+
+

वीरगञ्ज महानगरले टेलिकम परिसरमा फालिदियो फोहोर

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १८:१४

२१ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा फोहोर थुपारिदिएको छ ।

फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको भन्दै महानगरले सहरबाट संकलित फोहोर टेलिकम परिसरमा लगेर थुपारिदिएको हो ।

महानगरगरका कर्मचारी र नगर प्रहरीको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर फालिदिएका थिए ।

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरबासीले पीडा भोग्नुपरेको र सडक बनाइदिन पटक पटक आग्रह गर्दासमेत अटेर गरेपछि श्रीपुरस्थित प्रादेशिक कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको आरोप महानगरको छ । टेलिकमले अप्टिकल फाइबार विच्छ्याउने क्रममा बाइपास सडकखण्डमा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको मेयर राजेशमान सिंहले जानकारी दिए ।

रजतजयन्ती चोकदेखि तेजबहादुर अमात्यको शालिक गण्डकसम्म सडक फुटपाथ टेलिकमले खनेर नबनाएको, बारम्बर आग्रह गर्दा अटेर गरेको, जिल्ला प्रशासनले पत्र काट्दा पनि सुनुवाइ नभएकोले टेलिकमलाई डम्पिङ साइट बनाएको उनले बताए ।

फागुन ३ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितीमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनेको सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो ।

सहमति पालना गराउन आग्रह गर्दै महानगरले जिल्ला प्रशासन कार्यालय पर्सालाई समेत पत्र लेखेको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए । ‘धेरैपटक अनुरोध गरेका हौ, अटेर गरेपछि हामीले कति चोटी अनुरोध मात्रै गर्ने ? नगरबासीलाई त महानगरले नै काम गरेन भन्ने सन्देश गइरहेको छ’, उनले भने ‘टुलुटुलु हेरेर बसिरहन सकिएन, अरु कुनै विकल्प नै भएन, फोहोर लगेर फालिदिएका छौं ।’

वाइपास सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन आयोजनाले समेत योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए ।

तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाले वीरगञ्जको श्रीपुर स्थित कृषि सामाग्री कम्पनीको कार्यालयमा कर बक्यौता राखेको भन्दै ०७३ वैशाख ९ गते मुख्य गेटमा एक ट्याक्टर फोहोर थुपारिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?