 
																			१८ चैत, ढोरपाटन । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् ।
म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् ।
गाउँपालिकाले अधिकांश बस्तीमा सडक पुर्याएको छ । मदमडाँडाका ४३ वर्षीय अम्मर घर्तीले गाउँमा सडक आएपछि गाउँलेको जीवनशैली बदलिएको बताए ।
बजारभन्दा गाउँ निकै टाडा हुँदा यहाँका नागरिकले घण्टौँ लगाएर नुन तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गरे । उनले भने, ‘फेदीसम्म १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेदी पुगेर सामान ल्याउने गथ्यौं, पहिला बागलुङ बजार हटिया बजार जानु पर्थ्यो, त्यहाँ जान एक दिन लाग्थ्यो, अहिले सामान घरमै आउँछ, उतिबेला महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपर्थ्यो ।’
गाउँपालिकाले पाँचवटै वडाका बस्तीमा सडक पुर्याएको छ । गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ । अहिले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय विनोद घर्तीमगरले बताए ।
विगतमा कृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको भन्दै अहिले सहजरुपमा बजार पाउने गरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ, गाडी आएर कृषकले बेच्न चाहेका सामान लिएर जान्छ, धेरैको जीवनस्तर उकासिने क्रममा छ ।’ गाउँपालिकाले गाउँगाउँमा सडक विस्तार गर्न हालसम्म करिब करिब २० करोड बढी लगानी गरी सकेको छ ।
स्थानीय ७० वर्षीया रुपकला घर्तीमगरले पछिल्लो एक दशकयता ताराखोलामा ठूलो परिवर्तन आएको बताउँछिन् । उनले गाउँमा कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पुर्याउने गरेको स्मरण गर्दै अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन पाएको बताइन् ।
आफूहरुले २० वर्ष अगाडि बागलुङ, बुटवललगायतका ठाउँबाट दैनिक उपभोग्य सामान किनेर उपभोग गरेको रुपकलाले सम्झिन्छिन् ।
‘विकास भनेको नै यही हो, हाम्रो पालामा अहिलेको जस्तो मोटर गाडी हिँड्ने सडक थिएन, हामीहरु साँघुरो गोरेटोमा हिँड्थ्यौँ, बिजुली थिएन, टुकीको भरमा रात कटाउँथ्यौँ, पढ्ने लेख्ने चलन थिएन, नुन तेल ल्याउन हप्तौ लगाएर बटौली (बुटवल) जान्थ्यौँ”, घर्तीले आफ्नो विगत स्मरण गर्दै भिनिन्, ‘अहिले केही कमी छैन, सबै थोक गाउँमै छ, पहिले–पहिले मान्छेहरु यहाँ विकट भयो, विकास भएन भनेर तराईतिर गए, अहिले यही तराई भयो ।’
गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले गाउँ बस्ती छरिएकाले एकै पटक विकास हुन नसकेको भन्दै अहिले ८५ प्रतिशत बस्तीमा सडक पुगेको बताए ।
भौगोलिक कठिनाइका बाबजुद ताराखोलामा विकासका ढोका खुलेको उनको भनाइ । उनले सुरुका वर्षहरुमा सडक निर्माणमा जोड दिएको भन्दै अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना यातायात सञ्चालन हुने गरी काम गरेको बताए । सडक विकासको मुख्य आधार भएकाले यसलाई प्राथमिकतामा राखेर विस्तार गरिएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा सहज भएको, गाउँपालिकासँगै प्रदेश सरकारको लगानीमा सडक निर्माण भएका हुन्, अझै केही बस्तीमा पु¥याउनु पर्नेछ, कच्ची सडक व्यवस्थित बनाउने योजना छ ।’
गलकोट नगरपालिकाको हटिया बजारदेखि हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रेको चरणमा छ । यो सडक ताराखोलावासीलाई ‘लाइफ लाइन’ बन्ने छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4