रोजेक्ट हो । माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर ९९.८ मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको १६ अर्ब ४५ करोड लगानी लगानी बोर्ड, नेपालबाट स्वीकृत भइसकेको छ ।

यो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोशीको विद्युत गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको यो आकर्षक आयोजना हो ।

आयोजना बनाउन कर्मचारी सञ्चय कोषसँग लगानी गर्ने समझदारी भएपनि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता गर्न बाँकी छ । ३० प्रतिशत लगानी इक्विटीबाट र ७० प्रतिशत ऋण लगानीमा आयोजना बनाउन लागिएको हो ।

माथिल्लो तामाकोशीको विद्युत गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरी दोभान पुर्‍याइनेछ । आयोजनामा कुल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

माथिल्लो तामाकोशी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई सहज अवस्था छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि सहज छ ।

माथिल्लो तामाकोशीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ । तामाकोशी पाँचौंमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कुल लागतका आधारमा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन । माथिल्लो तामाकोशीको सबै संरचनासमेत प्रयोग गर्न सकिन्छ । त्यसकारण पनि व्यवस्थापन थप सरल छ ।

आयोजनाले वाषिर्क रुपमा ५४ करोड युनिट ऊर्जा उत्पादन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?