+
+

तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १८ गते १५:५३

१८ चैत, काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ ।

आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

‘बारा-२ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइनेछ,’ गुरुङले भने ।

तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् । यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए ।

खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।

न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।

एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालीन भएका न्यौपाने युवा नेता मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?