 
																			२२ चैत, काठमाडौं । बडेमानको कराहीमा आलु र सोयाबिनको झोल उमाल्दैछन् लीलादेवी सिंह र उनका साथीहरु । मंगलबार बेलुका करिब ८ बजेतिर शान्तिवाटिकामा करिब ५०० जनाका लागि खाना पाक्दै थियो ।
मिटरब्याजबाट पीडित करिब ५०० जना सोमबारदेखि काठमाडौंमा छन् । शान्तिवाटिकालाई आफ्नो आश्रयस्थल बनाएका पीडितहरु यहीं पकाउँछन्, खान्छन् र फल्चा, त्रिपालमुनि रात बिताउँछन् ।
काठमाडौं आइपुगेका १४ भन्दा बढी जिल्लाका पीडितहरुलाई पकाउने, खुवाउने जिम्मा सर्लाही र महोत्तरीबाट आएका मिटरब्याज पीडितले लिएका छन् । ‘बारिस भएर अप्ठ्यारो भयो’ आलु र सोयाबिनमा डाडु चलाउँदै लीलादेवी भन्छिन्, ‘हाम्रो दाल/तरकारी सबै यही हो ।’
मिटरब्याजको चक्रबाट मुक्ति खोज्दै काठमाडौं आइपुगेका पीडितहरुले आफूलाई चाहिने चामल, आलु, सोयाबिन गाउँबाटै लिएर आएका हुन् । ‘यहाँ हामी गरिबलाई कसले खान दिन्थ्यो, आफैंले ल्यायौं सबै चिज,’ पहिलोपटक काठमाडौं आएकी नवलपरासी सुस्ता पश्चिम रामग्रामकी शारदा यावदले भनिन् ।

शान्तिवाटिकाको एउटा फल्चामा भात, दाल पाक्दै गर्दा छेउमा त्रिपाल टाँगेर बनाइएका अरु अस्थायी टहरामा पीडितहरु सुस्ताइरहेका छन् । दिनभरको नाराबाजी र पैदल यात्राले थाकेका कोही निदाइरहेका छन् । कोही गाउँमा आफ्ना परिवारका मान्छेसँग फोनमा गफिंदैछन् । थकित, गलित र पीडित उनीहरु एउटै आशमा छन्, ‘सरकारले हाम्रो कुरा मान्दिए हुन्थ्यो ।’
तीन छोरालाई विदेश पठाउन ३ लाख ऋण लिएकी रौतहट फतवा विजयपुर नगरपालिका–१ की फूलमती देवी मधुमेहकी बिरामी हुन् । उनले हरेक दिन इन्सुलिन (सिरिञ्जको माध्यमबाट मधुमेह रोगीले प्रयोग गर्ने औषधि) लगाउनुपर्छ । खाना खाने समयमा गडबडी भएपछि उनको औषधिको तालिका पनि गडबड भएको छ । ३ लाख रुपैयाँ ऋणको ९ लाख तिरिसक्दा पनि ऋणबाट मुक्ति नपाएको उनी बताउँछिन् ।
‘यो मिटरब्याज हट्यो भने त हामी सबैको ज्यान बच्नेथियो’, आफ्नै छेउमा बसेकी ललिता विकलाई देखाइन् फूलमनी देवीले । ललिताले छोराको मिर्गौलाको उपचारका लागि तीन लाख रुपैयाँ ऋण लिएकी थिइन् । त्यो ऋण तिर्न नसकेपछि उनले रौतहट सन्तपुरको घर बेचिन् । अहिले घरबारविहीन भएको ललिता बताउँछिन् ।
पैसा नभएकै कारण ललिताले छोराको मिर्गौलाको डायलाइसिस पनि नियमित गराउन सकेकी छैनन् । ‘पैसा भएको बेला महिनामा एक चोटी डायलाइसिस गराउँछौं, नभएर गराउँदैनौं’, उनी निरीह सुनिन्छिन् ।
तीन लाख रुपैयाँ ऋण लिएकी उनले ६ लाख रुपैयाँ तिरिसकिन् । ‘साहुले अझै पैसा माग्छ । अहिले त फोन बन्द गरेर राख्छु’, हातको सानो फोन देखाइन् ललिताले ।
मंगलबार साँझको झरीले जमिन भिजाएपछि त्रिपालमुनि बसेका मिटरब्याज पीडितहरु ओभानो बनाउन थप ‘म्याट्रेस’को जोहो गरिरहेका छन् । ओढ्ने, ओछ्याउने सबै गाउँबाटै बोकेर आएका यिनीहरुको पीडा एउटै छ । हरेक मान्छेलाई आफ्नो पीडाको डिग्री अरुको भन्दा बढ्ता छ भन्ने लाग्छ । त्यसैले त सोधपुछ गर्न आउने मान्छेलाई आफ्ना कुरा सुनाउन तँछाडमछाड गर्छन् उनीहरु ।
मंगलबार दिउँसो बालुवाटारको धर्नामा माओवादी नेता गिरिराजमणि पोखरेल पुग्नेबित्तिकै पीडितले घेरा हाले । सबैले एकैपटक आफ्ना पीडा सुनाउन थाले । पोखरेललाई चर्को स्वरमा आफ्नो पीडा सुनाएका सर्लाहीका राम यादव शान्तिवाटिकामा आफ्ना साथीहरुलाई पोखरेलले भनेको कुरा सुनाइरहेका छन् ।
पोखरेलको भनाइ आफ्ना साथीहरुलाई यसरी सुनाए उनले, ‘नेताजीले सरकारले १ असोजमा र १८ चैतमा सम्झौता गरिसकेको छ । अब त्यही सम्झौता लागू गराउन सरकारलाई दबाव दिन्छु भनेका छन् ।’
तर, पीडितहरुले भने मिटरब्याजी साहुले बनाएको तमसुक खारेज गर्नुपर्ने । ऋणीविरुद्ध मिटरब्याजीले अदालतमा हालेका मुद्दाको सुनुवाइ रोक्नुपर्ने, फैसला भइसकेका मद्दा पुनरावलोकन गर्नुपर्ने, मिटरब्याजलाई अपराध करार गर्ने कानुन तत्काल बनाउनुपर्ने लगायत माग राखेका छन् ।
साहुबाट मुक्ति पाइने आशमा खेतमा पाकेको गहुँ छाडेर आएका छन् मिटरब्याज पीडितहरु । गहुँ काट्दा पाइने ज्याला समेत छाडेर काठमाडौं आएका छन् उनीहरु । सर्लाही लालबन्दीकी फातमा खातुन भन्छिन्, ‘तोरी काटेर आएँ, गहुँ काट्न पाएको छैन ।’ यसपालि सरकारसँग ‘वार कि पार’ गरेर जाने सोच बनाएका छन् खातुन जस्ता धेरै पीडितले ।
यस अगाडि मिटरब्याजविरुद्ध काठमाडौंमा ४७ दिन र १३ दिन गरेर दुई पटक भएका आन्दोलनमा समेत सहभागी भएकी खातुनसँग घरबार छाडेर सधैं आन्दोलनका नाममा काठमाडौं धाइरहने तागत छैन । भन्छिन्, ‘एक छाक खान काम गर्नुपर्छ । त्यो काम छाडेर कतिपटक काठमाडौं आउनु !’
 खातुनसँगै रहेकी सरिता देवीले सही थपिन्, ‘अब फेरि काठमाडौं नआउने गरी सरकारसँग कुरा गर्ने हो ।’ सोमबार २० चैत काठमाडौं आइपुगेका यी मिटरब्याज पीडितसँग संवादका लागि सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन ।
खातुनसँगै रहेकी सरिता देवीले सही थपिन्, ‘अब फेरि काठमाडौं नआउने गरी सरकारसँग कुरा गर्ने हो ।’ सोमबार २० चैत काठमाडौं आइपुगेका यी मिटरब्याज पीडितसँग संवादका लागि सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन ।
१८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितको एक टोलीसँग मिटरब्याज जाँचबुझ आयोग बनाउने, मिटरब्याजलाई अपराध करार गर्ने कानून बनाउने सहमति गरेको थियो । तर, त्यो सहमतिले तत्काल भोगिरहेका समस्या समाधान नगर्ने बताउँदै मिटरब्याज पीडितहरुको अर्को टोली खबरदारीका लागि काठमाडौं आइपुगेको हो ।
शान्तिवाटिकामा पीडितको खाना, बस्नको व्यवस्था गर्न दौडधुप गरिरहेका निर्ग नवीन भन्छन्, ‘पीडितका नाममा यो देशमा दर्जन आयोग छन् । ती आयोगले अहिलेसम्म केही काम गरेका छैनन् ।’
मिटरब्याजका बारेमा जाँचबुझ गर्न भनेर सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग समेत बनाइसकेको छ । तर, त्यो आयोगले आफ्ना समस्या समाधान गर्नेमा शंका गर्छन्, रौतहटका मिटरब्याज पीडित शिवशंकर महतो ।
‘पहिला पनि मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले सुझाव दिएको थियो । सरकारले सिडिओ कार्यालयमा उजुरी दिनु भनेकै हो’ महतो भन्छन्, ‘हामीले दिएका उजुरी, त्यो प्रतिवेदन अहिलेसम्म लागू भएन ।’
रौतहट गरुडाका हरिप्रसाद ठाकुरका दम्पती शान्तिवाटिकाको फल्चामा आफ्ना दुई छोरालाई सुताउँदैछन् । विदेश जानका लागि २ लाख ऋण लिएका ठाकुरले ८ लाख रुपैयाँ र ४ धुर जमिन साहुलाई बुझाइसके । तर, उनको ऋण सकिएन । जमिन खोसिएपछि घरबारविहीन बनेका ठाकुर दम्पती दुई बालक सन्तान काखी च्यापेर सपरिवार मिटरब्याज विरुद्धको आन्दोलनमा सक्रिय छ ।
यी पीडा र कष्टबीच रौतहट चन्द्रपुर–५ कि अनिता चौधरी भने साथीहरुसँग मिलेर गीत लेख्दैछिन् । बुधबार बानेश्वरको धर्नामा सुनाउन भन्दै लेखिएको गीतको खेस्रा देखाइन् अनिताले, ‘पूरा लेखिसक्या छैन, अधुरै छ’ –
‘हामीलाई यो मिटरब्याजले कहाँ पुर्यायो
कहिले हसायो, कहिले रुवायो
मिटरब्याजले उठीवास लगायो
मिटरब्याजले कहाँ पुर्यायो
ए सरकार, हामीलाई न्याय कसले पो दिन्छ र ?
बाटोमा बसेर हामी धुरुधुरु रुने
कुर्सी पाएपछि सरकार हामीलाई नचिन्ने…’
तस्विर : चन्द्र आले/अनलाइनखबर


 
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4