+
+

टेलिकमको प्रतिबद्धतापछि वीरगञ्ज महानगरले उठायो फोहोर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते ११:४८

२२ चैत, वीरगञ्ज । नेपाल टेलिकमले चैत २७ गतेसम्म वीरगञ्ज वाइपास सडकखण्डमा फुटपाथको काम सक्काउने प्रतिबद्धता जनाएको छ ।

वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयले चैत २७ गतेसम्म काम सक्काउने प्रतिबद्धता जनाएपछि महानगरले मंगलबार खसाएको फोहोर पनि उठाएको छ ।

टेलिकमका कर्मचारीले बिहान कार्यालयमा आएर लिखित जानकारी गराएलगत्तै मेयर राजेशमान सिंहले सरसफाइ शाखालाई फोहोर उठाउन निर्देशन दिएका थिए ।

बिहान १० बजेअघि नै फोहोर उठाइसकेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिए ।

फागुन मसान्तसम्म सक्काउने प्रतिबद्धता जनाएर काम अलपत्र छोडेको भन्दै वीरगञ्ज महानगरले मंगलबार बिहान टेलिकम कार्यालयको परिसरमा ७ ट्याक्टर फोहोर फालिदिएको थियो ।

फुटपाथको काम कहिलेसम्म सक्काउने हो भनी लिखित प्रतिबद्धता नजनाएसम्म फोहोर नउठाउने अडान महानगरले  राखेको थियो ।

निमित्त निर्देशक अनन्त प्रकाश मल्लिकले ठेकेदार कम्पनीले माग गरेको समयको बारेमा महानगरलाई जानकारी गराइएको बताए । ‘फुटपाथको काम हुँदा हुँदै समन्वय नै नगरी महानगरले फोहोर ल्याएर कार्यालय परिसरमा खसाल्यो, कानुनी राज्यको उपहास भएको महशुस हामीले गरेका छौं,’ उनले भने, ‘ठेकेदारले चैत २७ गतेसम्मको समय माग गरेको छ । त्यसबारेमा महानगरलाई लिखित जानकारी गराएका छौं । त्यसपछि हिजो फालिएको फोहोर पनि उठाएर लगेका छन् । ‘

थप १० जना कामदार राखेर काम अघि बढाउने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको उनले बताए ।

टेलिकम कार्यालयमार्फत पाइनस बनके जे.भी. काठमाण्डौंले गण्डक चोकदेखि रजत जयन्ती चोक रुटमा ट्रन्चिङ, डकरिङ्ग तथा बोलोइङ्ग गर्ने क्रममा इन्टरलक ब्लक हालेको फुटपाथ भत्काएको थियो ।

फुटपाथ मर्मत गर्ने क्रममा करिब ३ सय मिटरमा इन्टरलक ब्लक नपुगेकोले जगदम्बा कम्पनीमा ब्लक अर्डर भएको निर्माण कम्पनीले जनाएको छ । ब्लक चैत २२ गते बुधबारसम्म झर्ने कम्पनीले जनाएको छ । फुटपाथ मर्मतको काम चैत २७ गतेसम्म सम्पन्न गर्ने जानकारी जेभीका सञ्चालक भरत बहादुर कार्कीले मंगलबार नै नेपाल टेलिकमलाई जनाएको छ ।

महानगरको कदमपछि दबाबमा परेको टेलिकमले खनेर छाडिएका सडक र फुटपाथ बुधबार बिहानैदेखि मर्मत गर्न थालेको मेयर राजेशमान सिंहले जानकारी दिए ।

खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेरी गरेको भन्दै टेलिकम परिसरमा मंगलबार महानगरले ७ ट्याक्टर फोहोर फालिदिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?