+
+
अन्तर्वार्ता :

‘चितवन–२ मा काफी चेन्ज आउँछ’

हामीले किन अघिल्लो चुनाव लुज गर्‍यौं, बुझेका छौं। डायगनोसिस् गरेका छौं, अहिले उपचार चल्दैछ । म पुराका पुरा विश्वस्त छु, चितवनमा काफी चेन्ज आउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते ७:४४

२२ चैत, चितवन । एमाले पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटा झण्डै डेढ महिनादेखि चितवनमा बस्दै आएका छन् । एमालेले चलाएको मिसन ग्रासरुट अभियान अन्तर्गत बाँस्कोटालाई चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिका हेर्ने जिम्मेवारी छ ।

चितवनमा रहँदा एमाले भित्रको संगठनात्मक अवस्था र संरचना, सदस्यहरुको क्रियाशीलता जस्ता विविध पाटोमा सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेका बाँस्कोटा यही समयमा चितवन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा केन्द्रित भएका छन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ मा तेस्रो भएको एमालेलाई आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा जिताउने अभियानका साथ आफू मैदानमा उत्रिएको बाँस्कोटा बताउँछन् । ‘यसपटक एमालेको मत बढ्छ, काफी चेन्ज आउँछ,’ उनी भन्छन् ।

चितवन २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् । उपनिर्वाचनका सन्दर्भमा बाँस्कोटासँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी :

तपाईं चितवनमा विगत केही महिनादेखि बस्दै आउनुभएको छ, चितवनमा एमालेको अवस्था कस्तो पाउनुभयो ?

म आएपछि तीन वटा कलेजमा स्ववियुको चुनाव भयो तीन बटैमा जितेको छ । उपचुनाव पनि जित्ने अवस्थामा छौं । कार्यकर्ता र जनताहरुको बीचमा उत्साह भर्ने, जनतालाई कन्भिन्स गराउने काम जारी छ ।

त्यति सजिलो छ उपचुनाव जित्न ?

सजिलो छ जित्न । अरुले भन्दा बढी भोट ल्याउने हो, ल्याउँछौं हामी ।

अघिल्लो पटक पनि उम्मेदवारले चुनाव जितिन्छ, संगठन राम्रो छ भनेको सुनिन्थ्यो तर मत त आएन ?

अघिल्लोपटक भन्दा यसपटक राम्रो छ । हामीले किन अघिल्लो चुनाव लुज गर्‍यौं, बुझेका छौं । डायगनोसिस् गरेका छौं, अहिले उपचार चल्दैछ । म पुराका पुरा विश्वस्त छु, फाइनल टच दिन बाँकी छ । यसपटक चितवनमा काफी चेन्ज आउँछ । धेरै फरक पाएको छु । राजनीतिक दललाई चुनाव त गाह्रो हुने कुरा नै भएन नि ।

अघिल्लोपटक रास्वपाका सभापतिले ठूलो मतान्तरले चुनाव जितेको ठाउँ भएको हुँदा यसपटक पनि गाह्रो छ भनिन्छ, त्यस्तो हैन ?

अहिले अवस्था यस्तो छैन । जनताले आफ्नो प्रतिनिधिले के गर्दा यस्तो अवस्था आयो भनेर बुझ्दैछन् । हामी बुझाउँदै पनि छौं । जो जितेर जानुभयो उहाँको गल्तीले यस्तो भो । गल्ती भयो त भन्नपर्‍यो । जेल नै जानुपर्ने त केही थिएन । जनतालाई किन झुटा विवरण दिएर नक्कली कुरा गरेको प्रश्न यति हो । यो उपनिर्वाचन हुनुमा जनताको तपाईंको मेरो के दोष छ ? छ केही ? सत्य र सूर्यलाई हत्केलाले छेकेर छेकिँदैन । यी दुवै सत्य हुन् । मान्छे भ्रममा छ । सत्य स्थापित हुन समय लाग्छ । त्यो समय अहिले हो ।

विगतमा मतान्तर ठूलो भएकाले यसपटक पनि गाह्रो छ भन्ने कुरा सत्य हैन र ?

यो एक पाखे विष्लेषण हो । यहाँको प्रदेश र संघमा कति–कति फरक मत आएको छ एकपटक जोड्नुस् न । एमाले र कांग्रेसका मत फर्किंदैनन् भन्ने के छ ? एमालेका मान्छे एमाले नै हुन् । एउटा आक्रोश भयो हो, केही चाहना भनेजस्तो भएन होला । तर, के अहिले भयो त ? कुन चमत्कार भयो त ? भोकै बस्न पर्‍यो हैन ? यी सबै स्वैर कल्पना रहेछ नि । आखिर सरकारमा नै जाने रहेछन् । आफैंले बनाएको सत्ता समीकरण आफंैले भत्काउने रहेछन् । सरकारलाई विश्वासको मत दिने तर सदन र क्याविनेटमा प्रतिपक्षमा बन्न खोज्दा रहेछन् । गफ नदिऔं । चित्र क्लियर भयो । चामलसँग पिठो नसाट्ने अवस्थाको अन्त्य हुन्छ ।

एमालेको जितको आधार के त ?

एमालेले आफ्नो मत आफ्नो ठाउँमा ल्याउँछ । कांग्रेसले पनि ल्याउला । एमालेको संगठनात्मक आधार कमजोर छैन । हाम्रो पार्टीको उम्मेदवारका कारणले, संगठन सुव्यवस्थित र अपडेट गरिएका संगठनहरु छन् । विगतका कमी कमजोरी पनि सच्चाउँदै अगाडि बढ्ने हो । यसपटक काफी चेन्ज आउँछ । जनतामा पारिएका र छरिएका भ्रमहरु हामी चिर्छौं । आफ्ना एजेण्डा बताउँछौं । जनता कसैको मुठ्ठी भित्र हुँदैनन् । स्वतन्त्र भन्ने साँच्चै स्वतन्त्र हो की भन्ने भ्रम पनि थियो । स्वतन्त्र पार्टी भनेपछि स्वतन्त्र हुन्छ । पार्टीको त आफ्नो दार्शनिक मान्यता हुन्छ । छैन भने के पार्टी हुन्छ ?

ठूला दलहरुप्रति निराशा छ । यतिका वर्षसम्म केही गर्न सकेनन्, युवाहरु विदेश गए, रोजगारी भएन भन्ने कुरा त साँचो हो नि, हैन ?

कसले भनेको केही भएन भनेर ? तपाईंको हजुरबुबालाई सोध्नु, आमालाई सोध्नु, बिरामी हुँदा सिटामोल खाने रकम कसले दिएको ? सुत्केरी भत्ता कसले दिएको ? छात्राहरुलाई सेनिटरी प्याड कसले दिएको ? सुत्केरी हुँदा ज्यान फाल्न नपरोस् भनेर हेलिकोप्टरबाटै भए पनि उद्धार कसले गरेको ? एमाले जतिको अरु पार्टी नै छैन । चुनाव आएपछि इच्छाकामनामा औषधिको पोको बोकेर हिँड्ने पार्टी हैन एमाले ? एमालेले त सिष्टमको विकास गर्छ । अस्पताल बनाउँछ, औषधि पठाउँछ ।

नेपालमा तीन पल्ट क्रान्ति भयो । नेपाली ७० वर्ष अगाडि नेपाल जहाँ थियो, आज पनि त्यहीँ छ त ? यही हो भाष्य तयार गर्न खोजेको ? के अमेरिकी, भारत, चीन पाकिस्तानबाट मानिसहरु काम गर्न अरु देशमा गएका छैनन् ? उनीहरुले रेमिट्यान्स भित्राएका छैनन् ? नेपालले पनि कति विदेशीलाई रोजगारी दिएको छ ? ग्लोबल भिलेज भन्ने थाहा छैन ? चर्को कुरा गरेर हुन्छ ? यो पनि हुँदैन, त्यो पनि हुँदैन भन्छौं भने उडेर जाउँ चन्द्रमामा ।

उपचुनावमा एमाले र कांग्रेसले मतान्तर मात्रै कम गर्ने हुन् भन्छन् नि ?

जनता यसपटक बहकाउमा लाग्दैनन् । २४ महिना पछि उही कथा नदोहोरियोस् भन्ने हो । हतार गरे दुर्घटनामा परिएला भन्ने याद गरौं । नारायणीमा भेलमा पानी आउँछ, हिमनदी र चैतमा आउने पानीको गति एउटै हुन्न । हेर्दै जाऔं न । माओवादी र समाजवादीहरु कम्युनिष्ट विचारधारालाई समर्थन गर्नपर्छ भन्ने हो भने रामप्रसाद न्यौपानेलाई यसपटक भोट हाल्नुहुन्छ । मलाई विश्वास छ उहाँहरुले मत हाल्नुहुन्छ । मज्जाले मत बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?