+
+

‘बजारमा फालाफाल, कहाँबाट आउँछ त्यो सुन ?’

नेपाली बजारमा मागभन्दा निकै कम परिणामको सुन मात्रै वैधानिक रूपमा ल्याउन पाइन्छ । त्यसो भए न्यूरोड र देशका अरू शहरमा खुलेका त्यत्तिका धेरै सुनचाँदी पसलमा कहाँबाट सुन आइरहेको छ ?

वसन्तकुमार लामा, पूर्वएआईजी वसन्तकुमार लामा, पूर्वएआईजी
२०७९ चैत १७ गते १५:५१

सुनको माग बजारमा जति बढ्छ, त्यति तस्करहरूले सुन भित्र्याउने अरू बाटो खोज्दै जान्छन् । अहिले न्यूरोड हेर्नुस्, दायाँ–बायाँ सबैतिर पहिले कुन–कुन पसल थियो ? अहिले के भयो हेर्नुस् त ! पहिलेका इलेक्ट्रोनिक्स पसल, अरू पसलहरू धेरैजसो सुन पसलले रिप्लेस भइसके । यो सबै किन भयो भने मान्छेले सुनमा फाइदा बढी देख्न थाले । बजारमा सुनको माग पनि बढ्दै गयो ।

वैधानिक रूपमा सुन ल्याउन खोज्ने मान्छे कमै होलान् । भन्सार तिरेर ल्याउँदा भन्दा यत्तिकै ल्याउँदा हुने फाइदा धेरै भएकाले उनीहरू तस्करी गर्न खोज्छन् । फेरि नेपाली बजारमा माग हुने भन्दा निकै कम परिणामको सुन मात्रै वैधानिक रूपमा ल्याउन पाइन्छ । त्यसो भए न्यूरोडमा खुलेका त्यत्तिका धेरै पसलमा सुन कहाँबाट आइरहेको छ ? मैले न्यूरोडको एउटा उदाहरण मात्र दिएको हो, अरू शहरहरूमा पनि सुन पसलहरू बढेका छन् ।

त्यसो भए सुन कहाँबाट आइरहेको छ त ? यसको अर्थ सुन तस्करी रोकिएको छैन भन्ने हो । खुला सीमा छ । जतिसुकै कडाइ गरे पनि अलि–अलि तस्करी भइरहेकै हुन्छ । अहिले चीनबाट आउने बाटाहरू पनि थुप्रै छन् । बाहिरबाट अझै पनि आइरहेको छ ।

मैले २०७५ सालमा बनेको सुन तस्करी विरुद्धको उच्चस्तरीय छानबिन समितिमा बसेर पनि काम गरें । त्यसबेला हामीले एउटा ठूलो गिरोहलाई समातेर जुन अपराध शैली उजागर गर्‍यौं, त्यसबाट के देखिन्छ भने सुन तस्करी कति संगठित रूपमा हुन्छ भन्ने देखाएको छ ।

स्क्रिनिङमा नगई, च्यानलमै नगई सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको देखिएको थियो । त्यहीबेला पनि हामीले औंल्याएका थियौं, पेट्रोल पम्पबाट निस्किने बाटोमा कडाइका साथ चेक गर्नुस् भनेका थियौं । अहिले पनि त्यहाँबाट मज्जाले गाडी निस्किन्छ । त्यो बेला कामदारलाई मिलाएर सेटिङ भएको खुलेको थियो । लोभ जसलाई पनि हुने भइहाल्यो । मान्छेलाई डर भयो भने त्यसलाई निरन्तरता नदिने हो ।

तर, सुन तस्करीको त्यो ठूलो गिरोहमा काम गरेका मान्छेहरू फुत्तफुत्त छुटे । यसले मान्छेलाई डर हुने भएन । २०, ४०, ५० लाख पाइन्छ भने छुटिहाल्छु भनेर गर्छ । त्यसैले यसमा कडाइका साथ हेर्नुपर्छ । कारबाहीको पाटोलाई पनि बलियो बनाउनुपर्ने हो । अहिले रसुवा, तातोपानी नाकाबाट सुन आइरहेको छ ।

सुन बरामद हुने भनेको अधिकांश घटनामा सूचनाका आधारमा मात्र हो । कतिपय ठाउँमा प्रहरीको निष्क्रियता होला । कतिपयमा मिलेमतो होला । पहिले सुराकीलाई २५ प्रतिशत दिने चलन थियो । त्यो हटेपछि सूचना पनि कम हुन थालेको छ । यसरी आउने कमिशन वैधानिक हो । सुराकी, खटिएका प्रतिवेदकलाई पनि पैसा दिन्थ्यो । त्यो आशा हो, काम गर्ने जाँगर हुन्थ्यो । तर, जसरी प्रहरीले गर्नुपर्ने नियमित काम त गरेको हो नि भन्ने किसिमले व्याख्या भयो, त्यसले पनि सुन बरामद हुन कम भएको छ ।

यस्तो भनेको नियमित काम मात्र होइन । यस्ता चिजमा राज्यले पनि ध्यान पुर्‍याउनुपर्ने हो । किनभने, तस्करीलाई रोक्न प्रोत्साहित गर्ने नीति राज्यको पनि जिम्मेवारी हुनुपर्ने हो । पछिल्लो समय तरल पदार्थ बनाएर सुन ल्याएको घटना बाहिर आइरहेको छ ।

तर, त्यो एकदमै सानो परिणाममा छ । सुन समितिको कारबाहीपछि पछिल्लो समय संगठित रूपमा तस्करी नभइरहेको पनि हुनसक्छ । यद्यपि, यो कुरा यकिनका साथ भन्न सकिंदैन । यसका लागि विस्तृत अनुसन्धान र त्यहाँ समूहमा पहुँच चाहिन्छ ।

मानौं अहिले पहिलेको चर्चित सुन तस्करी प्रकरणका चुडामणि उप्रेती ‘गोरे’ छुटेको भए उनी फेरि सुन तस्करीमै संलग्न भइसकेका हुन्थे । सजिलै पैसा कमाउन लागेको बानी केही समय जेल पर्दैमा छुट्दैन भन्ने विगतमा भएका घटनाहरूले पनि देखाउँछ । कहिले कहिले पक्राउ धेरै हुन थाले, प्रहरी सक्रिय भयो भने शान्त देखिन्छ । सक्रियता घटिसक्दा फेरि सुरु भइहाल्छ । यो चक्र सुनको माग जति बढिरहन्छ, त्यतिञ्जेलसम्म चलिरहन्छ ।

अहिले प्रहरीबाट किन सुन बरामद हुने दर घटेको होला ? यसपछाडि दुई–तीन वटा कारण हुनसक्छन् । पहिलो कुरा अहिले सुराकीलाई पहिले जस्तो सूचना दिंदा फाइदा छैन । कुनै बेला सुनको सुराकी दिंदा २५ प्रतिशतसम्म कमिसन दिने व्यवस्था थियो । पछि हटेर १५ र १० प्रतिशत पनि पुग्यो । अझ अहिले १५ लाख वा १५ प्रतिशत जुन न्यून हुन्छ, त्यसको आधारमा सुराकी खर्च उपलब्ध गराउने प्रावधान आएपछि पनि सुनको सूचना आउन छाडेको हुनुपर्छ ।

दोस्रो, सुनसम्बन्धी प्रहरीका अपरेशनहरू आफैंमा विवादमा आउने गरेका छन् । अनुसन्धान अधिकृत वा सम्बन्धित कार्यालयका अधिकारीले बाटो विराउँदा धेरैजसो सुन अनुसन्धान गरेका टोली नै कारबाहीको दायरामा तानिएको अवस्था छ । लोभ गर्दा अनुसन्धान अधिकृतहरू नै कारबाहीमा परिरहँदा अहिले सुनका जुनसुकै अपरेशन माथि पनि शंका उब्जिन थालेको छ । त्यसैले प्रहरीले पनि सुनको अनुसन्धानमा तादरुकता नदेखाएको हुनसक्छ ।

तेस्रो, सुन तस्करीलाई नियन्त्रणमा लिन राज्य संयन्त्रकै इच्छाशक्ति चाहिन्छ । हामीले यत्रो दुःख गरेर ३८ क्वीन्टल सुन तस्करी भएको तथ्य सामुन्नेमा ल्यायौं । तर, उल्टै हामीलाई नै विवादमा ल्याउन खोजियो । हामीले दिएका सुझावहरू कार्यान्वयन भएका छैनन् । तत्कालीन सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको समितिले दिएको सुझाव मात्र कार्यान्वयन हुने हो भने पनि सुन तस्करी धेरै हदसम्म कम हुन्छ ।

(२०७५ सालमा नेपालमा संगठित रूपमा भइरहेको सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिमा सदस्य रहेका तत्कालीन एसएसपी (पछि एआईजीबाट अवकाशप्राप्त) वसन्त लामासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?